Sunday, November 27, 2022
10.5 C
Diktel

मौलिकता र प्राविधिक कारणले बायुङ लेख्नुपर्ने

Subtitle

समाज बन्नका लागि धेरै कुराहरुकाे आवश्यकता पर्दछ । मानव समाज बन्नका लागि सुरुमा व्यक्ति हुनुपर्छ । त्यसपछि व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ, परिवार परिवार मिलेर समाज बन्छ । त्यो समाजले मानव टोल तथा गाउँ निर्माण गर्छ । यही प्रक्रियामा गाउँगाउँ मिलेर ठुलो समाज बन्दै अन्ततः एउटा देशकाे निर्माण हुन्छ ।

संसारकाे सबै ठाउँहरुमा, सबै देशहरुमा, सबै जातिहरुले आ-आफ्नो मौलिक पहिचान, विरासत, इतिहास, प्रथाजनित कानुन, मातृभाषा, संस्कृति र लिपिकाे संरक्षण, सम्बर्द्धन र विकासको निम्ति विशाल अभियान चलाइरहेका छन् । आफ्नो पुर्खाले आर्जन गरेको इतिहासलाई संरक्षण गर्न नसक्नु ज्याँदै दुःखलाग्दो कुरा हो । आजकाे भौतिक विकास भएको युगमा सबै चिजकाे उपभोग वा प्रयोग गर्न पाइन्छ । तर इतिहास कोर्न वा रच्न धेरै कठिन छ ।

यसरी “बायुङ” शब्द मौलिक (endonym) हो

आजको समयमा विज्ञान प्राविधिको विकासले सबैलाई सुबिधा सम्पन्न बनाइदिएको छ । मानिस चेतनशील प्राणी भएको हुनाले आ-आफ्नो इतिहास र मौलिकतालाई संरक्षण गर्ने कर्तव्य त्यो खास समुदायको हुन्छ, स्थानीय सरकारको हुन्छ र अन्त्यमा देशको हुनेछ ।

अब कुरा गराैं, राई जातिभित्रको बायुङ राईको बारेमा । बायुङ राईहरु बिशेष गरी ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लामा आदिम कालदेखि बसोबास गरेको पाइन्छ । पछिल्लो समयमा, बायुङ राईहरु बसाइँसराइको क्रममा विभिन्न जिल्लाभर र प्रवासमा बसोबास गरेको पाइन्छ ।

“बायुङ” शब्दको प्रयोग आदिमकालदेखि प्रयोग भएको पाइन्छ । आज पनि करिब २४ जिल्लामा र बिदेशमा समेत बायुङ राई भनेर एक पुस्ताले आउने पुस्तालाई हस्तान्तरण गर्दै आफ्नो असली पहिचान र नाम पुस्तान्तरण गरेको छन् । संसारमा नै  आदिवासीहरुको लिखित दस्तावेजहरु पर्याप्त नहुने भएकोले बायुङ राईहरुको पनि लिखित दस्तावेज त्यति पाइँदैन  । पछिल्लो समय बायुङ राईको बारेमा फाट्टफुट्ट लेख, रचना र दस्तावेजीरण हुँदै गरेको पाइन्छ ।

यसै क्रममा, बायुङ राईको बारेमा केही लिखित दस्तावेज पाइएको छ । यो लेखित दस्तावेज ख. इन्द्रकुमार राई र प्रा.बि. नि. दिन्द राईद्वारा २०३६/०४/३१ गते “पाठ्पुजा” शीर्षकमा बायुङ राईको बारेमा स्पस्ट गरि मौलिक शब्द “बायुङ” अभिलेखिकरण गरेको पाइन्छ । त्यो समयमा किरात बाहिङ मुलिखिमको जन्म हुने परिकल्पना समेत थिएन । त्यो समय  राजाको शासन पञ्चायतकाल थियाे ।

किरात बायुङ राईको बारेमा २०५७-२०६१ सालसम्म Dr. Maureen B Lee, Bagdevi Chamling Rai, Buddi Kumar Bayung Rai and Carin Boon को संयुक्त समूहले ओखलढुंगा र सोलुखुम्बु जिल्लाभर गाउँगाउँमा गएर मातृभाषाकाे खोज तथा अनुसन्धान गरेकाे थियाे । यो खोज र अनुसन्धान गर्दा त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय विभागका प्रा.डा. भाषाशास्त्री नाेवलकिशोर राईको समन्वयमा भएको थियो ।

