यतिबेला देश ठुलो संकटको घडीमा उभिएको छ। जेनजी आन्दोलनले राज्यका तिन वटै अंगहरू- संघीय संसद भवन, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र न्यायालय सर्वोच्च अदालतकाे भौतिक स्वरूप खरानी बनेका छन्।
कमान्ड गर्ने नेतृत्वविहीन आन्दोलनमा ठुला दलका कार्यालयहरू, नेताका घर–सम्पत्ति, नेतासँग नाम जोडिएका मिनबहादुर गुरुङजस्ता ठुला व्यवसायीको भाटभटेनीसहितका व्यवसायमा तोडफोड र आगजनी भएको छ।
पाँच पटकसम्म प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी श्रीमती तथा बहालवाला परराष्ट्र मन्त्री आर्जु देउवामाथि निवासमै रगतपिच्छे हुने गरी कुटपिट गरिएको छ।
आन्दोलनमा मृत्यु हुनेहरूको संख्या ३० पुगेको छ, केही सुरक्षाकर्मी प्रहरीहरूको पनि मृत्यु भएको छ।
फेसबुक, एक्स, युट्युबजस्ता २६ वटा सामाजिक सञ्जालहरू बन्द भएपछि जनताको आक्रोश विस्फोट भएको छ।
नेताहरूले गर्ने भ्रष्टाचार र उनीहरूले प्रश्रय दिँदै आएका बेथिति र अनियमिताप्रतिको जनआक्रोश पनि यही आन्दोलनमा मिसियो।
८० वर्ष पुगेका हजुरबा उमेरका शेरबहादुर देउवामाथि निर्मम कुटपिट हुँदा पनि कसैले विचरा भनेनन्, सामाजिक सञ्जालमा पनि दया भाव देखिएन।
एमालेका नेता तथा बहालवाला अर्थमन्त्री विष्णु पौडेल र अर्का नेता महेश बस्नेतमाथि पिटिएको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ। तर ती भिडियोमा उनीहरूको अनुहार स्पष्ट नदेखिने भएकाले यकिन गर्न गाह्रो छ।
नेताहरू यसरी भौतिक रूपमा निर्घात कुटिँदा पनि जनताको सहानुभूति नजाग्नुको अर्थ जनतामा आक्रोशको बेलुन धेरै पहिले नै फूलिसकेको रहेछ। अचानक त्यो बेलुन फुट्यो, जनताको धैर्यताको बाँध भत्कियो र परिणाम अहिले हामी भाेग्दैछाैं, चिन्तित छौं- देश अब कता जाने हो, द्वन्द्वतिर त जाँदैन?
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको दम्भले देशमा यो अवस्था आएकोमा कसैकाे विमति छैन। ओलीलाई त्यहाँसम्म पुर्याउनेहरू, उनका चाकडीबाजहरूको अनुहार सम्झिँदा पनि घृणा लाग्छ मलाई, जाे एउटा पद र व्यक्तिगत स्वार्थका लागि समुदायलाई नै भुल्छन्।
त्यस्ता नेता र पार्टीका झाेलेहरूप्रति आक्रोश ममा पनि थियाे। हजुरबा उमेरका बृद्ध नेतामाथि रगतपिच्छे हुने गरी कुटपिट हुँदा पनि मेरो मनमा पनि सहानुभूति जागेन।
मैले भ्रष्ट नेताहरूप्रतिकाे आक्रोश मेराे ल्याबटपकाे किबोर्डबाट लेखेर पोखे। तर खबरदारी छ, चेतावनी छ- संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान नगुमोस्, अग्रगमनतिर जानुपर्नेमा पछाडि फर्किने काम नहोस्।
अहिलेको संकटकाे समाधानका लागि विज्ञहरूले गम्भीर रूपमा विचार गर्नुपर्छ। तर शान्ति, स्थिरता र समृद्धि चाहने हो भने ती विज्ञहरू पनि अग्रगामी विचारका हुनुपर्छ।
