काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले मन्त्रीले भाषण गर्नमा बल गर्न नहुने बताएका छन् ।
‘मन्त्री भनेको त कार्यकारी पद हो, काममा पो जोड दिनुपर्छ,’ शनिबार काठमाडौँको शिवपुरीमा आयोजित जनता समाजवादी पार्टी नेपालनिकट कानुन व्यवसायीहरुको संगठन ‘संघीय कानुन व्यवसायी संघ’को पहिलो राष्ट्रिय सम्मेलनमा उनले भने, ‘काम गर्न छोडेर, फाइल घर्रामा थन्क्याएर भाषण गर्न कुँद्नु हुँदैन । मन्त्रीले भाषणमा बल गर्नु हुँदैन ।’
उनले नेपालका नेताहरुले काम कम गर्ने, धेरै भाषण गर्ने र कहिलेकाहीँ धेरै बोल्दा कुरो बिग्रिने गरेको बताए ।
उनले भने, ‘मेरो अनुभवले के बताउँछ भने हामी काम कम गर्छौं, भाषण धेरै गर्छौं अनि धेरै कुरा बोलेर धेरै कुरा बिगारिराखेका पनि हुन्छौं ।’
उनले आफूलाई पार्टीका नेताहरुदेखि पत्रकार र शुभचिन्तकहरुले पटक-पटक मिडियामा अन्तर्वार्ता दिनुपर्यो, मिडियामा देखिनुपर्यो भनेर सुझाब दिने गरेको प्रसंग निकाल्दै आफू अहिले कार्यकारी पदमा रहेकोले मिडियामा अन्तर्वार्ता वा सार्वजनिक कार्यक्रममा जाने भन्दा पनि मन्त्रालयमा बसेर जनताको सेवाको काममा नै लाग्ने प्रष्ट पारे ।
उनले यतिखेर आफूलाई भाषण गर्ने कार्यक्रममा नबोलाउन आग्रह गर्दै भने, ‘मैले यहीँ तर्कका आधारमा जे यहाँहरुलाई निवेदन गरेँ, मलाई भाषण गर्ने ठाउँमा धेरै नकुदाउनू । मैले त घरमा बसेर पनि फाइल पढ्नुपर्छ, समय थोरै छ, धेरै काम गर्नुछ ।’
जनताको सेवाको लागि राजनीति गर्छु भनेर लागिसकेपछि बिसै दिन बस्दा पनि दुइटा राम्रो काम गरौं भन्ने भावना मन्त्रीमा हुने उनको भनाइ छ ।
‘म भन्दा अगाडि मान्य शिशिर खनालजी हुनुहुन्थ्यो शिक्षामन्त्री । उहाँले त मन्त्रालयको ब्रिफिङ पनि सिध्याउन पाउनुभएन । बाइसै दिनमा सरकार छोड्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘यो सब राजनीतिक अस्थिरताको कारणले हाे ।’
उनले मन्त्रालयका फाइल अति संवेदनशील हुने र कुनै बेला एक घन्टा अगाडि सदर गर्दा त्यो एउटा समुदाय वा वर्गको प्रगतिमा ठुलो निर्णय हुन सक्ने बताए ।
उनले पार्टीका नेताहरु, सांसदहरु र जनताको प्रतिनिधित्व गर्ने संस्थाका प्रतिनिधिहरुले भाषण गरी विचारको माध्यमबाट सरकारलाई सुधार्न वा निर्देशित गर्नुपर्ने बताए ।
सो क्रममा उनले कानुन व्यवसायीहरु बौद्धिक भएको हुनाले भिडतन्त्रको मनोविज्ञानबाट निर्देशित हुन नहुने बताए ।
उनले पार्टीको विचार, सिद्धान्त र नीति मात्रै ठिक भएर नहुने नेतृत्वको शैली र तरिका पनि ठिक हुनुपर्ने बताए ।
‘द्वन्द्वात्मक भौतिकवादले हरेक वस्तुको परिणामलाई निर्धारण गर्ने तत्व आन्तरिक हुन्छ भन्छ,’ जसपा नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका मन्त्री राईले भने, ‘हाम्रो विचार ठिक छ, सिद्धान्त ठिक छ, कार्यशैली र हामीले हिँड्ने तरिकालाई पनि ठिक गर्न सक्यौं भने हामीलाई रोक्ने कसैको तागत हुँदैन ।’
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद सुशीला श्रेष्ठले संघीय कानुन व्यवसायी संघमा आबद्ध अभिवक्ताहरुले कानुनका ठेलीहरुका साथै पहिचान र समावेशिताको ठेली पनि बोकिरहेको बताइन् ।
उनले हाल देशमा भ्रष्टाचार र अनियमितता बढेकोले हरेक कानुन व्यवसायीहरुले हरेक विषयमा बहस गर्नुपर्ने बताइन् ।
जसपाका राजनीतिक समिति सदस्य तथा प्रवास विभागका इन्चार्ज आङकाजी शेर्पाले पहिचानको मुद्दा हात्तीको देखाउँने दाँत र खाने दाँतजस्तो हुन नहुने बताए ।
उनले पहिचानको मुद्दा नेपालमा जीवित रहेको तर पार्टीले विधान अनुसार संगठन निर्माण गर्न नसकेको गुनासो गरे ।
नेपाल बार एसोसिएसनकी उपाध्यक्ष आशा राईले न्यायधीश नियुक्तिमा समावेशी हुनुपर्छ भन्ने आवाज उठाइरहेको जानकारी दिइन् ।
जसपाबाट बारमा आफू एक्लै भए पनि डटेर मुद्दा उठाइरहेकी उनको भनाइ छ ।
सम्मेलनकाे दोस्रो दिन पनि बन्दसत्रअघि शिवपुरीस्थित नाभा रिसोर्टमा संघका अध्यक्ष दिपक राईको सभापतित्वमा औपचारिक कार्यक्रम गरिएको थियो ।
सम्मेलनकाे उद्घाटन भने शुक्रबार जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।