युवराज कार्कीले खोले नयाँ पार्टी, डा. केशवमान शाक्य र गणेश योञ्जन पनि संगठित

काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग भएका युवराज कार्कीले ‘नेपाल राष्ट्रिय जागरण अभियान’ नामक संगठन निर्माण गरेका छन् ।

जसपाका केन्द्रीय उपाध्यक्ष रहेका कार्की गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनताका सो पार्टीबाट अलग भएका थिए ।

उनी जसपा नेतृत्वकाे कार्यशैलीप्रति असहमति जनाउँदै पार्टीबाट बाहिरिएका थिए ।

गत माघ २२ गते काठमाडौंमा आयोजित एक राष्ट्रिय भेलाले कार्कीको अध्यक्षतामा ८३ सदस्यीय अभियानकाे केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

नेपाल राष्ट्रिय जागरण अभियानलाई राजनीतिक दलकै रुपमा लिइएको छ ।

गत माघ २२ गते काडमाडाैंमा आयोजित भेला ।

खस जातिकाे पहिचान र अधिकारको आन्दोलनलाईसमेत नेतृत्व गर्दै आएका कार्कीलाई पूर्वमन्त्री डा. केशवमान शाक्यले पनि साथ दिएका छन् ।

डा. शाक्य कार्कीले नेतृत्व गरेको अभियानकाे सल्लाहकार समितिकाे अध्यक्ष बनेका छन् ।

नेपाल राष्ट्रिय जागरण अभियानको सहअध्यक्षमा दानबहादुर विश्वकर्मा छन् । उनी पहिले जसपाकै दलित (शिल्पी) नेता थिए ।

महन्थ ठाकुर र राजेन्द्र महतो समूहले जसपा विभाजन गरी लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्दा उनी सोही पार्टीमा लागेका थिए ।

अभियानका उपाध्यक्षहरुमा मिननाथ देवकोटा (रसुवा), डा. दीपेन्द्र विक्रम सिजापति (ललितपुर), मित्र चापागाईं (इलाम), सुन्दर योञ्जन (इजरायल), महेन्द्र नेपाली (सुर्खेत) र डा. मनु मिश्र (झापा) रहेका छन् ।

महासचिवमा रामहरि कार्की र उपमहासचिवमा टेकबहादुर थापा छन् भने रमादेवी बानिया, ज्ञानकुमार परियार र कैलाश भट्ट सचिव छन् ।

उपमहासचिव थापाका अनुसार पूर्वराजदूत डा. गणेश योञ्जन र कृषिविज्ञ मदन राई पनि अभियानमा जाेडिएका छन् ।

डा. योञ्जन जसपाका सल्लाहकार थिए । उनी अभियानमा पनि सल्लाहकार समितिमै रहेकाे थापाले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्