जसपालाई फुटाउन केपी ओलीले नचाएको तरवार नचाएर शेरबहादुरले केपीजीकै पार्टी फुटाइदिए । अर्कोले फुटाइदिदा फुट्ने पार्टी पनि के पार्टी ? भनेपछि थुप्रै पार्टीहरूको एकता त नियम कानूनको बन्धनले पो बाँधिएको रहेछ । पार्टीको आदर्श, उद्देश्य र सपनाहरूले होइन रहेछ ।
पार्टीका इन्द्रजालजस्ता घोषणापत्र र जादुगरले गर्नेजस्ता लठ्ठ पार्ने भाषण त सब बेकार नै रहेछन् । यो बेला बालकोटको बार्दलीमा बसेर केपीजी के सोच्दै होलान् ? जे सोचे पनि उनले आत्मसमिक्षा गर्ने कुरा चै सोचेका छैनन् । बदला लिने समय र मौकाको बारेमै उनी हिसाब किताब गर्दै होलान् ।
अँ अनि माधव नेपाल पक्षका दोस्राे पुस्ताका भनिएकाहरूको कित्ता परिवर्तनले पनि के प्रष्ट भयो भने उनीहरूको कुनै खास कित्ता थिएन । केपीजीले भित्तामा पुग्ने गरी पेल्दा ती माधव कित्तातिर पर्न पुगेका रहेछन् ।
अहिले ओलीजीले फित्ता लाएर तानेपछि ती केपी कित्ताका हुन पुगे । विचार, सिद्धान्त, आदर्श, निष्ठा आदिलाई बिर्सेर ब्यक्तिगत पद प्रतिष्ठाको भोक तिर्खामा डुबेका यस्ता लोभीपापीहरू जुन पुस्ताका भए पनि र जुनै गुटमा बसे पनि देशले यीबाट के आशा गर्न सक्छ र ?
जे होस्, देशमा राजनीतिक दलको फेरि एउटा पसल खुल्यो । पेडा भनेर पिठोको डल्ला बेच्नेहरूकै बगलमा थप त्यस्तै एउटा पसल खुल्यो । यसबाट नेपाली जनताको जीवनमा केही नयाँ हुनेवाला भने छैन ।
(बलराम तिमल्सिनाकाे फेसबुकबाट)