काठमाडाैं । कार्यबाहक प्रधानमन्त्री पुर्णवहादुर खड्काले सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानून छिट्टै ससंसदमा लैजान तयारीमा रहेको बताएका छन् ।
भिमसेन थापाको २४९औं जन्मजयन्तीका अवसरमा भिमसेन थापा स्मृति प्रतिष्ठानकाे मंगलबार काठमाडौंमा भएको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको प्रतिभालाई बाहिर जान नदिने उद्देश्यप्रति सरकार प्रतिवद्ध रहेको समेत प्रष्ट पारे ।
कार्यक्रममा यस वर्षको भिमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो ।
एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार कार्यवाहक प्रधानमन्त्री खड्काले केन्द्रका संस्थापक महावीर पुनलाई हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले यसअघि महावीर पुनसँग भएको सहमति कार्यान्वयनमा सरकार पुर्णरुपमा प्रतिवद्ध भएको पनि जानकारी दिए ।
कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भिमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठुलो गुन लगाएकाे उल्लेख गरे ।
उनले भिमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको विश्वास व्यक्त गरे ।
कावा प्रधानमन्त्री खड्काले भन्नुभयो, “थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो । सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्राका लागि प्रेरणाको स्रोत बनेको छ । उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो ।”