Dr. Maureen B Lee सिङ्गापुरको नागरिक हुन्, बागदेवी चाम्लिङ राई दुई बिषय भाषाशास्त्रमा र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी हुन् । र, बुद्धिकुमार हङ्गुचा बायुङ राई भूतपूर्व भारतीय सैनिक, बायुङ मुन्दुमविद्, नक्स (धेवा) र समाजसेवी समेत हुन् ।

यसरी खोज तथा अनुसन्धानकाे काम सकेपछि सन् २००५ मा BAYUNG RAI : A Sociolinguistic Survey Centre for Nepal and Asian Studies, Tribhuwan University Kirtipur, Nepal नामक किताब सार्वजनिक गरिएको थियाे । उत्त कार्यक्रममा दिवंगत भूतपूर्व मन्त्री बलबहादुर बायुङ राई, मन्त्री गोपाल बायुङ राई, किरात बाहिङ मुलिखिमकाे धिरेन बाहिङ सुस्तोचा लगायत विभिन्न मानिसहरुकाे उपस्थिति थियाे ।

 

यस्ताे छ बायुङ राईकाे विविध चिनारी

समयकाे बिकास क्रममा मौलिक शब्द “बायुङ” राईलाई विभिन्न जिल्लाहरुमा रुम्दाली, नेचाली, बाइङ, बनुङ, किराँती, बायिङ, रदु , रदि, पाई लो, र:दु, प्रोचा र बाहिङ भनेर फरक फरक किसिमले परिचित भएको पाइन्छ । यसरी विविध नामले चिनिने असली र साझा पहिचान भनेको “बायुङ” राई नै हो । जसरी राई जातिभित्र ३३ किसिमको राईहरु पर्दछन् त्यसरी नै बायुङ राईभित्र करिब १२ किसिमको नाम तथा पहिचानहरु एकीकृत छ ।

अर्को कुरा, मौलिक शब्दमा अलाैकिक र प्राकृतिक शक्ति पनि हुन्छ । जहाँ जो जसलाई जसरी चिनिए पनि तिनीहरुको पुर्खा भनेको सोलुखुम्बु र ओखलढुंगाबाट पुस्ताैदेखि बासाई सरेको बताइन्छ । त्याे पत्ता लगाउने आधारहरु भनेको वंशावली, पाछा/दोचा, कुलपितृ पुज्ने विधि, नाम र मातृभाषा आदि हुन् ।

पछिल्लो समय आएर किरात बाहिङ मुलिखिमले विभिन्न कार्यक्रममा गर्दा व्यानरमा बायुङ/बाहिङ लेखेर कार्यक्रम गरेको देखिन्छ । यो अर्थहीन देखिन्छ । अरुलाई निषेध गरे जस्तो देखिन्छ । आफ्नो इतिहास बचाउने नै हो भने सबैले भएको र पाइएकाे तत्थ्य प्रमाणलाई आत्मसात गरेर अभिलेखीकरण र पुस्तानतरण गर्नु जरुरी छ ।

बायुङ कसरी बाहिङ भए ?

समाज गतिशील छ । समाजमा विभिन्न प्रकारकाे विचार, दर्शन, आकृति-प्रकृति र सिद्धान्त रहेको मानिसहरु छन् । यसै क्रममा पछिल्लो समय केही २०६१ सालदेखि र केही २०७४/२०७५ सालदेखि बायुङ राई परिवार तथा समुदायमा बढेको र हुर्केको बायुङ राईहरु एक्कासी आफ्नो मौलिक नाम र पहिचानलाई बिर्सिएर बाहिङ भएको पाइन्छ । यसरी आफ्नो बायुङ राई मौलिकतालाई बिर्सेर जबरजस्ती नयाँ जाति बाहिङ बन्नेहरु स-सानो झुन्ड र समूहमा देखिन्छन् ।

“छेपाराले रंग फेर्याे” भनेझैं स्थानीय तहमा वस्तुगत अवस्था, तत्थ्य र प्रमाणहरुको अध्ययन गर्दा सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लामा बाहिङ जाति कोड नं  १०४ भन्ने थिएन । जब सोलुखुम्बु, ओखलढुंगा र खोटाङकाे बायुङ राईहरु काठमाडौं तथा सुगम ठाउँमा अध्ययनको लागि रोजगारीको लागि र वैदेशिक रोजगारमा विभिन्न देशमा गए, त्यसपछि केही बायुङ राईहरु भट्टाभट नयाँ बाहिङ जातिमा परिवर्तन भएकाे पाइन्छ ।

