धरानमा मेयर हर्क साम्पाङले ज्यादै दुःख गरेर कोकाहा खोलाबाट जोडेको खानेपानीको पाइप खरानी हुने गरी कसले किन डढेलो लगाएको होला, अचम्म लाग्छ ।
फागुन-चैतको सुख्खा र उराठलाग्दो जङ्गलको पत्करमा आगो झोस्ने मान्छेको मति देखेर माया पनि लाग्छ, घरी जङ चल्छ ।
तर अचेल पहाडका जङ्गलमा मान्छेले डढेलो लगाउनुको एउटा कारण चाहिँ ‘बाँदरले दिने दुःखबाट मुक्ति पाइने’ भन्ने पनि रहेछ ।
मैले यसपालि खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायत धेरै ठाउँकाे जङ्गलमा पटक पटक डढेलो लागेको देखेँ ।
साकेला-५ कात्तिकेमा रहेको मेरो घरको आँगनको डिलमै बसेर दन्किरहेको आगोले पारिको जङ्गल स्वाहा पारेको हेरिरहेँ ।
अनि, यति सुन्दर प्रकृतिको विनाश हुने गरी किन मान्छेले डढेलो लगाएको होला भन्ने प्रश्नको उत्तर खोज्न थालेँ ।
‘झाडी वन-जङ्गलमा डढेलो लगाएदिएपछि रुखपात पातलो हुन्छ र त्यसमा बाँदर बस्दैन’ भन्ने मान्छेहरूकाे मनोभाव बनेको रहेछ ।
अनि जानाजान पत्करमा ग्यास लाइटर बालिदिने रहेछन् ।
गाउँको मान्छेहरूका लागि किरा-फट्याङ्गा वा जङ्गली जनावरले दिने दुःखमध्ये यो (बाँदरले दिने दुःख) नै सबै भन्दा ठुलो दुःख बनेको छ हिजोआज ।
बाँदरले दिने दुःख
गाउँको मान्छेहरूका लागि किरा-फट्याङ्ग्रा वा जङ्गली जनावरले दिने दुःखमध्ये यो (बाँदरले दिने दुःख) नै सबैभन्दा ठुलो दुःख बनेको छ हिजोआज ।
यो गाउँको मात्र होइन देशकै समस्या हाे ।
पहिलो कुरा त, अचेल गाउँमा काम गर्न सक्ने मान्छे नै छैन । दोस्रो, भएका बुढाबुढीहरूले सकीनसकी लगाएको बाली बाँदरबाट बचाउनै गाह्रो ।
पहिले त गाउँ भरिलो थियो नि, हाहा-होहो यतै-उतै त्यतै युवा केटाहरू ।
उनीहरूले छेकेर कुटेरै बाँदरलाई मारिदिएको घटना मैले पनि देखेको छु, सायद त्यो २५-२६ वर्ष अघिको हुनुपर्छ ।
अहिले त बाँदर पो मान्छेमाथि झम्टेला झैं गर्न थालेकाे छ ।
कोही नभएको मौका पारेर घरको तलादेखि भकारीको अन्न र किचनमै पसेर बासीभात समेत खाइदिन्छन् ।
सेनामेनासहितको बाँदरहरूले गाउँमा राज गर्न खोज्छन् ।
बाँदरले दिइरहेकाे दुःखबारे गाउँमा धेरै चर्चा भइसकेको छ । यसमा स्थानीय सरकार वा तिनका प्रतिनिधिहरू भुक्तभोगी हुन् ।
‘लौ न कुनै आइडिया निकाल्नुपर्यो’ भनेर धेरैचोटि गुहार मागिसके किसानहरूले ।
गएको स्थानीय चुनावमा प्रायः उम्मेदवारको प्रतिबद्धता-पत्रमा ‘बाँदरले दिने दुःखबाट छुटकारा दिलाइनेछ’ भन्ने नारा राखेका थिए ।
तर, नारा लगाएर जित्नेले समेत अहिलेसम्म कुनै प्रभावकारी ‘आइडिया’ निकाल्न सकेकाे छैन ।
अनि त किसानहरूले नै निकाले जङ्गलको पत्करमा आगो झोस्ने उपाय ।
अवश्य पनि यो उपाय राम्रो होइन । डढेलोले प्रकृति र पर्यावरण यसरी विनाश गरिरहेको छ कि जसको असर प्रकारान्तरमा हामीमै परिरहेको हुन्छ ।
वन-जङ्गल वा प्रकृतिको विनाशले पृथ्वी र मानवजीवनलाई कसरी असर पार्छ भन्ने विषयमा सरकारले प्रभावकारी तवरले जनजागरण चलाउनुपर्छ ।
बाँदरले दिने दुःखबाट मुक्ति पाउन जङ्गल मास्ने गलत उपायको विकल्प खोज्नुपर्छ ।
किसानलाई बाँदरले दिने सास्तीबाट कसरी छुटकारा दिने भन्ने विषयमा तीनै तहको सरकारहरूले गम्भीर भएर कुनै न कुनै उपाय निकाल्नैपर्छ ।
डढेलो लाग्दाकाे खुसी !
हरेक साल डढेलोले जनधनको क्षति गरिरहेकै छ । जङ्गलका किरा-फट्याङ्ग्रा र सुन्दर जनावरहरू कति मरे हिसाब गर्ने कुरै भएन ।
बचेका जनावरहरू घाँस-पात खान त के सास फेर्न समेत मुस्किल परेर कति दिनसम्म तड्पिरहन्छन् ।
मैले बचपनको प्रसंग निकाल्न खोजेको थिए । डढेलो लाग्दा म खुसी हुन्थे ।
साप्सु खाेलामा माछा मार्न जानेहरूले राति घर फर्कदा राँकाेकाे झिल्काे जङ्गलमा खसाइदिन्थे । काेही मुर्खले त माछा नपरेकाे झाेकमा जानाजान पत्करमा राँकाे झाेसिदिन्थे ।
खाेला छेउकाे डढेलाे छिनभरमै माथि डाँडाकाे जङ्गलमा आइपुग्थ्याे ।
दिउसाे होस् वा बेलुकी, डढेलो देख्नासाथ हामी हातमा स्वाउला बोकेर तुफान जङ्गल पुग्थ्यौं, जहाँ हामी हरेक दिन घाँस-दाउरा काट्न जान्थ्यौं ।
‘कसले लगाएछ डढेलो, छिटाे मार्न जाऔं’ भन्दै कम्मरमा डोरीवाला दापसहितको खुकुरी भिरेर कुदेर जङ्गल पुगेको याद गर्दा अचेल मनमनै हाँसो लाग्छ ।
मलाई नै डढेलोले वातावरण विनाश गर्छ, मान्छेले दुःख सास्ती भोग्नुपर्छ भन्ने धेरै ज्ञान थिएन ।
तर स्वाउलाले आगोलाई हिर्काउँदै निभाउदाखेरि खुब मज्जा लाग्थ्यो, आगोमाथि ठुलाे विजय गरियाे जस्ताे लाग्थ्याे ।
त्यसबेला त डढेलो निभाएर घर आउँदा हाम्रा बाउ-आमा (किसान) पनि खुसी देखिनुहुन्थ्यो ।
तर, अचेल तीनै बाउ-आमा नजिकैको जङ्गलमा बाँदर नबसून् भन्दै डढेलो लगाउनुहुन्छ । डढेलोले बचेको खेतबारी नजिकैका रुखहरू फेदैमा काटिदिनुहुन्छ ।