भोजपुरको लेगुवामा केपी ओलीले खाए झापड

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भोजपुरकाे लेगुवामा झापड हानिएको छ ।

झुलाघाट–चिवाभन्ज्याङ समृद्धि यात्रा गर्दै बिहीबार लेगुवा पुगेका उनलाई स्थानीय महेश राईले झापड हानेका हुन् ।

पहिचान पक्षधरहरुले कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै आन्दोलन गरिरहेकाे बेला पूर्वप्रधानमन्त्री समेत रहेका ओलीमाथि भोजपुर र धनकुटाकाे सिमाक्षेत्र लेगुवामा राईले झापड हानेका हुन् ।

झापड हान्नुकाे कारण अहिलेसम्म प्रष्ट खुलेकाे छैन । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएकाे छ ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई, युवा संघका इन्चार्ज महेश बस्नेतसहित कोशी प्रदेश नाममा हस्ताक्षर गर्ने ८२ जना सांसदहरुलाई सार्वजनिक कार्यक्रममा कालो झन्डा देखाउने र कार्यक्रम नै गर्न नदिने घोषणा पहिल्यै गरेको थियो ।

अध्यक्ष ओलीलाई बिहीबार नै भोजपुर बजारमा पनि पहिचान पक्षधर आन्दोलनकारीहरुले कालो झन्डा देखाएको थियो । प्रहरीले कालो झन्डा देखाउने ६ जनालाई पक्राउ गरेको छ ।

ओलीले पहिचानवादीहरुलाई होच्याउने र खिसिटिउरी गर्ने गरेको आन्दोलनकारीहरुको आरोप छ । उनीहरुले आफ्नाे क्षेत्रमा पहिचानविराेधीलाई प्रवेश गर्न नै नदिने बताएका थिए ।

तर हजाराै प्रहरीहरुकाे सुरक्षाकाे बिचमा उनी खोटाङ, भोजपुर हुँदै हाल धनकुटा पुगेका छन् ।

ओली सहभागी हुने कार्यक्रम बिथोल्ने नेतृत्व गरिरहेका पूर्वमन्त्री गोपाल किरातीसहित ९ जनालाई दुई दिन अघि नै खाेटाङबाट प्रहरीले पक्राउ गरेकाे थियाे ।

हाल प्रहरी प्रशासनले पहिचान पक्षधर आन्दोलनकारीहरुलाई ठाउँठाउँबाट पक्राउ गरिरहेकाे छ । जसबाट आन्दोलनकारीहरु थप आक्राेशित बन्दैछन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्