अहिले जहाँ–जहाँ आ–आफ्नो मौलिकता, सभ्यता, मातृभाषा तथा प्रथाजन्य अलिखित परम्पराहरूको खोजी भइरहेको छ, त्यसलाई निरन्तरता दिन, संरक्षण गर्न र पुस्तान्तरण गर्नुपर्ने आवश्यकता झन् बढ्दै गएको छ। यसै प्रसङ्गमा, बायुङ राईहरूको आदिम थात–थलो मुन्दुम, विकास, इतिहास तथा जल–जमिन–जङ्गलसँगको सम्बन्धका आधारमा सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गा जिल्ला नै मानिन्छ। यी सबै दृष्टिले हेर्दा बायुङ राईहरूको आदिम भूगोल स्पष्ट रूपमा खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामै देखिन्छ।

आ–आफ्नो भूगोलमा आदिम कालदेखि बसोबास गर्दै आएका बायुङ राईहरू पछिल्लो समयमा पेशा तथा व्यवसायका क्रममा पुर्ख्यौली थात–थलोबाट विभिन्न जिल्ला तथा स्थानहरूमा बसाइँसराई गरेको पाइन्छ।

यसरी बसाइँसराई भएको समय केलाउँदा अनुमानित ११ पुस्ता अगाडिदेखि नै यो प्रक्रिया सुरु भएको देखिन्छ। त्यतिबेला सञ्चार, यातायात र विकासका पूर्वाधारको अभावका कारण आफ्नो पितृ थलो फर्किन कठिन भएको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ।

मानव समुदायको बसाइँसराई हुनु अस्वाभाविक कुरा होइन। तर, सबै जाति तथा समुदायको आ–आफ्नै उत्पत्तिस्थल र मूल्य–मान्यता रहेका हुन्छन्। यही कारण पुर्ख्यौली थात–थलो र पवित्र भूमि (Sacred Land) को अवधारणा आएको हो।

बायुङ राईहरू जहाँ बसे पनि, तुम्लो–यालो अनुसार उनीहरूको पुर्ख्यौली थात–थलो खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा नै हो, जहाँ जन्मदेखि मृत्युपर्यन्तसम्मका मुन्दुमी संस्कारहरू सम्पन्न गरिन्छन्। त्यही थात–थलोमा पुर्‍याएर द्व्यप्सोमाम र थुसोमाम मात्र मुन्दुमअनुसार पूर्ण हुन्छन्।

१२ औँ राष्ट्रिय जनगणनाअनुसार राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांकमा बायुङ राईहरू सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, रौतहट, बारा, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, चितवन, गोरखा, कास्की आदि जिल्लामा बसोबास गरेको देखाइएको छ।

ताप्लेजुङ, मकवानपुर, लुम्बिनी, सुर्खेत, सल्यान, कैलाली, बाँके, काभ्रेपलाञ्चोक, बर्दिया आदि जिल्लामा पनि बायुङ राईहरू बसोबास गर्दै आएका छन्। तर ती जिल्लाका बायुङ राईको तथ्यांक राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना गर्न सकेको छैन।

यति मात्र नभई परदेशमा भारत–भुटान हुँदै विभिन्न देशमा बसोबास गर्ने बायुङ राईहरूको जनसंख्या र अवस्थाबारे पनि कुनै तथ्यांक संकलन हुन सकेको छैन, जसको जनगणना अपरिहार्य छ।

खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा बसोबास गर्ने बायुङ राईहरू बाहेक अन्य जिल्लामा बसोबास गर्दै आएका बायुङ राईहरूको मातृभाषामा तुलनात्मक रूपमा बायुङ भाषा लोप हुन लागेको देखिन्छ।

सुर्खेत, सल्यान, धनकुटा र ताप्लेजुङ जिल्लामा बसोबास गर्ने बायुङ राईहरू केही शब्द बाहेक अरू केही नबुझ्ने अवस्थामा छन्। अर्कोतर्फ, बायुङ राईहरूको तुम्लो–यालो जसरी ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा पूजिन्छ, हुबहु त्यसरी अन्य जिल्लामा बसोबास गर्ने बायुङ राईहरूले पनि पूज्नुपर्नेमा फरक–फरक तरिकाले पित्री पूजा गरेको पनि देखिन्छ।

उदयपुर, झापा, मोरङ र सुनसरीमा भने हुबहु तरिकाले नै तुम्लो–यालो र सारी–खाउमा गरिएको छ, तर सुर्खेत र सल्यान जिल्लामा बसोबास गर्ने बायुङ राईहरूले कुनै पनि तुम्लो–यालो अनुसार सारी–खाउमा गरेको देखिँदैन।