अहिलेसम्म प्राथमिक तत्थ्यांक अनुसार अध्ययन तथा सोधखोज गर्दा सोलुखुम्बु र ओखलढुंगा जिल्लाबाट विभिन्न समय कालमा विभिन्न ठाउँमा जिल्लामा र प्रबासमा बसाइ सरेको पाइन्छ । बायुङ राईहरु करिब २४ जिल्लामा फैलिएर बसोबास गरेकाे पाइन्छ ।

जब आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान २०५८ स्थापना भयो त्यो मितिदेखि नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएको आदिवासी तथा मुलबासीहरु भाषाको नाममा, भाषिकाको नाममा, लिपिको नाममा, इतिहासको नाममा, भूगोलको नाममा, संस्कृतिको नाममा र वंशावलीको नाममा बिलकुल नयाँ जाति बन्नको लागि प्रमुख राईजातिबाट चैटिएर सूचीकरणमा जाने प्रक्रिया सुरु भएकाे हाे ।

जब किरात बाहिङ मुलिखिमको स्थापना भयो २०६१ सालमा त्यो मितिदेखि किरात बायुङ राईहरुको समाजलाई प्रगतिबाट दुर्गति र एकताबाट विविधता तथा बिखन्डनतिर धेकेलेर खरानीमा परिवर्तन गरेको देखिन्छ । बायुङ राईहरुको समाजलाई २०६१ सालबाट औपचारिक तवरले किरात बाहिङ मुलिखिमले बायुङ राईको समाजलाई बिचलनमा ल्याएको स्थानीय बायुङ राईहरु बताउँछन् । अर्काेतिर, स्थानीय तहमा बायुङ राईहरुलाई सत्य तत्थ्य कुरा नभनी एकलौटी ढंगले नयाँ जाति “बाहिङ” स्थापना गरेको कुरा स्थानीयहरुकाे गुनासाे छ ।

यसकारण बाहिङ नाम exonym हो

खोज तथा अनुसन्धानले देखाउँछ कि बाहिङ नाम Brian Houghton Hodgson ले सन् १८५७ मा जसरी अरु जातजातिहरुको अप्रभ्रंश गरे, त्यसरी नै बायुङलाई  “बाहिङ ” लेखिदिए । Brian Hodgson ले तामाङलाई मुर्मी, वाम्बुले राईलाई चौरासिया, मल्ललाई माल, शाहलाई सास र बायुङलाई बाहिङ लेखि दिएको पाइन्छ ।

विभिन्न गाउँ र जिल्लाहरुमा बसोबास गरेको बायुङ राईहरु भन्नुहुन्छ कि किरात बाहिङ मुलिखिमले असली नाम तथा पहिचान मेट्ने काम गरेकाे छ । जहाँ पनि भुलसुधार गर्न पाइन्छ । त्यसैले Brian Hodgson ले जो जसकाे गल्तीले असली नाम नलेखी अपभ्रंश गरेकाे नाम थियो त्यो सबै जातजातिहरुले सच्याइसकेकाे अवस्था छ । तर किरात बाहिङ मुलिखिमले कहिल्यै पनि इतिहास र मौलिकतालाई सच्चाउनुपर्छ भन्ने संस्थागत अवधारमा ल्याएकाे पाइँदैन ।

मुलिखिमले स्थानीय तहमा र परदेशमा बसोबास गरेको बायुङ राईहरुसँग कुनै पनि औपचारिक छलफल नगरी एक्कासी बायुङ राई जातिबाट छुट्याएर सुचीकरणमा गएको कुरा पछि थाहा पाएपछि सम्पूर्ण बायुङ राईहरु आश्चर्य चकित र दुखित् भएका छन् ।

