मेरो छिमेकमा राम्राे मेहनत र आम्दानी गर्ने एकजना दाजु हुनुहुन्छ। तर उहाँको परिवारका सदस्यहरू भङ्ज्याहा भएका कारण उहाँको मेहनत र आम्दानीले खासै अर्थ राखेको छैन। तर उहाँको घर नजिकै अर्को परिवारका सबै सदस्यहरूले थोरै आम्दानी गरे तापनि सबैजना इमान्दार भएकाले त्यो परिवारभन्दा यो परिवार समृद्ध छ।
परिवार, समाज र राष्ट्र निर्माण गर्न एकल प्रयासले मात्र सम्भव हुँदैन। परिवार समृद्ध हुन परिवारका सदस्यहरू र राष्ट्र समृद्ध हुन सरकार र नागरिकहरूको भूमिका हुन्छ। सरकार खराब भएमा नागरिकहरूको, र नागरिकहरू भङ्ज्याहा भएमा सरकारको ऊर्जा, स्रोत, साधन, क्रियाशिलता र सिर्जनशिलता उनीहरूको विरोध, आलोचना र व्यवस्थापनमै सकिन्छ। फलस्वरूप दुवैको ऊर्जा, स्रोत, साधन, क्रियाशिलता र सिर्जनशिलता दुरुपयोग हुन्छ। अनि उनीहरू बिचको लुकामारी चल्दाचल्दै मुलुक विकास र समृद्धिमा पछि परिसकेको हुन्छ।
नेपालको राजनीतिमा यही नै भइरहेको छ। २०१५ र ०४८ को आमनिर्वाचनमा नेपाली कांग्रेसले लोकतन्त्र, स्थायित्व र विकासको ललिपप, ०५१ को आमनिर्वाचनमा नेकपा एमालेले सामाजिक न्यायसहितको राष्ट्रवादको ललिपप, ०६४ को आमनिर्वाचनमा तत्कालीन नेकपा माओवादीले गणतन्त्र, समावेशिता, नयाँ संविधानसहित मुलुकलाई एक दशकमै स्विट्जरल्याण्ड र सिङ्गापुर बनाउने ललिपप देखाएर बहुमत ल्याए, त कहिले ठुलो दल बने। अनि ०७४ मा वाम एकता गर्ने दीर्घकालीन योजनासहित सत्तामा रहिरहने रणनीतिका साथ नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रले एकता गरेर संसदमा लगभग दुईतिहाइ पुर्याएर स्वर्ग र नर्क पनि सँगै जाने उद्घोष गरे।
त्यसैले यो मुलुकलाई हरिकङ्गाल बनाउन समाजवादको चर्को नारा लगाई पूँजीपति भएका कांग्रेसीहरू र गरिबको पक्षमा लड्दा लड्दै, राष्ट्रवादको भजन गाउँदा गाउँदै धनवान् स्वदेशी तथा विदेशी दलाल बनेर सत्तासीन वर्गको हेगेमोनीका कारण उत्पीडितहरूको मन–मस्तिष्कमा पनि उत्पीडकले वास गरेको हुन्छ भन्ने भनाइलाई व्यवहारमा उतारी लोकतन्त्रको खास्टो ओढेर राजतन्त्र भन्दा पनि भ्रष्ट शासन सत्ता सञ्चालन गर्ने कांग्रेस-कम्युनिस्टहरू मात्र होइन, तर उनीहरूको गुलामीमा रमाउने नागरिकहरूको पनि उत्तिकै भूमिका छ भन्ने कुरालाई पुष्पकमल दाहालले पत्रकारहरूसँगको कुराकानीका क्रममा नेताहरूलाई जनताहरूले नै यस्तो बनाएका हुन् भनी दिनुभएको अभिव्यक्तिले प्रमाणित गर्छ।
ती कांग्रेस अनि कम्युनिस्टहरूको भ्रष्ट शासनमा उनीहरूका कर्तुतहरू उजागर गर्नेहरूलाई थुन्ने, कुट्ने र धरपकड गर्नु सामान्य बनेको थियो। अन्ततः जेन्जीहरूको जीवनको अंश बनिसकेको र जनताले दैनिक सञ्चार तथा मनोरञ्जनको माध्यम बनाई उनीहरूको सुख दुःखका आवाज व्यक्त गर्ने प्लेटफर्म सामाजिक सञ्जालको
