जनता समाजवादी पार्टीकी सांसद लीला सिटौलाले अहिलेको राजनीति वार कि पारको अवस्थामा रहेको र यसबेला जसपा तटस्थ बस्न खोज्नु पार्टी र जनताप्रति धोका रहेको बताएकी छन् ।

जसपाभित्र महन्थ ठाकुर र राजेन्द्र महतोले केपी ओली सरकारबारे तटस्थ बस्ने बताएको विषयमा सांसद सिटौलाले भनिन्, ‘अहिलेको राजनीतिक अवस्था भनेको वार कि पारको हो, यो अवस्थामा तटस्थ बस्नु भनेको पार्टी र जनताप्रति धोका दिनु हो ।’

जसपाका नेता ठाकुर र महतो ओली सरकारलाई समर्थन गर्ने पक्षमा उभिदै आएका छन् ।

तर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई ओली सरकारलाई हटाउनुपर्ने पक्षमा रहँदै आएका छन् ।

नेता ठाकुर र महतो कुन नैतिकताले ओली सरकारलाई समर्थन गर्न खोजिरहेका छन् भन्ने जसपाका आम कार्यकर्ताहरुको प्रश्न छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत प्राप्त गर्ने उदेश्य राखेर राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत भोलि वैशाख २७ संसदको विशेष अधिवेशन बोलाएका छन् ।

वैशाख २७ पछि ओली सरकार ढल्ने निश्चित प्रायः भएको छ । ओली सरकारलाई जसपाका ठाकुर र महतो पक्षले अड्याउने प्रयास गरिरहेका छन् । तर, उनीहरु असफल हुनेछन् ।

ओली सरकारलाई मत दिने कि नदिने भन्ने विषय जसपाको संसदीय दलको बैठक हालसम्म बसेको छैन ।

सांसद सिटौलाले ठाकुर पक्षले सुरुमै पार्टीभित्र छलफल नै नगरी ओली सरकारसँग वार्ता गर्न कार्यदल बनाएको विषय नै पार्टी पद्धति विपरित र बदनियतपूर्ण रहेको बताइन् ।

उनले पार्टीभित्रका हरेक महत्वपूर्ण निर्णय बैठकबाटै हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘पूर्व राजपाको समूहबाट ओली सरकारसँग वार्ता गर्न जुन कार्यदल बनाइयो, त्यो नै बदनियतपूर्ण गरिएको काम हो, किनभने त्यो पार्टीको सिस्टमबाट गरिएको थिएन ।’

Please enter your comment!
Please enter your name here