राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली एकमात्रै विकल्पः अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली एक मात्रै विकल्प रहेको बताएका छन् ।

समाजवादी युवा संघ नेपालको जनकपुरधाममा मंगलबारदेखि सुरु राष्ट्रिय भेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता बढाएकोले त्यसलाई अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीकाे विकल्प नरहेको बताए ।

‘अहिलेको व्यवस्थाले निर्वाचन प्रणाली महंगिएको छ, करोडौ खर्चेर चुनाव जितेकाहरुबाट सेवाको अपेक्षा गर्न सकिदैन,’ उनले भने, ‘निर्वाचन प्रणाली फेरौ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔ । त्यसले भ्रष्टाचार नियन्त्रण गर्नुका साथै समृद्धिको बाटोमा लाग्न मद्दत पुर्याउँछ ।’

सांसदहरु मन्त्री बन्ने व्यवस्थाको अन्त्य भए चुनावमा हुने खर्च आफै नियन्त्रित हुने र भ्रष्टाचार पनि अन्त्य हुने उनकाे भनाइ छ ।

हतारमा ल्याइएको संविधानको बेथितिहरु एकपछि अर्को उजागर हुन थालेको भन्दै अध्यक्ष यादवले पहिचानसहितको संघीय पुनःसंरचना र निर्वाचन प्रणालीको विषयमा संविधान संशोधनको विकल्प नरहेको बताए ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले परिवर्तनका सम्वाहक रहेका युवाहरु जसपाको प्रमुख प्राथमिकतामा सुरुदेखि रहँदै आएको र त्यसैअनुरुप आफनो नेतृत्वको मधेश सरकारले युवाहरुको शिक्षा र रोजगारको क्षेत्रमा अघि बढेको बताए  ।

युवा संघका अध्यक्ष एवम् मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको अध्यक्षतामा भएको उद्घाटनसत्रमा जसपाका कार्यकारिणी सदस्य शुशीला श्रेष्ठ, राजनीतिक समिति सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादव, राजनीतिक समिति सदस्य लालकिशोर साह, प्रदेशसभा सदस्य रामअशिष यादव, अशोक यादवसहितका नेताहरुले शुभकामना दिएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्