संवेदनशीलता र उपयोगितालाई नै नबुझी बन्द गर्यो। फलतः सामाजिक सञ्जाल होइन, तर उनीहरूका भ्रष्ट कर्तुतहरू बन्द गर्नुपर्छ भनी जेन्जी पुस्ता आन्दोलनमा उत्रिए। यो विरोधलाई दमन गर्न गोली वर्षाएर जेन्जीहरूलाई पाशविक तरिकाले हत्या गरे। अनि आफ्ना कलिला नानीबाबुहरू रगतको आहालमा लत्पतिएको देखेपछि दल र नेताहरूको गुलामीमा रमाइरहेका नागरिक अभिभावकहरूको चेत खुल्यो।
त्यसपछि त्यो आन्दोलनले अभिभावक, शिक्षक, डाक्टर, इन्जिनियर, समाजसेवी, पत्रकार, महिला, मजदुर, किसान तथा सबै प्रकारका पेशाकर्मीहरूको साथ पायो। फलतः सामाजिक सञ्जाल खोल भनी सुरु भएको शान्तिपूर्ण आन्दोलनको झिल्कोले एकैछिनमा भयंकर डढेलोको रूप लियो। अनि त्यसको रापले नेताहरूको घरदेखि लिएर संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत अनि राष्ट्रपति भवनसम्म खरानी बनाएर मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपर्यो।
आन्दोलनको रापले दशकौँदेखि आलोपालो गर्दै मुलुकमा बेथिति र विसङ्गतिको अँध्यारोमा पुराना दलहरूले चलाउँदै आएको साम्राज्यलाई ढालेर गत फागुन २१ मा ब्यालेट बक्सबाट औपचारिक रूपमै राजनीतिक दाहसंस्कार नै गरी दुई–तीन वर्ष अघिबाट आशाको चाँदनी छर्न थालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लगभग दुईतिहाइ मतादेश दिएर सत्ताको बागडोर सम्हाल्ने तालाचाबी नै सुम्पियो।
आगामी स्थानीय निर्वाचन ०८४ अगावै ०४६ सालपछिका सबै ठुला भ्रष्टाचारका काण्डहरूको छानबिन पूरा गरी दोषीहरूबाट सावा–ब्याज असुल गरेर कारबाही गर्ने, सबै सरकारी निकायहरूमा बिना झन्झट, पावर, भनसुन, घूसपैठ, सरल, सहज र सम्मानित तरिकाले नागरिकले आफ्नो काम गर्न सक्ने, विदेशमा रहेका नेपालीहरूले नोट मात्र होइन, तर सरल र सहज तरिकाले भोट पनि पठाउन सक्ने व्यवस्था
रास्वपाले झन्डै दुईतिहाइ मतादेश पाएको हुनाले २०१५, ०४८, ०५१, ०६४ र ०७४ मा भन्दा सहज तरिकाले मुलुकमा काम गर्ने ऐतिहासिक अवसर पाएको छ। यो अवसर सिर्जना गर्न पुराना दलहरूले एउटा चलचित्रमा भिलेनले जसरी नकारात्मक भूमिका खेलेरै भए पनि योगदान दिएका छन्। किनकि, उनीहरूले सामाजिक सञ्जाल बन्द गरी जेन्जी आन्दोलन निम्त्याएर कलिला नानीबाबुहरूलाई गोली ठोक्दै निर्मम तरिकाले हत्या गरी गुलामी र चाकडीमा मस्त निदाएका आमाबुवाहरूलाई ब्युँझाउने काम गरे।
अनि त्यो आन्दोलनको जगमा आमनिर्वाचन सम्पन्न भयो र संसदमा संख्या पुगेन हजुर संख्या, संख्या पुग्या दिन… भन्दै मिशन ०८४ मा संख्या पुर्याउने मिशनमा लागेको
