Sunday, December 4, 2022
16.9 C
Diktel

किरात धर्मसँग थामी समुदायको ऐतिहासिक सम्बन्ध र आधार

Subtitle

कथ्य प्रमाण भए पनि लेख्य प्रमाण निक्कै कम भेटिएका थामी जाति आफूलाई किराती भन्न रुचाउँछन् । पृथक सभ्यताको जननी थामी जातिभित्र रहेको संस्कार, संस्कृति, भाषा तथा पुस्ता हस्तान्तरण हुँदै आएका किंवदन्तीको विश्लेषण गर्दा थामी जाति किराती नै हुन् भन्ने प्रमाण भेटाउन सकिन्छ । ती प्रमाण पेश गर्नुभन्दा अघि किरातीबारे बुझ्न जरुरी देखिन्छ ।

को हुन् किराती ?

इतिहासकार इमानसिंह चेम्जोङ– किरात शब्दको उत्पति भूमध्य सागरीय क्षेत्रमा बोलिने आवाइट भाषाको किरियत शब्दबाट भएको हो । यसको अर्थ हुन्छ, किल्ला अथवा सहर । रहँदा बस्दा उनीहरुको संख्या बढ्दै गयो, सँगै किल्ला र सहर पनि बढ्दै गए । त्यसलाई पछि किरियत हिम भनियो । कालान्तरमा उनीहरुलाई नै किराती भनियो र पछि उनीहरु किराती बंशका नामले प्रशिद्ध भए । – Chemjong the history and culture of Kirat People

दुर्गाहाङ याखा राई– ५०० इं. तिर लेखिएको भगवतमा शठ ( स्वाँठ, मूर्ख ) किरात भनिएको छ । त्यसैले किरात शब्द आदर–अर्थी होइन, यसलाई असभ्य र जङ्गली अर्थको रुपमा प्रयोग भएको पनि भनिएको छ । कसैले कैलाश–पर्वत हिमश्रृङखलाहरु भएको अति शुद्ध पवित्र सत्य–भूमिलाई किरात भिनएको हो भनेका छन् । किरात मुन्धुमी भाषा काइ+लाशो को अर्थ हुन्छ– नाता सम्बन्ध+पवित्र आसन । त्यस बेलाका मानिस मनिसहरुले हिमाललाई सर्वोच्च आत्मा–परमात्मा बस्ने पवित्र स्थान भनि काइ लाशो वा शैलाख भन्दथे । यही काइलाशो शब्द अपभ्रंश हुँदै काइलाशी, काइलाती, कैराती वा किरात भएको हो । यही पवित्र ठाउमा जन्मे हुर्केका, फैलिएका मानव जातिलाई किरात भनियो । -(ब्राहमणवाद विरुद्ध जनजाति उत्पीडितवर्ग पृष्ठ संख्या २०१)

जोन हेमिल्टन– इं पुर्व ४००० वर्षअघि पर्सिया खाडीको उत्तरी समतल भूमिमा दुइटा सभ्य जाति बस्थे । उत्तरी मैदानमा बस्नेलाई अकार वंशु र दक्षिणी मैदानमा बस्नेलाई सौमर जाति भनिथ्यो । सौमर जाति मंगोश वंशी हुन् । उनीहरुको एक जमातले इं पूर्व  ३००० मा पूर्व तर्फ आए र चीन राज्य स्थापना गरे । पछि यसको एक शाखा छुट्टिए । उनीहरु काबुल पाजाब हुँदै गंगा नदीको मैदानमा आई बसोबास गर्न थाले । कैयौं पुस्तापछि आर्यहरुले यिनै सौमर अर्थात मंगोल वंशलाई किरात वंश भन्न लागे ।

ब्रायन हड्सन– किरातहरु राज्य थियो । उनीहरुको शासनकालमा अधिकार क्षेत्र गङ्गा नदीको मैदानसम्म फैलिएको थियो ।

