किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनबारे प्रष्ट कुरा

सराेकारवाला सबैमा सेवा,
यही मिति २०७८ कात्तिक २७-२९ मा हुन गइरहेको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई जनगणनाको समयमा नै पारियो र गलत निर्णय गरियो भन्ने सवालमा उठेको केही सवाललाई स्पष्ट पार्ने प्रयास गरेको छु ।

किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको नियमावली अनुसार यो अन्तर्राष्ट्रिय सम्मेलन ३-३ वर्षमा गर्नुपर्ने हुन्छ । सोही अनुसार यो भन्दा अगाडिको कार्यसमितिले हङकङमा गर्ने निर्णय गरी तयारि बढाउँदै गर्दा त्यो बेलाको परिस्थितिवस स्थगन भएको थियो ।

सम्मेलन हुन नसकेको ६ वर्ष भयो । नियमितताको लागि गर्नैपर्ने अवस्था थियो । त्यसैले यो अहिलेको कार्यसमिति निर्वाचित भएपछि २०७६ साल भदौ २० गते किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको बैठक बसी सन् २०२० को मे वा जुन महिनामा बेलायतमा गर्ने भनी निर्णय गरिएको थियो र पुनः २०७६ साल कात्तिक ३० गते बैठक बसी २०२० मे को २४-२६ मा बेलायतमा गर्ने भन्ने निर्णय गरि किराया बेलायतलाई मूल ब्यबस्थापनको जिम्मेवारी सहित विभिन्न उपसमिति गठन गर्नुका साथै छलफलको बिषय, प्रतिनिधित्व, दायित्व जस्ता बिषयमा निर्णय गरि सोही अनुसारको जिम्मेवारी बाडफाँड गरि सम्मेलनको कामलाई अगाडि बढाइयो । तर कोभिड-१९ को विश्वव्यापी संक्रमणको विषम् परिस्थितिको कारण सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याइएको समयमा स्थगन गर्नुपर्ने परिस्थितिको सिर्जना भयो र २०७७ चैत ८ गते बैठक बसी तयारी भइसकेको सम्मेलनलाई अन्तिम समयमा स्थगन गरियो ।

त्यस पश्चात् २०७७ साल चैत २७ गते बैठक बसी कोरोना संक्रमणको दर घटेकाले समय अलिक सहज बनेको तर विषम् परिस्थितिमा बेलायतमा सम्मेलन गर्दा भिसाको समस्या हुने निष्कर्षसहित २०७८ जेठ २५ देखि असार ९ सम्ममा सम्पन्न गर्नेगरी घोषणा भएको १२औं राष्ट्रिय जनगणना सकिएपछि यो अन्तर्राष्ट्रिय सम्मेलनलाई २०७८ साल भदौ १९-२१ मा नेपालमा गर्ने निर्णय गरि उक्त समयमा बिदेश शाखा र सम्बन्धन संस्थाको कार्यक्रम नजुझाउन र अधिवेशन/सम्मेलन जस्तो कार्यक्रमलाई त्यो बेलासम्म नगर्न/नगराउन अनुरोध गर्ने निर्णय गरि पत्र पठाइयो ।

सम्मेलनको तयारी अगाडि बढिरहेको समयमा पुन कोरोना संक्रमणको दोस्राे लहरले विश्वस्तरमा यसले असहज अवस्था सिर्जना गरेकोले २०७८ साल साउन १२ गते बैठक बसी त्यो समयमा पनि सम्मेलन गर्न नसकिने परिस्थितिको विश्लेषण गर्दै घोषित मितिलाई पनि पुनः पोष्टपण्ड गर्दै २०७८ साल कात्तिक २७-२९ मा काठमाडौंमा भौतिक रूपमै सम्मेलन गर्ने र कोरोना संक्रमण जारी रहे भर्चुअल माध्यबाट भए पनि सम्मेलन गर्ने र उक्त समयसम्म बिदेश शाखा र सम्बन्धन संस्थाहरूलाई आफ्नो सम्मेलन/अधिवेशन नगर्न अनुरोध गर्ने निर्णय गरि पत्राचार गरिएको थियो र सोही अनुसार केही संस्था, समितिहरूले उक्त समयसम्म घोषित अधिवेशनलाई थाती राखेर अन्तर्राष्ट्रिय सम्मेलन लगत्तै अधिवेशन घोषणा गरेको अवस्था छ । त्यस्तै यो मितिमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन कतिपय देशका पदाधिकारीहरूले कामको छुट्टी मिलाइ समय तालिका मिलाइसकेको अवस्थामा सम्मेलन यही घोषित मितिमा गर्नुपर्ने अवस्था थियो र छ ।

हामी सबैलाई थाहा छ, जनगणना २०७८ जेठ २५ देखि असार ८ सम्ममा हुँदै थियो । तर कोरोना संक्रमणको विषम् परिस्थितिको कारण स्थगन भएको थियो र अहिलेको अलिक सहज परिस्थितिमा झण्डै २ महिना अगाडि मात्र स्थगन भएको राष्ट्रिय जनगणनालाई यही २०७८ कात्तिक २५ देखि मंसिर ९ भित्र सम्पन्न गर्नेगरी कार्यतालिका सार्वजनिक भएको हो । तर माथी नै उल्लेख गरिसकियो कि किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने मिति त्यो भन्दा अगाडि नै तय गरि सम्मेलनको तयारी देश बिदेशमा भइरहेको थियो र पटकपटक सारिएको सम्मेलनको मितिलाई विभिन्न व्यवहारिक कठिनाइको कारण जो माथी नै चर्चा गरिसकिएको छ, पुनः सार्न नसकिएको हो । सम्मेलनलाई यही अनुसार बुझ्न र बुझाउन हुन सबैमा जानकारी सहित अनुरोध छ ।

यो सम्नेलन जम्मा ३ दिन हुनेछ र जनगणनाको बारेमा व्यापक छलफल हुनेछ । यो सम्मेलनपछि जनगणनाको समय अझै १० दिन बाँकी हुनेछ । यो सम्मेलन पश्चात् सम्मेलनमा सहभागी प्रतिनिधिहरूले झन् सकृय भई आआफ्नो ठाउँमा जनगणना अभियानलाई अगाडि बढाइनेछ भन्ने बिश्वास लिएको छु ।

जनक राई
महासचिव
२०७८ कात्तिक २४ ।

जनक राईकाे फेसबुकबाट साभार ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्