प्राविधिक कारणले बायुङ लेख्नुपर्ने

पछिल्लो समय जसरी बायुङ राईको समाजलाई जबरजस्ती किरात बाहिङ मुलिखिमले सुचीकरणमा लगे, त्यो मितिदेखि नयाँ जाति सुचक “बाहिङ” र जाति कोड नं १०४ पाएको छ । यो केन्द्रीय तत्थ्यांक विभागमा सुचीकृत भएको छ । अब नयाँ जाति बाहिङ अल्पसंख्यकमा सुचीकृत भएको छ । अर्काेतिर, बाहिङ मातृभाषा पनि अल्पसंख्यकमा सुचीकृत भएको छ । त्यसैले आसन्न १२औं राष्ट्रिय जनगणनामा सबै विभिन्न ठाउँमा, जिल्लामा र प्रबासमा बसोबास गरेको बायुङ राईहरुले

जातिकाे महलमा- राई
मातृभाषाको महलमा- बायुङ
पुर्खाको भाषामा- बायुङ
धर्मको महलमा – किरात लेख्नुपर्छ । यसरी तत्थ्यांक भरिएन भने फेरि पनि “बाहिङ” सुचीकृत नयाँ जातिको जनसंख्या बढ्नेछ ।

अन्त्यमा

बायुङ राईको समाज आदिमकालदेखि एक अर्कोमा मिलेर बसोबास गरेको पाइन्छ । आफ्नो मौलिकतालाई बचाउँदै आएको देखिन्छ । तर अहिले आएर २०६१, २०६८ र २०७५ सालबाट केही सीमित व्यक्तिहरुले आफ्नो सीमित स्वार्थको लागि समाजलाई टुटाउने र फुटाउने काम गरेको प्रष्ट देखिन्छ ।आज केही विश्वविद्यालय पढेका अल्पज्ञानी, जडसुत्रवादी र अवसरवादीहरुले बायुङ राईहरुको इतिहास, समाज र भाइ भातृत्वको सम्बन्ध टुटाइदिएको छ ।

यसको प्रत्यक्ष र अप्रत्यक्ष असर हाम्रो समाज र दरसन्तानहरुलाई पर्नेछ । जानकारी पाएआनुसार २०७५ सालसम्म बायुङ राई थिए । तर रातारात ६ महिना, ९ महिनाभित्रमा आफ्नो असली मौलिकतालाई बिर्सेर नयाँ जाति बाहिङ बनेको धेरै जीवन्त उदाहरणहरु छन् ।

(लेखक किरात बायुङ राई सुम्निखिमकाे केन्द्रीय अध्यक्ष हुन् ।)

सन्दर्भ सामग्रीहरुः
– किशोर बायुङ राई- इक लिम्बू – भुम्जु – बायुङ र बाहिङबारे के छ ? हज्सन र मोरिन बि.लि.
– बागदेवी चाम्लिङ राई- प्रिन्सिपल – नव प्रभात उच्च विद्यालय
– बुद्धिकुमार बायुङ राई – नक्स (धेवा), ओखलढुंगा
– तारा हाङ बायुङ राई- समाजसेवी, ओखलढुंगा
– डा. लाल रापाचा- भाषाशास्त्री
– पच्यु पान्डी चिबा- Cambridge University, UK
– आङबहादुर बायुङ राई- लोङ्से, सोलुखुम्बु
– कृष्णकुमार बायुङ राई- नक्स, सोलुखुम्बु
– नरभक्त बायुङ राई- ओखलढुंगा, हाल युके
– तेजलाल बायुङ राई- नक्स, ओखलढुंगा
– विश्वराज बायुङ राई- अन्तर्राष्ट्रिय रेफ्री- ओखलढुंगा
– राम मादेन लिम्बू- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
– चक्रशेर बायुङ राई- अधिवक्ता, खोटाङ
– प्रेमकुमारी बायुङ राई- सोब्रु, ओखलढुंगा
– लघु बायुङ राई- ओखलढुंगा, हाल युके
– लोक बायुङ राई- लेक्चरर र मुन्धुमज्ञाता, ओखलढुंगा
– गजिन्द्र बायुङ राई- समाजसेवी, ओखलढुंगा
– यसबहादुर बायुङ राई- समाजसेवी, सोलुखुम्बु
– हिगमान बायुङ राई- भूतपूर्व पञ्चप्रधान, सोलुखुम्बु
– सैनवीर राई- नक्स, सोलुखुम्बु
– पुन्य बायुङ राई- बायुङ मन्धुमज्ञाता, धरान
– अमर बायुङ राई- हङकङ
– रबिन बायुङ राई- व्यवसायी, खोटाङ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्