जसपाभित्रकाे विवाद र जनजाति नेताको हविगत

जनता समाजवादी पार्टी (जसपा) को अहिलेको विवाद मूलतः अध्यक्ष उपेन्द्र यादवको ‘मोनोपोली’ भयो भन्नेबाट जन्मेको हो । विधान बमोजिम शीर्ष नेतृत्व तहमा खाली भएको पदपूर्ति गर्न सके पार्टीले गर्ने महत्वपूर्ण निर्णयहरु एकल नभएर सामूहिक हुन सक्थो र त्यसले पार्टीभित्र समावेशी, सामूहिक, विधानसम्मत र एउटा लोकतान्त्रिक प्रणालीको अभ्यास हुन सक्थ्यो भन्ने हो ।

अहिले विधान बमोजिम खाली भएको एउटा अध्यक्ष पदमा वरिष्ठ नेता अशोक राईलाई ल्याउने चर्चा छ । यसले पार्टीभित्र विवाद ल्याएको छ । जसपाका जनजाति नेताहरु नै अशोक राई अघि बढ्ने कुराको विरोधमा देखिनु दुखद र आश्चर्यजनक छ । जसपाभित्र राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङ अहिले अशोक राई अघि बढेको देख्न चाहेका छैनन् । यसको मतलब जसपाभित्र जनजाति नेताहरुको एकता छैन । यसलाई बुझ्न जसपा निर्माणको पृष्ठभूमि पनि हेरौं ।

२०७२ साल जेठ ३२ गते युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टी, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबीच एकता भयो । नयाँ पार्टीको नाम संघीय समाजवादी फोरम (ससफो) राखियो । त्यसले नेपालमा एउटा समावेशी चरित्रको पार्टी निर्माण भएको सन्देश त दियो । तर त्यो एकता वास्तवमा रुपमा मात्रै भएको रहेछ, सारमा एकता भएको थिएनछ ।

किनभने २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टीले देशभरबाट १,२१,२७४ समानुपातिक मत पाएको थियो । तर, २०७४ सालको निर्वाचनमा मधेसको २२ जिल्ला छोडेर ससफोले ल्याएको समानुपातिक मत ४० हजार पनि कटेन । २०७० सालको चुनावमा १५,२२५ समानुपातिक मत पाएको खस समावेशी पार्टीसमेत मिसिएर बनेको दलको जनमत बढ्नुको सट्टा घट्यो । वास्तवमा दुवै दलको आधार क्षेत्र पहाड नै थियो ।

हिजोका ससपाका नेताहरुलाई भने उपेन्द्र र बाबुरामले बिरालोले मुसा खेलाए जसरी खेलाइरहेका छन् । उपेन्द्रले पनि जनजातिलाई नै बाबुरामले पनि जनजातिलाई नै । कालो र सेतो बिरालोले मुसा खेलाएजस्तै ।

यस विषयमा पार्टीभित्र गम्भीरतापूर्वक छलफल नै भएन । बरु पार्टीमा शीर्ष नेताहरुको चाकरी गर्ने गणेश प्रवृत्ति र नेतृत्वले पनि त्यही व्यवहार खोज्ने गलत प्रवृत्तिको विकास भयो । व्यवहारतः पार्टी कांग्रेस, एमालेजस्तै पुरानै पारामा हिड्यो । पार्टीभित्र खास वैचारिक नेताको पनि अभाव रह्यो । पार्टीले वैचारिक तथा सांगठनिक रुपमा कार्यकर्ताहरुलाई राम्रो प्रशिक्षण दिन सकेन । वैचारिक र उर्जाशील कार्यकर्ताहरुको उत्पादन हुन सकेन । पार्टीको विचारलाई मजबुत बनाउने र सोको राम्रो व्याख्या गर्न सक्ने नेता भएन । विचारले धारिलो नेतृत्व र उर्जाशील कार्यकर्ता जन्माउने कुरामा पार्टी असफल भयो ।

एकतापछि पार्टी बनाउने होइन, बरु भक्तहरु बढ्न थाले । यही गन्जागोलकै बिचमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकता भयो । महन्थ ठाकुर, राजेन्द्र महतोको राष्ट्रिय जनता पार्टी (राजपा) सँगको एकता पनि आकस्मिक रुपमै भयो । वैचारिक र नीतिगत विषयमा कुरै नगरी एकता गरियो र पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखियो । राजपासँगको एकता जसरी रातारात भयो विभाजन पनि त्यसरी नै भयो, यसमा मूलतः भूराजनीतिक चलखेलले काम गरेको थियो ।

पार्टीभित्र विचार, संगठन र नेतृत्व । तीन पक्ष महत्वपूर्ण हुन्छ । जसपाले समावेशी र पहिचान त भन्यो तर त्यसमाथि गहन छलफल गरी स्पष्ट निचोड निकालेन । किरात प्रदेश भन्यो, लिम्बुवान प्रदेश भन्यो तर गहिरो छलफल गरेन । र, नेतृत्वमा चाहिँ दम्भ र शक्तिमा बसिरहने प्रवृत्ति स्थापित भयो ।

