काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिए प्रचण्डमात्रै नभएर तत्कालीन सात राजनीतिक दलका नेताहरु पनि जिम्मेवर रहेको बताएका छन् ।
शनिबार संवाद डबलीमा ‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय व्यवस्थापन’ विषयक अन्तरक्रियामा गजुरेलले शान्ति प्रक्रियामा तत्कालिन विद्रोही नेकपा (माओवादी), सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको बताए ।
उनले शान्ति प्रक्रियाको मर्मअनुसार संक्रमणकालिन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माधवकुमार नेपाल, बबुराम भट्टराई जिम्मेवार रहेको बताए ।
उनले भने, ‘जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ, हातहती हुन्छ, त्यो अपराधिक केस लगाएर हुँदैन, यो त शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्छ ।’
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीहरुमाथि नै मुद्दा लगाइएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘यो परिवर्तन ल्याउने माओवादी, बलिदान गर्ने माओवादी, जनताको पक्षको लड्ने माओवादी तर माओवादीमाथि नै मुद्धा, यो भन्दा ठूलो अत्याचार अरु के हुन्छ ?’