हिन्दु धर्मशास्त्र योगिनि तन्त्र– किरातको उत्पति काबुलको उत्तर दिशामा रहेको कुशदीपमा भएको हो । त्यहाँबाट बसाई सरी आएकी कङकती नाउँकी एक सुन्दरी कन्यासँग महादेवको सहवास भयो । संसर्गबाट पछि एक स्वस्थ्य पुत्रलाभ भयो । उनको नाम किरात राखियो । उनैको सन्तान किरात वंशले प्रशिद्ध भए ।

दुर्गाहाङ याखा राई– किरात शब्द पारसी भाषाको अपभ्रंसरुप भनि भन्नेहरु छ । यो भाषामा पहाडलाई कोह र मालालाई लतिका भनिन्छ । पछि त्यसलाई कहलात, कलात भनियो । त्यसैले आजको सिन्धुनदीदेखि ब्रह्मपुत्रनदीसम्मको हिमश्रृङखलालाई कलात भनियो । यहीका बसिन्दा अर्थात कलातबासीलाई कलाती, कैलाती, शब्द अपभ्रंश हुँदै किराती वा किरात भनियो । -(ब्राहमणवाद विरुद्ध जनजाति उत्पीडितवर्ग पृष्ठ संख्या २०१)

डा. स्वामी प्रपन्नाचार्य– संस्कृत शब्द : किरु को अर्थ समुन्द्रपर्यन्त भू–भाग हो भने अतु शब्दको अर्थ निरन्तर गमन गर्नु हो । त्यसो हुँदा नेपालदेखि समुन्द्रसम्मको भू–भागमा निरन्तर गएर पराक्रमले जितेर शासन गर्ने नै किराती हुन् ।

अन्य अनुसन्धान कर्ताहरुको खोजहरुले किरातीहरु छुट्टाछुट्टै तीन जातिको समिश्रणबाट उत्पति भएको बुझाउँछ । इतिहासमा जसलाई  खाम्बोङ्वा (खाम्बिवान्सा या खम्बुस), ताङसाङथा (तै सन्थास वा मंगोल), र मुनाफेन (मुनाफिन या चैनि खम्बुश) हरु भनेर चिनिन्छ । सोधकर्ताहरुका अनुसार खम्बुश हिमालय क्षेत्रका अग्रज आप्रवासी हुन् । थानवास अर्थात मंगोलहरु र मुनफेहरु चाइनिज जाति नश्लकाहरु पछि आएका हुन् । यिनीहरुको समिश्रणबाट ठुलो मानव समूह बन्यो । जसलाई समग्रमा किरात भनियो ।

स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुको यी भनाइबाट के पुष्टि हुन्छ भने वर्तमान नेपालका किरातीहरुको इतिहास फगत लहड र तर्कको भरमा उल्लेख भएको होइन । यसको आफ्नै पहिचान छ, अर्थ छ । समय सीमा पनि यसको त्यतिकै प्राचीन छन्, जति समग्रा मानव सभ्यताको छ । वर्तमानमा नेपालका आदीवासी मात्रै किराती भनेर परिचित हुन चाहे पनि यसको क्षेत्र निक्कै फराकिलो देखिन्छ । तर यहाँ उल्लेख गर्न खोजिएको बिषय थामी जाति र किरातीसँग उनीहरुको सम्वन्ध हो

किराती वंश आजका थामी

वर्तमान समाजमा बाबु र छोराबीचको नाता प्रमाणित गर्ने दरिलो आधार भनेको नागरिकता हो । दुनियाँले फलानो बाबु र फलानो छोरा हो भनि मान्दै आए पनि नागरिकता बिना त्यसले वैधता पाउन सक्दैन । यस्तै स्थितिबाट गुज्रिरहेका छन् आजका थामी जाति । थामी जाति किराती हुन, परिचित गराउँदा पनि किराती नै भन्न रुचाउँछन् उनीहरु, त्यति मात्रै होइन, दुनियाँले समेत उनीहरुलाई किराती नै भन्छन् र हुन् पनि । तर यसको ठोस प्रमाण ठ्याक्कै यही हो भन्ने अहिलेसम्म फेला परेका छैनन् । निक्कै सिमित खोज तथा अनुसन्धान भएका छन् थामी जातिको इतिहासका बारेमा ।