वरिष्ठ नेता अशोक राई ‘रिजर्भ’ खालका नेता हुन् । उनको कमजोरी खास मान्छेलाई सूचना पनि नदिने, अन्तरमुखी हो । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ‘पपुलिजम’ मात्रै भए । उनको पनि पार्टीभित्र छलफल गर्ने र लोकतान्त्रिक तरिकाले चल्ने शैली छैन । पार्टीभित्र समस्या आएपछि समाधान गर्नेमा पनि उनको नेतृत्वदायी भूमिका देखिदैन ।

नेतृत्वले त जटिल भन्दा जटिल समस्यालाई पनि समाधान गर्नुपर्छ । बरु पार्टीभित्र अनेक स्वार्थ समूहको विकास भयो । डा. बाबुराम र उपेन्द्र दुवैले आ–आफ्नो समूह बनाए । अशोक चाहिँ पहिला एमालेमा हुँदा पनि स्वार्थ समूहमा नहिडेका नेता हुन् । उनी सबैको साझा नेता हुने, साझा हुन खोज्ने उनको स्वभाव छ ।

उपेन्द्र यादवको समस्या चाहिँ दम्भ नै हो । मधेसको म मात्रै त्यस्तो एउटा नेता हुँ भन्ने मुङ्ग्रे घमण्ड छ उनको मनमा । उनको भित्री आत्मामा त्यही छ । विगतलाई हेर्दा पनि उनको समानान्तर नेताहरु उनको आसपास टिक्नै सक्दैनन्, वा टिक्न दिइँदैन ।

हिजो मधेस मुद्दा र मधेस आन्दोलन लागि मधेसी जनअधिकार फोरम बनेपछि भएको पहिलो संविधानसभाको निर्वाचनपछि चौथो ठुलो दलको नेता थिए उनी । नेपालमा संघीयता स्थापित हुनुमा मधेस आन्दोलन र उपेन्द्रको ठुलो भूमिका छ । तर संविधानसभामा ५२ सिटसहित चौथो ठुलो दलको नेता भएपछि उनले समकक्षीहरुलाई क्रमशः पाखा लगाउँदै गए । उनको साथमा जेपी गुप्तादेखि विजय गच्छदारसम्म कोही टिक्न सकेनन् ।

खासमा उनीमा हार्दिकताको राजनीति छैन । मधेसमा म कुनै पनि हालतमा शक्तिमा रहिरहन्छु भन्ने दम्भ छ । ससपासँगको एकता केवल पहाडमा पनि आफ्नाे स्वीकार्यता बढाउन लागि मात्र मानिदिएको हो । उनीमा राष्ट्रिय नेताको चरित्र छैन । उनीसँगै भएको मान्छेहरु टाढा टाढा जान्छन् र उनी नयाँ नयाँ पात्रको प्रयोग गरिरहेका हुन्छन्, जसलाई जतिखेरसम्म ‘डिमोरलाइज्ड’ गर्न सकिन्छ । अहिले राजेन्द्र र रकमलाई उपेन्द्रले गरेको पनि त्यति नै हो ।

हिजो ससपा हुँदाका नेताहरु जाने गए । एमालेमा फर्किने फर्किए । तर अहिले पार्टीभित्र रहेका ए लेबलका नेताहरु एक ठाउँमा नहुनु दुर्भाग्य हो । रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, हेमराज राई र अशोक राई । मन्त्री भइसकेका यी नेताहरु एक ठाउँमा नहुनु पार्टीभित्र जनजातिको हविगत खुस्कदै जानु हो । जनजाति आन्दोलन कमजोर हुनु पनि हो । यही कारण अशोकलाई विधानसम्मत एउटा अध्यक्ष पदमा अघि बढाऔं भन्दा जनजाति नेता नै बाधक भए ।

जसपामा नयाँ शक्तिबाट आएका नेताहरु सब एकै ठाउँमा छन् । बरु बाबुरामले उपेन्द्रका केही नेताहरु आफ्नाे लाइनमा उभ्याइसकेका छन् । तर, हिजोका ससपाका नेताहरुलाई भने उपेन्द्र र बाबुरामले बिरालोले मुसा खेलाए जसरी खेलाइरहेका छन् । उपेन्द्रले पनि जनजातिलाई नै बाबुरामले पनि जनजातिलाई नै । कालो र सेतो बिरालोले मुसा खेलाएजस्तै ।

उपेन्द्र र बाबुरामको टकराबमा अशोक राई परे । किनभने अशोकले मलाई अध्यक्ष चाहियो भनेकै छैन । उनी पद लोलुप नेता पनि होइन । बरु बाबुरामले नै अशोकलाई अध्यक्ष बनाऔं भनेका हुन् । हिरा काट्ने हिरैमा राखेर भनेजस्तै जनजातिलाई काट्न जनजाति नै चाहिन्छ भन्ने उपेन्द्रले पनि नबुझ्ने कुरै भएन ।

बाबुरामले चाहिँ अशोकलाई अध्यक्ष बनाएपछि उपेन्द्रको मोनोपोली कम हुन्छ भनेरै कदम चालेका हुन् । अन्ततः जसपाभित्र जनजाति नेताहरु एक नभएसम्म मुसा खेल चलिरहने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

3 COMMENTS

  1. अनि बाहुनको मात्रै विरोध गरेर हुनेरहेछ त ! हामिमै एकता छैन अनि अरुलाई सरापेर हुन्छ !! यस्तै हो भने भोलि यी पार्टीहरुको इतिहास दिउसै राको बालेर खोज्नु पर्ने देखिन्छ ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्