रास्वपालाई ०८२ मै जनताहरूले उसले आशा गरेको भन्दा पनि धेरै झन्डै दुईतिहाइ मतादेश दिएर उसको मिशन ०८४ को इच्छा अगावै पूरा गरिदिए।
त्यसैले पुराना दलहरूको नकारात्मक योगदान, जेन्जीहरूको बलिदान र नागरिकहरूको मतदानको फ्युजनबाट उत्पन्न भएको मुलुक बनाउने यो ऐतिहासिक अवसरलाई अब पनि सदुपयोग गर्न नसकेमा अब संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन होइन, तर नेताहरू जिउँदै जल्न सक्छन्, अनि ब्यालेटमा मतदान होइन, नेताहरूको छातीमा बुलेट बर्साउन सक्छन्।
जनताहरूको उर्लेको आक्रोसले को सत्तापक्ष, को प्रतिपक्ष पहिचान नै नगरी सबैलाई भौतिक रूपमै खरानी बनाउन सक्छन्। यति धेरै मतादेश पाएको रास्वपाले पनि के कुरा बुझ्न आवश्यक छ भने, उसले मुलुकको विकासमा कायापलट गरेको, विद्यावारिधि हासिल गरेकाहरूलाई पार्टीमा लर्को लगाएको, कामपाका तत्कालीन मेयर तथा वर्तमान सम्माननीय प्रम श्री बालेन्द्र शाहज्यूले सडक फुटपाथ रंगरोगन मर्मतसम्भार र महानगरको प्रशासनिक कामहरूमा सुधार गरेको हुनाले जनताहरूले दुईतिहाइ मतादेश दिएका होइनन्।
तर दशकौँदेखि पुराना दलहरूले मुलुकमा अन्याय, अत्याचार, भ्रष्टाचार, शोषण, गुण्डागर्दी, बेथिति र विसङ्गतिको अँध्यारोमा चलाउँदै आएको साम्राज्यबाट वाक्क दिक्क भएर, त्यहीँ अँध्यारोमा रास्वपा एउटा आशाको चाँदनीको रूपमा सडक र सदनमा उदाएको, पार्टी सभापति रवि लामिछानेप्रति राज्यले गरेको अत्याचार अनि तत्कालीन नगरप्रमुख हुँदा बालेन्द्र शाहलाई पुराना दलहरूले गरेको व्यवहार सहन नसकेर दया र सदाशयता देखाएका हुन्।
पुराना दलहरूले सत्तामा पुग्न दशकौँको मेहनत, त्याग, तपस्या र बलिदान गरे तापनि रास्वपाले सानो, छोटो मेहनत, दुःख, त्याग, तपस्याबाट साँच्चै भन्ने हो भने पार्टी सभापति रवि लामिछानेको एकल प्रयासमा नै सत्ताको बागडोर सम्हाल्ने अवसर पाएको छ। त्यसैले रास्वपाले यो जनादेशलाई आफ्नै सक्षमताले आर्जेको शक्तिको रूपमा लिएर घमण्डले फुल्दै मौकाको रूपमा होइन, तर जनताको सदाशयता, आशा, विश्वास र भरोसाले सिँत्तैमा पाएको जिम्मेवारीको रूपमा ग्रहण गरेर यो वा त्यो कुनै बहाना छुट नलिइ नगरी जनताहरूकै इच्छा, आशा, विश्वास र भरोसालाई कुठाराघात नगरी, मौका यही हो, लुट्न सके लुट, यही बेला हो छुट भन्ने व्यवहारबाट टाढै रहेर सुशासन, विकास, समृद्धि र स्थायित्वको लागि युद्धस्तरमा काम गर्नुपर्छ।