त्यसैले थामी जाति किराती हुन् भन्ने दरिलो प्रमाण नभेटिएको हुनसक्छ । थामी जाति किरातीहरु नै हुन् भन्ने अहिलेसम्म भेटिका जति पनि प्रमाणहरु छन्, ती सबै किराती नश्लका अन्य जातिसँग रहेका साँस्कृतिक पक्ष, ऐतिहासिक पक्ष, बिभिन्न किंवदन्तीहरुको तुलनाबाट बाहिर आएका छन् । यद्यपि थामी जाति किराती नै हुन् भन्ने पुष्टि गर्न तिनै साँस्कृतिक पक्ष, ऐतिहासिक पक्ष, बिभिन्न किंवदन्तीहरु बिश्लेषणको अलावा अन्य बिकल्प पनि छैन ।

थामी जाति किराती हुन् भन्ने आधारहरु

सोधकर्ताका लेखबाट
डा. डिल्लीराम दाहाल– किरातीहरु किराती भएर पनि आफूलाई कमैले किराती भन्न रुचाउँछन् । थामी र हायु समुदायले पनि आफूलाई किराती भन्न रुचाउँछन् । थामी जातिमा १४.६ प्रतिशत र हायु समुदायमा २९.१० प्रतिशतले मात्रै आफूलाई किराती भनि उल्लेख गरेका छन् । –Source CBS Nepal, 2001, census- social composition of the population: caste/Ethnicity and religion of Nepal)

इतिहासविद् जी.पी. सिंह (सन् १९९०)– नेपालका राई, लिम्बु, याक्खा, सुनुवार, धिमाल, तामाङ, लेप्चा, कोचे, मेचे, राजवंशी, थारु, दनुवार, जिरेल, सुरेल, थामी, हायु, राजी, मगर, गुरुङ र नेवारलाई किरात हुन् ।

सोभियत खोजकर्ता डा. सेटेन्कोसहितको टोली-बुढानिलकण्ठमा भएको उत्खनन्– अध्ययन प्रतिवेदनका भेटिए अनुसार नेपालको पूर्वी उत्तरबाट प्रवेश गरेका राई, लिम्बु, याक्खा, सुनुवार, सुरेल, जिरेल, थामी, हायु, दनुवार र धिमाल किरात हुन् ।

डा. हर्क गुरुङ– मानवीय समूहको चरित्रका कारण मानव सुमदाय इतिहासको कुनै कालखण्डमा किरात थिए । नेपालको परिप्रेक्ष्यमा सांस्कृतिक, भौगोलिक र मनोवैज्ञानिक रुपमा आफूलाई किरात भनेर गर्व गर्ने राई, लिम्बु, सुनुवार, याक्खा, धिमाल, दनुवार, जिरेल, थामी र हायुलाई पनि किरात भनेर चिन्नु पर्दछ । – (आदिवासी जनजाति सेरोफेरो)

धर्मरत्न यमी– हिमालयका विभिन्न क्षेत्रमा बसोबास गर्ने मगर, गुरुङ, कुसुण्डा, खस, लिम्बू, खम्बू, तामाङ, चेपाङ, धामी (थामी), भिस्सा, न्यानो, नोहाङ, नेवार इत्यादिको बोलचालबाट थाहा हुन्छ यी जनसमुदाय किरात जातिका हुन् ।

पृथ्वीनारायण शाह– राज्य एकीकरणका बेला पृथ्वीनारण शाहले किरातीहरु विभिन्न प्रजाति समूहमा विभाजन गरेको देखिन्छ । यसरी विभाजित किराती जातिको किराती प्रजातीय समूह यस प्रकार छन् : (राई, लिम्बु, लोहोरुङ, याम्फू, मेवाहाङ, सुनुवार, धिमाल, मेचे, थामी, लेप्चा,सुरेल, जिरेल, याक्खा, हायु र आठपहरिया आदि हुन् । (संवत १८३१ मा पूर्वी पहाडी भू–भागका किरातीहरुलाई गरिदिएको लालमोहरमा आधारित ।)

