Tuesday, September 26, 2023

कम्युनिष्ट दलबाट सुरु भएको ‘निर्णय अवज्ञा’को क्रम जसपासम्म आइपुग्यो

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राईले कम्युनिस्ट दलबाट सुरु भएको ‘दल परित्याग, निर्णयको अवज्ञा, मन्त्री पदमा नियुक्ती र दलबाट कारवाही’को क्रम जसपासम्म आइपुगेको बताएका छन् ।

उनले यो क्रम अझै कति पटक हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई ‘प्रतिगामी’ भन्ने जसपाकै केही नेता ओली सरकारलाई टिकाउने र सरकारमा सहभागी समेत हुने गरी गतिविधि गरेपछि नेता राईले हिजो आफ्नाे ट्वीटर एकाउन्टबाट यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा जसपाले समेत हस्ताक्षर गरेको भए पनि जसपाका चार जना सांसदहरु पोखरेललाई समर्थन गरी सरकारमा सामेल भएका छन् ।

जसपाले एमाले नेता समेत रहेको पोखरेलविरुद्ध मतदान गर्न निर्देशन दिएको भए पनि सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा र कल्पना पाण्डेले पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएका छन् ।

जसपाले पार्टीको निर्णय अवज्ञा गरेका उनीहरुविरुद्ध स्पष्टीकरण सोधेको छ ।

जसपाभित्र पछिल्लो समय ओली सरकारलाई हेर्ने दृष्टिकोण समेत विभाजित बनेको छ । जसपाका दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारले आफूहरुको माग पूरा गर्न लागेको भन्दै ओली सरकारलाई समर्थन गरी सरकारमा जानुपर्ने मनस्थितिमा देखिएका छन् ।

तर, बाँकी नेताहरु भने ओली सरकारको विकल्पमा छन् । जसपाका लुम्बिनी प्रदेशका चार जना सांसदहरुले पनि ठाकुर र महतोको आडमा पोखरेल नेतृत्वको प्रदेश सरकारलाई समर्थन गरेका हुन् ।

उनीहरुको यो कार्यले जसपाका अधिकांश नेता कार्यकर्ता भने रुष्ट भएका छन् ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्