म लामो समयदेखि पत्रकारिता पेसामा भएकोले मिडियासँग प्रत्यक्ष जोडिने कुरा पनि भन्न चाहन्छु। एकजना पत्रकार साथीले सामाजिक सञ्जालमा नेपाललाई हिन्दु राज्य बनाउने एजेन्डा ठिक छ भन्ने विचार राखेपछि मैले पनि आफ्ना विचारहरू राख्दैछु।
पत्रकारिता र राजनीति अलग गर्न सकिँदैन। पत्रकारिताको विकास नै राजनीतिबाट भएको हो। यद्यपि, पत्रकार पार्टीगत आबद्धताबाट मुक्त हुनुपर्छ भन्ने विचारलाई म पनि समर्थन गर्छु।
तर पत्रकारले समाचार मात्रै लेखिरहेकाे हुँदैन, त्यसमा राजनीति पनि घुसाइरहेकाे हुन्छ। रिपोर्टर वा सम्पादकलाई एजेन्डा सेटरको रूपमा लिइन्छ, जसले गर्दा उसले गर्ने रिपोर्टिङमा स्वार्थ मिसिन्छ। यसरी समाचार बायस्ड बन्छ।
समाचार बायस्ड हुनुहुन्न भनिन्छ, र वस्तुगत पत्रकारितामा जाेड दिइन्छ।
तर, न्युजरुम भित्र यथार्थ त्यस्तो हुँदैन। नेपाल मात्र होइन, विश्वभरका मिडिया संस्थामा यही अवस्था छ। मिडिया मालिक, ठुला व्यापारी, विज्ञापनदाता, ठुला दल र नेताहरूले मिडियामार्फत एजेन्डा सेटिङ गरिरहेका हुन्छन्।
कुन समाचार दिने वा कुन रोक्ने भन्ने गेटकिपिङ गरिन्छ। यही हो व्यवसायिक मिडियाको वास्तविकता।
मैले भन्न खोजेको के हो भने- अहिले देश ठुलो संकटमा छ। राजा र हिन्दुराज्यको आवाज फेरि उठिरहेको छ। विदेशी शक्तिहरू पनि अनुकूल समय कुर्दै छन्।
संविधान नै नरहला कि भन्ने चिन्ता छ। संविधान नरहे अहिलेसम्मका उपलब्धि पनि गुम्नेछन्। यस्तो घडीमा पत्रकारहरूले विचार निर्माणमा खेल्ने भूमिका बुझ्न आवश्यक छ।
लोकतन्त्रका आधारभूत तत्वमध्ये धर्मनिरपेक्षता एक हो। नेपाल जस्तो बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय देशमा यसको महत्व अझ बढी छ।
तर, पत्रकारहरूले नै धर्मनिरपेक्षता, संघीयता (शक्ति विकेन्द्रीकरण), समानुपातिक समावेशिता जस्ता लोकतन्त्रका मूल तत्वलाई अन्तरआत्मादेखि स्वीकार गरेको देखिँदैन।
म खासगरी सधैं खस-आर्य पत्रकारहरूको धारणा बुझ्ने प्रयास गरिरहेकाे हुन्छु। धेरै पत्रकार साथीहरूले उत्पीडित समुदायको पीडा नै बुझनुभएन। बुझ्नुभएकाे छ भने पनि न्यायकाे पक्षमा खुलेर उभिनुभएन।
देशमा शान्ति, स्थिरता र समृद्धि सबैलाई चाहिएको छ। त्यसका लागि अहिलेसम्मका संवैधानिक उपलब्धि जोगाउँदै थप अग्रगमन र विकासको बाटोमा लाग्नुपर्छ।
देशकाे आन्तरिक राष्ट्रियता मजबुत बनाउँदै सबैको पहिचान र सम्मान सुरक्षित गर्दै अघि बढ्नुपर्छ। यसका लागि राज्यकाे चाैथाे अंग भनेर चिनिने मिडियाकाे भूमिका अझै जिम्मेवार हुनुपर्छ।
पत्रकारहरू नै पूर्वाग्रही भए, देश फेरि एकल धार्मिक र केन्द्रिकृत शासन प्रणालीमा फर्कियो भने त्यसले दीर्घकालीन द्वन्द्व निम्त्याउन सक्छ। त्यसैले देशलाई बचाउन सबैले प्राप्त उपलब्धि जोगाउने र थप अग्रगमनतिर लाग्ने हाे।