भाषागत आधार

भाषागत आधारबाट थामी जाति किराँती हुन भन्ने पुष्टि गर्न बराम जातिमा गरिएको अध्ययन अनुसन्धानलाई बुझ्नु पर्ने हुन्छ । बराम जातिको सोधकर्ता हड्सनले आफ्नो पुस्तकर अन हिमालयन आन्थ्रोपोलोजीमा बराम र थामी जातिको भाषाबीच सम्वन्ध रहेको भनेका छन् । अर्का सोधकर्ता माईकल विट्जेलले पनि हड्सनकै भनाईलाई पुष्टि गर्दै भनेको छन् –‘थामी र बराम जाति बराम जाति पश्चिमको हुम्लाबाट आएका हुन् ।’

त्यस्तै सोधकर्ता स्टेन कोनोवले अर्का सोध कर्ता गियर्सनको अनुसन्धानलाई साभार गर्दै थामी र बराम जाति एउटै शाखामा बर्गिकरण गरेको छन् र भनेका छन्–‘दुवै भाषा भोट बर्मेली भाषा परिवारको पुर्वी उपशाखा हुन् ।’

उनले थामी जातिलाई बराम, धिमाल, याक्खा, लिम्वूसँग भाषिक समानता रहेको बताएका छन् । अर्का अनुसन्धान कर्ता रोवर्ट शेफरले थामी र बराम जातिको वंशाणुगत सम्वन्धलाई नै योजनावद्ध रुपले भाषिक समानताहरु प्रस्तुत गरेका छन् ।

यी तथ्यबाट के पुष्टि हुन्छ भने थामी र बराम भाषाबीच समानता छ । साथै थामी भाषा धिमाल, याक्खा र लिम्बूसँग पनि मिल्छ । भाषा मिल्नु संयोग होइन, यसको विशेष अर्थ छ । इतिहास छ । इतिहासले पुष्टि गरिसकेको छ, कि बराम, धिमाल, याक्खा र लिम्बू किराती हुन् । यस अर्थ थामी जाति पनि किराती नै हुन् । अधिकांश भोट बर्मेली भाषा अन्तर्ग पर्ने जाति किरातीको सर्वसिद्ध भैइसकेको छ । थामी भाषा पनि यही परिवारको भएले थामी जाति किराती हुन् ।

संस्कार तथा सांस्कृतिक आधार

थामी जाति मुलतः प्राकृतिकपूजक हुन् । प्रकृतिलाई नै उनीहरु सृष्टिकर्ता, पालन कर्ता र संहारकर्ता मान्छन् । त्यसैले उनीहरु आगो, घाम, हावा पानी, ढुङ्गा, माटो, वन जङ्गल अदिलाई पूजा गर्दछन् । थामीहरुको प्रमुख चाडपर्व उधौली, उभौली, मंसिरे पूर्णे, साउने सङक्रान्ति, माघे सक्रान्ति, दशैं, भाईटीक आदि हुन् । थामी जातिहरु उभौलीका रुपमा भुमि पूजा गर्छन् जुन जेठमा पर्छ । त्यस्तै उद्यौलीको रुपमा पनि भुमि पुजा नै गर्छन् । त्यो पर्व मंसिर महिनामा पर्छ । साकेला, उभौली अर्थात जेठमा मानिने भुमी पुजा मुलतः नया“ अन्न बाली लगाउने सयम पर्दछ । यस बेला थामी जातिले प्रकृति अर्थात भुमिलाई पूजा गरी बालीनाली सप्रियोस्, सालसमय राम्रो होस्, रोग नलागोस् भनेर सबैको कल्याणको कामना गर्दै देवी देवताको थान थपना गरी देवी थानमा पुजा गरिन्छ । ‘सहः केला’ (थामी भाषामा सह आओस् अर्थात घरमा सह भित्रियोस्) साकेला उधाैली आर्थात मंसिरमा गरिने पुजा नयाँ अन्नबाली घरमा हुलेर चुलोमा पितृहरुलाई चढाई आशिक मागेर दरदाजुभाई जम्मा भई नयाँ बाली खाने चाड हो ।

