नेकपा (माओवादी) केन्द्रको हरेक पटक हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुरुमै आत्मालोचित हुँदै भन्छन्- ‘हामी बिग्रिएका छौँ, हामी सच्चिन्छौँ, त्यो काम म आफैँबाट सुरु गर्छु ।’
आफ्नो ‘सुप्रिमो’ले यति भनिसकेपछि उपस्थित सबै केन्द्रीय सदस्यहरु परर तालि पिट्छन् । र औपचारिक रुपमा केही दिन बैठक चल्छ र सकिन्छ । जब बैठक सकिन्छ अनि सुरु हुन्छ पुरानै शैली र व्यवहार ।
माओवादी केन्द्रले १० वर्षे जनयुद्ध औपचारिक रुपमा बिश्राम गरी शान्ति प्रकृयामा आएयता अधिकांश गठन भएका सरकारमा माओवादी सहभागी छ । माओवादी पटक पटक भन्छ- ‘हामीले चामल बिक्री गर्न सकेनौँ, अरुले पिठोसमेत बिक्री गरे ।’
यसको मतलव माओवादीले गरेका राम्रा काम जनताका बिचमा पुर्याउन सकिएन भन्ने उसको गुनासो हो ।
तर किन माओवादी बिग्रियो ? आफू बिग्रिएको कुरा थाहा पाएर पनि माओवादी किन सुध्रिएन ? उसोभए माओवादी अब कहिले सुध्रन्छ त ? कि माओवादीको पहिचान नै यस्तै हो ? यी र यस्ता यावत प्रश्न यतिबेला माओवादी पार्टीका सदस्य, शुभचिन्तक मात्र होइन, जनताका बिचमा पनि घुमिरहेका छन् ।
यसको पहिलो जड माओवादीभित्र झाँगिदै गएको परिवारवाद नै हो भनेर ठोकुवा गर्न सकिन्छ ।
माओवादी अध्यक्ष प्रचण्ड परिवारवादमा फस्दै जानु, जनयुद्धका बेला गरिएका बाचा बिर्सनु, नीति र सिद्धान्त बिराउनु अनि भ्रष्ट आचरण भएकाहरुलाई संरक्षण गर्नु नै माओवादीका बिकृत पक्ष हुन् ।
हुँदा हुँदा पार्टीको नाम नै परिवर्तन गरेर अगाडि बढ्न पार्टीभित्रकै केही ‘हितैषी’हरुले सुझाव दिनु र उक्त सुझावको पछि लाग्न उत्प्रेरित हुनु, पार्टीलाई एउटा निजी क्लब जस्तो बनाउनु, फरक मत र विचार राख्नेहरुलाई दपेटेर भित्तामा पुर्याउँदै सिध्याउनु जस्ता कार्य माओवादी पार्टीका ‘सुप्रिमो’को व्यक्तिगत जीवनका लागि त राम्रो होला । तर हिजो हत्केलामा ज्यानको बाजी राखेर हिँडेका सच्चा माओवादीहरु र माओवादीको सरकारले केही राम्रो गर्ला कि भन्ने आशामा बसेका जनताका लागि यो ‘आत्मघाती गोल’ सरह हुने छ ।
शान्ति प्रकृयामा आएपछि मात्र सत्ताका लागि चलखेलमा बढी ध्यान केन्द्रित हुँदा हिजो माओवादीले संचालन गरेको जनयुद्धमा सँगै लडेकाहरु नेताहरु यतिबेला छिन्नभिन्न अवस्थामा पुगेका हुन् । गत वर्षको आमनिर्वाचनमा माओवादी प्रत्यक्षतर्फ मात्र १८ सिटमा बिजयी हुनु के यसैको परिणाम होइन र ?
प्रचण्डले यो समेत तेस्रो पटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्दै गर्दा उनका केही सल्लाहकारहरुले उनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिइसकेका छन् ।
के यसबाट पनि अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले केही पाठ नसिक्ने ? सिमित स्वार्थ समूहको घेरोमा रमाएर बसिरहने कि फेरि पनि केन्द्रीय समित बैठक डाकेर ‘हामी बिग्रियौँ, म बिग्रिएँ, अब सुध्रिन्छु’ मात्र भनिरहने ?
यसर्थ, आफ्ना ‘अन्धभक्त’हरुलाई मात्र पद बाँडुन् भन्दा सत्यलाई आत्मसात गरेर, आचोचनालाई पाठका रुपमा ग्रहण गरेर अगाडि बढ्न सकेको खण्डमा जनताले सुखी र राष्ट्रले समृद्ध भएको आभाष प्राप्त गर्ला कि !
(फुयालकाे याे लेख झिल्काे डटकम नामकाे माओवादी निकट अनलाइनमा प्रकाशित भएकाे थियाे । तर, लेखकले प्रकाशित भएको दुई घन्टामै आफ्नाे लेख डिलिट गरिएको गुनासाे गरेका छन्, जुन हामीले यसमा राखेका छाैं । स.)