राजनीति भनेको व्यापार वा पेशा होइन। तर मुलुक र जनताहरूलाई दिने सेवा हो भन्ने कुरालाई व्यवहारमै देखाउँदै नेताहरूलाई सबै प्रकारको भ्रष्टाचारबाट अलग राखी आन्तरिक शुद्धीकरण कायम राख्न बलियो संयन्त्र खडा गरी, पहिले जस्तै हरेक दिन नेताहरूले पालैपालो घण्टीघरमा जनतासँग संवाद गर्ने कार्यतालिकालाई कायम राखेर, पुराना दलहरूले जसरी प्रतिशोध होइन, त्यसको गन्ध पनि आउन नदिई अपराधीहरूलाई कानुनी कठघरामा उभ्याउँदै, ठुलो छाती बनाएर प्रतिपक्षमा रहेका महावीर
पुन, हर्क साम्पाङ, ज्ञानबहादुर शाहीहरूलाई मात्र होइन, देशलाई ठुलो योगदान दिएर पनि गलत सल्लाहकारहरूको कारणले संसद बाहिर हुन पुगेका कुलमान घिसिङलाई पनि साथमा लिएर अघि बढ्ने रणनीति बनाउनुपर्छ।
आवश्यकता भन्दा पनि नेता कार्यकर्ता रिझाउन विकास बजेटलाई कनिका झै नछरी आवश्यकता र परिणाममुखी ठुला विकासका पूर्वाधारहरूमा लगानी गर्ने, सरकारी बजेटले मात्र होइन, जनताहरूको श्रमदानबाट पनि मुलुक बनाउने उदेश्यका साथ हरेक स्थानीय तहहरूमा श्रम बैंकहरूको स्थापना गरी त्यसमा आबद्ध व्यक्तिहरूलाई राज्यले विशेष प्रकारको सुविधा दिने, एक महिना भन्दा बढी जेल सजाय काट्नुपर्ने व्यक्तिहरूलाई अनिवार्य रूपमा श्रम शिविरमा खटाइ उनीहरूको आर्थिक बोझ राज्यले नबेहोर्ने, नेपाली उत्पादनलाई प्रोत्साहन र आयातलाई निरुत्साहित गरी स्थानीय स्तरमा उत्पादन हुने वनस्पति तथा खाद्य वस्तुहरूलाई विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा बनाई खान सिकाउने, प्राकृतिक तथा खानीजन्य वस्तुहरूको खोजी, प्रयोग, वितरण र व्यवस्थापन गरी खोला, नदी–नाला, खोल्सा, कुवा–कुलेसोमा खेर गइरहेको पानीलाई आधुनिक तथा घरेलु प्रविधिमार्फत् सिँचाइमा प्रयोग गरी एकीकृत व्यावसायिक कृषि आधुनिकीकरण र बस्ती तथा पूर्वाधारहरूको विकास निर्माण गर्ने नीति लिनुपर्छ।
सांसद मन्त्री बन्न नपाउने, विज्ञहरूलाई मन्त्री बनाउने र सांसदहरू चाहिँ नीति निर्माण, खबरदारी र सहजीकरणमा लाग्ने, सरकारबाट सेवा सुविधा लिने नेता, कर्मचारी र उनीहरूमा आश्रित परिवारका सदस्यहरूको पठनपाठन, उपचार तथा कार्यालय पोशाक अनिवार्य रूपमा सरकारी शिक्षण संस्था, अस्पताल र नेपाली उत्पादन हुनुपर्ने, राष्ट्रसेवकहरूलाई कार्यस्थलमा अभद्र व्यवहार कुटपिट गरेमा दोब्बर सजाय गर्ने, राष्ट्रसेवकले नागरिकलाई गर्नुपर्ने व्यवहार सेवा नदिएमा सेवाबाट तुरुन्त बर्खास्त गरी कारबाही गर्ने, कर्मचारीहरूको तलबमा कुल बजेटको ३८ प्रतिशत भन्दा माथि नजाने, पाँच सय र एक हजारका नोटहरूलाई प्रतिबन्ध लगाई लुकाएर राखेका कालोधनहरू निकाल्ने, स्विस बैंक लगायत ‘ट्याक्स हेभेन’ भनेर चिनिएका मुलुक र बैंकहरूमा लुकाएर राखेका रकमहरूको यथाशीघ्र छानबिन गर्ने, पुराना दलहरूले खाएका उद्योगहरूको पुनः सञ्चालन अनुसन्धान गरी योग्य उद्योगहरूलाई सञ्चालनमा ल्याउनुका साथै यथाशाक्य चाँडो एउटा मल उद्योग र अन्य नयाँ उद्योगहरूको लागि पहल गरी, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरू पनि पूर्ण सञ्चालनमा ल्याउनुपर्छ।