यदि मानव समुदायलाई भौतिक सम्पत्तिले मात्र पुग्ने भएको भए विश्वमा रहेका भाषा, संस्कृति, लिपि, इतिहास, मौलिकता, प्रथाजन्य चालचलन र रैथाने ज्ञान प्रणाली पहिले नै लोप भइसक्थ्यो।

तर भौतिक विकासको आधार (आमा) नै रैथाने ज्ञान प्रणाली र प्रथाजन्य परम्परामा आधारित भएकाले यसको करले र रहरले संरक्षण, विकास र प्रवर्द्धन हुँदै आएको हो।

जब एक जना बालक जन्मिन्छ, तब यस्ता प्रश्नहरू सुरु हुन्छन्—नाम के राख्ने? कस्को सन्तान हो? कुकु द्व्यल (माहुला) कहाँ हो? बुढा माहुलो कहाँ हो? कुन संस्कारअनुसार जन्म–कर्म–मृत्यु संस्कार गर्ने हो? दोचा कुन हो? सारी–खाउमा कसरी गर्ने? मा:सेपाथिङ (चोखो–नितो नगरी) सारी–खाउमा गर्दा के–के असर पर्छ? मौलिकता जगेर्ना गरिएन भने भावी सन्तानले कस्तो दुःख पाउँछन्? संस्कार र तुम्लो–यालोलाई परिमार्जन गर्दै जाँदा देखिने र नदेखिने असरहरू के–के हुन सक्छन्?

यी प्रश्नहरूको उत्तर समुदायले आफैँ विस्तारै दिँदै आइरहेको छ। अहिले आएर विभिन्न जिल्लामा बसोबास गर्ने बायुङ राईहरूमा यस विषयमा गहिरो चिन्तन र मनन बढ्दै गएको देखिन्छ।

सबै जनामा आ–आफ्नो मौलिकता र इतिहासप्रति चासो र खाँचो भएकै कारण भारतका सिक्किम, दार्जिलिङ, असाम र मणिपुरमा बसोबास गर्ने बायुङ राईहरूले तुम्लो–यालोअनुसार सारी–रेरि पूजा गर्छन्, तथा भुटानमा पनि नाग्ले गर्ने प्रचलन रहेको छ।

यु.के., हङकङ र ब्रुनाइमा समेत बायुङ राईको मातृभाषालाई जीवित राख्ने प्रयास भइरहेको छ। र, तुम्लो–यालोअनुसार सारी–रेरि पूजा गर्ने कोसिस हुँदै आएको छ।

विभिन्न भूगोलमा बसोबास गर्दै आएका बायुङ राईहरूले हिजोआज आफ्नो पितृ थलो सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका विभिन्न द्व्यलमा पुगेर आफ्नो वंशावली, इतिहास, ङप्सी:लव, दव:रिप्वा, तुम्लो–यालो, लो:सि तथा परम्पराको खोजी गर्ने काम गरिरहेका छन्।

त्यसपछि तुम्लो–यालो पूजा गर्दा र सारी–खाउमा गर्दा छुट्टिएका तुम्लो–यालो, विधि तथा प्रथाहरूको पुनःउत्थान गर्ने कार्य भइरहेको छ। उदाहरणका लागि—बोकोल (चुलो) सच्च्याउने, आपि, सुम्नी–ब्यारआ पूजा गर्ने, कोरो–ब्यारआ पूजा गर्ने, हङ–सेग्रो सिलि सिक्ने, बायुङ राईको झरा:झसिको प्रयोग गर्ने, तुम्लो–यालोसँग सम्बन्धित गीत, लेख, रचना तथा दस्तावेज तयार गर्ने काम भइरहेको छ।

ज्ञान बायुङ राई

सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मका भूगोलमा बसोबास गर्दै आएका बायुङ राई ङप्सी:लवहरूसँग भेटघाट गर्ने क्रममा फरक–फरक कथाहरू भेटिएका छन्।

उदाहरणका लागि, करिब ३५–४० वर्षअघि सडकमा काम गर्ने क्रममा ओखलढुङ्गाबाट गएका बायुङ मुपुचा राईहरू धनगढीको जुगेडा र फुलबारी क्षेत्रमा बसोबास गर्दै आएका छन्, जहाँ मातृभाषा अझै जीवित छ।

ओखलढुङ्गाबाट काभ्रेपलाञ्चोक हुँदै ३–५ पुस्ता अगाडि सुर्खेत पुगेका बायुङ राईहरूलाई अलि–अलि मात्र बायुङ भाषा आउँछ भने तुम्लो–यालो लगभग लोप भइसकेको छ। सल्यान जिल्लामा पनि ५–६ पुस्ता अघि ओखलढुङ्गाबाट जागिर खाने क्रममा पुर्खाहरू बसाइँसराई गरेका थिए।