थामी जातिले मान्ने यिनै पर्व किराती समुदायका राई, लिम्बूहरुले पनि मनाउँछन् । प्रकृति पुजक भएकाले उनीहरुले पनि भुमी पुजा गर्छन् । बैशाख र जेठमा मनाइने उभौली र मंसिरमा मनाइले उधाैली पर्व प्रकृति पुजा अर्थात भूमि पुजाकै एक रुप हो । यो बाहेक उनीहरु पनि  साउने सङक्रान्ति, माघे सक्रान्ति, भाईटीका जस्ता पर्व मान्छन् ।

एक जातिले मान्दै आएको संस्कार संस्कृतिको कुनै एक पक्ष अर्को जातिको संस्कार संस्कृतिसँग मेल खानु संयोग हुन सक्छ । तर हुबहु जस्तै गरी मिल्न जानुलाई संयोग मात्रै भन्न मिल्दैन । यस्तै स्थीति देखिन्छ, राई, लिम्बू र थामीले मान्ने गरेको संस्कार संस्कृतिबीच । त्यसैले यी जातिबीच ऐतिहासिक निकटता छ । कतिपय थामी अग्रजहरुले मात्रै होइनन्, राई, लिम्बूका अनुसन्धान कर्ताहरुले समेत भनि सकेका छन्, राई, लिम्बू र थामीको बंशज एउटै हुन् । केही विद्धानहरुले अझ अघि बढेर राई, लिम्बू र थामी एउटै बाबुका तीन दाजु भाई हुन समेत भनेका छन् ।

राई, लिम्बु र थामी दाजुभाई हुन् भन्ने तथ्य कति सत्य हुन् त्यो खोजीको बिषय होला । तर यहाँ केही चाहिँ ठोकुवाका साथ भन्न सकिन्छ भने यी तिनवटै जातिको ऐतिहासिक पृष्ठभुमि एउटै हो । र न उनीहरुले मान्ने गरेका संस्कार संस्कृति एक आपसमा मिल्न गयो । यसर्थ नेपालका राई, लिम्बु किरात हुन् भने थामी जाति पनि किरात हुन् ।

प्रचलित किंवदन्ती

इतिहासकार इमानसिंह चेम्जोङले ब्रमाण्डमा मानव उत्पतिका बारेमा रोचक प्रसंग अघि सारेका छन् । चेम्जोङका प्रसंग मिथक जस्तो लागे पनि लहडका भरमा अघि सारिएको होइन । गहन अध्ययन र बिश्लेषणपछि मात्रै ती प्रसंग अघि सारेका हुन् । त्यसको मुख्य आधार राई र लिम्बूहरु धर्म संस्कृति हो । चेम्जोङले ब्रमाण्डमा मानव सृष्टिका जुन प्रसंग अघि सारेका छन् । ती प्रसंग थामी धर्म संस्कृतसँग ठ्याक्कै मिल्छ । जसको संक्षिप्त पाटोलाई यहाँ राखिएको छ ।

ब्रमाण्डमा मानव सृष्टिबारे चेम्जोङले अघि सारेका प्रसंग– ब्रमाण्डमा मानव सृष्टिका लागि अनेक प्रयास गर्दा असफल भएपछि अन्तिममा कुखुरा (पन्छी) को सुली र मालिङगाको खरानी सितमा मुछि मुर्ति बनाइयो । मुर्ति मानव आकृतिको थियो । बोलाउँदा बोलेपछि अन्तत उसैलाई मानव संज्ञा दिइयो । यही प्रसंगलाई जोड दिँदै उनले किरात मुन्धुम (किरातको वेद) मा उल्लेख गरेका छन् । मालिङगो र देवनिगालोको खरानीलाई पहेलो माटोमा मिसाइ रुख र ढुङ्गाको टोड्कामा जमेको पानीमा मुछेर मान्छेको मूर्ती बनाएर सास हालिदिएपछि ब्रमाण्डमा मानव सृष्टि भयो ।

