जनता समाजवादी पार्टी (जसपा) की नेतृ राधा तिमल्सिनाले बाहुन नेताहरूको चर्को विरोध गर्ने तर त्यही बाहुन नेताले नेतृत्व गरेको पार्टीमा जाने जनजाति नेताहरूबाट आफू अचम्मित भएको बताएकी छन्।
उनले बाहुनवादी संस्कृतिको पनि प्रगतिशील तप्का हुने र पार्टीभित्र तिनका लागि ढोका थुन्नु हुँदैन भन्ने धारणा राख्दा आफूहरूमाथि नै प्रश्न उठाउने जनजाति नेताहरू अन्ततः बाहुन नेतृत्वको पार्टीमा लाग्ने गरेको बताइन्।
तिमल्सिनाको यो भनाइ हालै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गरी नेपाली कांग्रेसमा फर्किएका डा. केके राईप्रति लक्षित देखिन्छ।
‘हामीले भन्यौं, बाहुनवादी संस्कृतिको प्रगतिशील तप्काले विरोध गर्छ र प्रगतिशील तप्कामा बाहुन पनि पर्छन्। तिनका लागि ढोका थुन्नु हुँदैन, बरु प्रोत्साहन गर्न सक्नुपर्छ,’ सामाजिक सञ्जालमार्फत उनले लेखिन्, ‘तर उल्टो हामीमाथि नै प्रश्न गर्ने साथीहरू किन बाहुन नेतृत्वको पार्टीमा फर्कनुभएको हो?’
राज्यसत्ता आफैं परिवर्तन नहुने उल्लेख गर्दै उनले परिवर्तन र मुक्तिका लागि राज्यसत्तामाथि बल प्रयोग आवश्यक रहेको बताइन्।
उनले उत्पीडित समुदायबाट नेता छनोट गरी सबै मिलेर शक्ति प्रदान गर्नुपर्नेमा, लाभको पदका लागि जनजाति नेताहरू बाहुनको पछि लाग्ने प्रवृत्ति देखिएको टिप्पणी गरिन्।
‘राज्यसत्ता त्यसै परिवर्तन हुँदैन, बल प्रयोग गर्नुपर्छ। बल प्रयोग गर्न बल चाहिन्छ। तपाईंहरू पुराना सत्ताधारी पार्टीहरू रोज्नुहुन्छ, अनि हुन्छ देश र जनताको मुक्ति?,’ तिमल्सिनाको प्रश्न छ, ‘तपाईंहरूलाई परिवर्तन वा मुक्ति चाहिएको होइन, लाभको पद चाहिएको हो, नत्र बदबास भन्दै आएका तपाईंहरूलाई बदमासकै पछि लाग्न लाज किन नलागेको?’