काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालीन घटनालाई नियमित अदालती प्रक्रियामा लिए प्रचण्डमात्रै नभएर तत्कालीन सात राजनीतिक दलका नेताहरु पनि जिम्मेवर रहेको बताएका छन् ।

शनिबार संवाद डबलीमा ‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय व्यवस्थापन’ विषयक अन्तरक्रियामा गजुरेलले शान्ति प्रक्रियामा तत्कालिन विद्रोही नेकपा (माओवादी), सात राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको बताए ।

उनले शान्ति प्रक्रियाको मर्मअनुसार संक्रमणकालिन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माधवकुमार नेपाल, बबुराम भट्टराई जिम्मेवार रहेको बताए ।

उनले भने, ‘जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ, हातहती हुन्छ, त्यो अपराधिक केस लगाएर हुँदैन, यो त शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्छ ।’

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीहरुमाथि नै मुद्दा लगाइएको भन्दै आपत्ति  जनाए ।

उनले भने, ‘यो परिवर्तन ल्याउने माओवादी, बलिदान गर्ने माओवादी, जनताको पक्षको लड्ने माओवादी तर माओवादीमाथि नै मुद्धा, यो भन्दा ठूलो अत्याचार अरु के हुन्छ ?’

Please enter your comment!
Please enter your name here