ब्रमाण्डमा मानव सृष्टि बारे थामी धर्मसंस्कृतिमा प्रचलित प्रसंग– सृष्टिकालमा छत्रपाति राजा र छत्रपति रानीको हुकुमले मानव जातिको विकास उत्पाति भयो भएको हो । मानव सृष्टि गर्दा सुनचादीको समिश्रणबाट बनायो तर बोलेन । पछि झ्यासको समिश्रणबाट बनायो त्यो पनि बोलेन । हुक्का चिलिमको खरानीबाट मानव बनाइयो त्यो पनि बोलेन । केही सिप नलागेपछि राक्षस पोलेको खरानी र कुखुराको सुलीबाट मानव बनाइयो, त्यो भने बोल्यो । खरानी र कखुराको सुलीबाट बनाइएको त्यही मानवका सन्तान नै आजका थामी हुन् ।

चेम्जोङले अघि सारेका प्रसंग राई, लिम्बूको धर्म संस्कृतिसँग आधारत छन् । थामी जातिमा प्रचलित प्रसंग पनि थामी जातिको धर्म संस्कृति (सुचिपालोके) सँग सम्वन्धित छन् । यहाँ के देखिन्छ भने ब्रमाण्डमा मानव सृष्टिबारे राई र लिम्बूको धर्म संस्कृतिमा प्रचलित धारणा र थामी जातिको धर्म संस्कृतिमा वर्णन गरिएको मानव सृष्टिको प्रसंग मिल्न जान्छ । यी प्रसंगले के पुष्टि गर्छ भने इतिहासको कुनै कालखण्डमा राई, लिम्बूभित्रका मानव समुदाय र अहिलेका थामी जातिको नश्ल एउटै थिए । उनीहरु एउटै सामाजिक वृतमा बस्थे । उनीहरुको रहनसहन एउटै थियो  र धर्मसंस्कृति पनि एउटै थियो । त्यो धर्म भनेको किरात हो । त्यसैले थामी जाति किराती हुन् ।

इतिहासका केही वास्तविक पाटो

इतिहासकार इमानसिंह चेम्जोङलपे आफ्नो पुस्तक ‘किराँती जातिको इतिहास र संस्कृति’ (चौथो संस्करण) मा सुनुवार जातिको सम्वन्धमा वर्णन गर्ने क्रममा तिब्बतबाट नेपालमा तीन समूह प्रवेश गरेको उल्लेख गरेका छन् । पहिलो समूह तिब्बतबाट काश्मिर, पञ्जाब बिहार हुँदै सिमाङग गढ (हाल स्रिमौन गढ) क्षेत्र पुगे । उनीहरु त्यहाँबाट पुनः मध्य नेपालमा प्रवेश गर्ने गर्दै हाल दोलखामा पर्ने जिरी खोला र सुरी खोलाको दोभान हुँदै जंगल फडानी गरी बस्ने पुगे । कालान्तरमा उनीहरु मध्ये सिरी खोलाको दोभान हुँदै आवाद गर्नेलाई सुरेल भनियो । जिरी खोलाको दोभान हुँदै आवाद गर्नेलाई जिरेल भनियो ।