आगामी स्थानीय निर्वाचन २०८४ अगावै ०४६ सालपछिका सबै ठुला भ्रष्टाचारका काण्डहरूको छानबिन पूरा गरी दोषीहरूबाट सावा–ब्याज असुल गरेर कारबाही गर्ने, सबै सरकारी निकायहरूमा बिना झन्झट, पावर, भनसुन, घूसपैठ, सरल, सहज र सम्मानित तरिकाले नागरिकले आफ्नो काम गर्न सक्ने, विदेशमा रहेका नेपालीहरूले नोट मात्र होइन, तर सरल र सहज तरिकाले भोट पनि पठाउन सक्ने व्यवस्था गर्दै प्रदेशसभामा रहेका ५५० जना सदस्यहरूको पद खारेज गरी, त्यो सभाका सदस्यहरू सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरू रहने र जनताबाट प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ।
यति काम गरेपछि मुलुकमा सुशासन छाउँछ, र देश आर्थिक समृद्धिको मार्गमा प्रवेश गर्छ। तर यसरी मुलुकमा सुशासन स्थापना गरेर आर्थिक समृद्धिको बाटोमा डोर्याउने काम सरकार एक्लैले गर्न सक्दैन। किनकि, परिवारका सदस्यहरू भङ्ज्याहा भयो भने घरमुलीको एकल प्रयास असफल भए झैं रास्वपा सरकारमा भए पनि प्रतिपक्षीहरूले विरोधका लागि विरोध गर्ने, राम्रोलाई पनि नराम्रो भन्ने, ढुंगामुढा, तोडफोड, आगजनी मात्र गर्ने, नेतालाई सबैभन्दा माथि राखेर उसैको अन्धभक्त भइ चाकडीमा लागेर विध्वंस मच्चाउँदै सच्चिने भन्दा सकिने बाटोमा हिँड्ने, रास्वपाले पनि कमजोर प्रतिपक्षको भूमिकामा पुगेका पुराना दलहरूलाई “तपाईंहरूले व्यवस्था परिवर्तन गरेर योगदान दिनुभएकोमा धन्यवाद” भन्दै, “अब हामीलाई जनताको अवस्था परिवर्तन गर्न सहयोग गर्नुहोस्” नभन्ने अनि नागरिकहरू पनि सरकारलाई सहयोग गर्नुको सट्टा भङ्ज्याहा मात्र भएर हिँड्ने हो भने, सरकारले मुलुकको विकास र समृद्धिमा लगानी गर्नुपर्ने उसको क्षमता, स्रोत, साधन र सिर्जनशीलता ती विध्वंसकारी भङ्ज्याहाहरूलाई व्यवस्थापन गर्नमै सक्छ।
अन्ततः मुलुकको विकास र समृद्धिले हार्छ अनि अभाव र गरिबीले राज गर्छ। अनि उहीँ उखान दोहोरिन्छः “सतीले सरापेको देश”। तर दोहोरिनुपर्ने उखान चाहिँ “के गरिस् मङ्गले आफ्नै ढङ्गले” हो। त्यसैले पुराना दलहरूको नकारात्मक योगदान, जेन्जीहरूको बलिदान र नागरिकहरूको मतदानको फ्युजनबाट उत्पन्न भएको मुलुकलाई समृद्ध बनाउने यो ऐतिहासिक अवसरलाई आजैबाट सदुपयोग गरेर नेपाल आमालाई हसाउनु हामी सबैको जिम्मेवारी हो।
लेखकलाई प्रतिक्रिया पठाउनका लागि [email protected]