उनीहरूको सन्तानले अहिले केही बायुङ लो बाहेक अरू धेरै कुरा जान्दैनन्, तर ओखलढुङ्गा पुगेर आफ्नो पुर्खाको थलो र वंश खोज्ने काम गरिरहेका छन्।

भोजपुर, ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र धनकुटातिर भने ५ देखि १२ पुस्ता अघि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट बसाइँसराई भई त्यही भूगोलमा बसोबास गर्दै आएका छन्, जहाँ आफ्नो लो:सि, तुम्लो–यालो र पितृमृहरू पूजा गर्दै आइरहेका छन्।

मोरङ, झापा, सुनसरी र उदयपुरमा भने चुस्त–दुरुस्त तरिकाले बायुङ राईहरूको पितृम्री हुँदै आएको छ। उदयपुरमा ११ पटक हङ–सेग्रो पित्री पूजा गरिएको छ र वाक्सा तथा लिङमो सबै तुम्लो–यालोअनुसार गरिन्छ।

सुनसरीमा ३ पटक हङ–सेग्रो ले:ने थुम्तामेम ब्व गरिएको छ। पूर्वतिर त यहाँसम्म कि इलामको नक्स (धेवा) ले इलाम हुँदै झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने बायुङ राईहरूको खिममा नाग्ले/न्वागी/मोसुम फुचो/सारी पाचो गर्ने कार्य गर्दै आएका छन्। ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका तुम्लोचाहरूले पनि विभिन्न स्थान र जिल्लामा सारी–रेरि पूजा गर्दै आइरहेका छन्। यसरी नै अलिखित तुम्लो–यालोलाई पूजा गर्ने, बचाउने र प्रवर्द्धन गर्ने काम सिङ्गो बायुङ राई समुदायले निरन्तर गरिरहेको छ।

अन्तमा,

आ–आफ्नो मौलिकता जगेर्ना गर्न र सारी–रेरि पूजा गर्न भौगोलिक हिसाबले तुम्लोचाहरू एक ठाउँबाट अर्को ठाउँमा जान कठिन देखिन्छ र तुलनात्मक रूपमा खर्चिलो पनि हुन्छ।

वास्तवमा स्थानीय गाउँघरमा सारी–खाउमा गर्नु खासै खर्चिलो हुँदैन, तर सहर–बजारमा भने आउजाउको खर्च र समय लाग्ने भएकाले खर्चिलो हुन्छ।

पछिल्लो कालमा तुम्लोचाहरूको पुस्तान्तरणमा कमी आएकोले नयाँ तुम्लोचाहरूको अभाव पनि हुँदै गएको छ। स्थानीय गाउँघरमा घर–चुलो निक्कै चोखो–नितो हुन्छ भने सहर–बजारमा अलि कम हुन सक्छ। यसो हुँदा “जि” र “सि” संरक्षण गर्न सकिन्छ।

सरसर्ती हेर्दा सहर–बजार र प्रवासमा अलिकति फरक–फरक तरिकाले तुम्लो–यालोअनुसार सारी–रेरि पूजा गरिएको पाइन्छ। यसलाई एकरूपता ल्याउनु आवश्यक देखिन्छ। त्यसपछि सबैका लागि सहज हुन्छ। युवापिँढीलाई जागरुक बनाउनु पनि अपरिहार्य छ।

रुप्ता!
हक्सिङ अनिमोखोला!

सन्दर्भ सामग्रीः

– राष्ट्रिय तथ्यांक कार्यालय (१२औँ तथ्यांक)
– सन्दिप रुम्दाली बायुङ राई, सुर्खेत
– रुपसिङ्ग बायुङ राई, सल्यान
– सिमान्त बायुङ राई, धनगढी, कैलाली
– जित बहादुर याम्फू राई, धनगढी, कैलाली
– राजेन बायुङ सेचोचा राई, मणिपुर, भारत
– बिक्रम नेचाली बायुङ ग्याल्दार्चा राई, इलाम
– विजय बायुङ राई, ताप्लेजुङ
– किरण बायुङ राई, संखुवासभा
– अमृत बायुङ मुपुचा राई, पाँचथर
– सन्जाल बायुङ खारायुल्चा राई, भोजपुर
– खेमराज बायुङ नाम्बेर्साचा राई, उदयपुर
– आइती बायुङ रिनाम्साचा राई, सुनसरी
– कृष्ण बायुङ सेचोचा राई, झापा
– पन्चराज बायुङ रल्लेचा राई, मोरङ।