त्यस्तै दोस्रो समूह तिब्बतबाट चाङपो वा ब्रह्म्मपुत्र नदिको दोभान हुँदै सिमाङग गढ (हाल स्रिमौन गढ) तथा हिमालय मुलुकमा छरिएर पूर्वी नेपालको सुनकोशीमा आवाद गर्न पुगे । उनीहरुलाई सुनुवार जाति भनियो । तेस्रो समूह पनि तिब्बतबाट सिमाङगगढ (हाल स्रिमौन गढ) हुँदै पूर्वी खुम्बु क्षेत्रमा प्रवेश गर्यो । उनीहरु राई जाति रुपमा परिचित भए ।
चेम्जोङले उल्लेख गरे अनुसार तिब्बतबाट प्रवेश गरेका तीनवटै समूह सिमाङगगढ पुगी  त्यहाँबाट क्षेत्रबाट अन्य क्षेत्रमा गएको भन्ने देखिन्छ । चेम्जोङले भने उल्लेख गरे जस्तै सुरेल, जिरेल, सनुवार वा राईमध्ये जुन जातिको गन्नेमान्ने वा वुढापाकालाई पुर्खाबारे जिज्ञासा राख्यो भने अहिले पनि उनीहरु एउटै उत्तर दिन्छन् । त्यो साझा उत्तर हो–‘हाम्रा पुर्खा सिमाङगगढबाट आएका हुन् ।’ यसै तवरले थामी जातिका गुरु, पुरोहित, वुढापाका या अन्य जो सुकैसँग पुर्खाका बारे प्रश्न गरौं । उनीहरु ठोकुवा गर्दै भन्छन्–‘हाम्रा पुर्खा सिमाङगगढ (हाल सिम्रौनगढ)बाट आएका हुन् ।’ यति मात्रै होइन, थामी जातिको देवकार्य गर्दा वाचन गरिने सुचिपालोके (मुन्दुम)मा समेत सिमाङगगढको प्रसंग आउँछ ।

यहाँ देखाउन खोजिएको के हो भने सुरेल, जिरेल, सुनुवार, राई र थामी जातिको पुर्खाबारे प्रश्न गर्दा आउने उत्तर एउटै हुनु संयोग मात्रै होइन । इतिहासको कुनै काल खण्डमा यी जातिबीच पक्कै निकटता थियो । उनीहरु एउटै नश्लका थिए । उनीहरुको समाज एउटै थियो । बस्ने स्थान एउटै थियो । धर्म एउटै थियो । त्यसैले उनीहरुका पुर्खा पनि एउटै थिए । यस प्रसंगमा थामी जातिलाई चेम्जोङले नजोडे पनि उनैले अघि सारेको तथ्यले पुष्टि गर्छ कि सुरेल, जिरेल, सुनुवार, राई र थामी एउटै स्थानबाट छुट्टिएका हुन् । त्यसेले दावाका भन्न सक्छौ इतिहासको कालखण्डमा उनीहरुबीच निकटता थिए ।

अर्को प्रसंगमा चेम्जोङले भनेका छन्, किरातीहरुको एउटा समूह अफगानिस्तानबाट हिन्दूस्तान आए । पछि नेपाल (अहिलेको तराई) प्रवेश गरे । उनीहरु सिमाङगढ (अहिलेको सिम्रौनगढ)सम्म पुगे । जंगल फाँडी बसोबास गर्न लागे । त्यहीबाट  उनीहरु नेपालका विभिन्न क्षेत्रहरुमा गएर बसोबास गर्न पुगे । दोस्रो समूह बर्माबाट ब्रह्म्मपुत्र नदी तरेर आसाम हुँदै मोरङ्ग आई बसोबास गरे । तेस्रो समूह तिब्बतबाट ताप्लिजोङ्ग र हेदाङ्गनामा आई बसोबास गरे । त्यहीँबाट उनीह पूर्वी नेपालका पहाडी क्षेत्रमा गई बसोबास गरे ।

चेम्जोङले नै अघि सारेका प्रसंगलाई आधार मान्ने हो भने अफगानिस्तानबाट आएका समूह नै अहिलेका थामीका पुर्खा हुन सक्छन् जो सिमाङगढ (अहिलेको सिम्रौनगढ) आवाद गरी बसोबास गरेका थिए । त्यसैले थामी जातिको देवकार्यमा वाचन गरिने सुचिपालोके (मुन्दुम)मा सिमाङ्घाट (अहिलेको सिम्रौनगढ) को प्रसंग आयो ।

(टेकराज थामीको यो आलेख साझाबाेली डटकमबाट साभार गरिएकाे हाे ।)

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्