विष्णुकुमार राई ।

नेपाली कांग्रेसले खोटाङ जिल्लाका पार्टी सभापति विष्णुकुमार राईलाई पार्टीबाट निष्कासन गरेको छ ।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै राईलाई निष्कासन गरिएको हो ।

राईले पार्टीको उम्मेदवारलाई असहयोग गरेको बारे केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो ।

उनलाई स्पष्टिकरण सोधिएको थियो ।

तर स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै गत असार १७ गते बसेको समितिको बैठकले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

उनले बुधबार निष्कासन गरिएको पत्र प्राप्त गरे ।

खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ घर भएका उनले सामाजिक सञ्जालबाट उक्त पत्र साझा गर्दै ३५ वर्षदेखि राजनीतिमा लाग्दा कहिले प्राप्ति भएको र कहिले गुमाउनु परेको बताए ।

राईले २०७९ काे निर्वाचनमा पार्टीले आफूलाई अन्याय गरेकाेले त्यसका विरुद्धमा डटेरै लागेकाे बताए ।

उनले आफूलाई निष्ठावान खोटाङ्गे कांग्रेसीहरूको साथ रहने दाबी पनि गरे ।