‘पार्टीभित्र गलत कामको थालनी महन्थ ठाकुरले नै गर्नुभाथ्यो’

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीभित्र गलत कामको थालनी अध्यक्ष महन्थ ठाकुरले नै गरेको बताएका छन् ।

अध्यक्ष ठाकुरले पार्टीलाई जानकारी नै नदिई केपी ओली सरकारसँग वार्ता अघि बढाएर पार्टी पद्धतिविपरीत काम गरेको थापाको भनाइ छ ।

अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारलाई जोगाउन चार जना प्रदेश सांसदहरुलाई पोखरेलको पक्षमा मतदान गर्न लगाएर दोस्रो गल्ती गरेको थापाले बताए ।

जसपाको लुम्बिनी प्रदेशको संसदीय दलको बैठकले पोखरेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

तर सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा र कल्पना पाण्डेले गत वैशाख ६ गतेको प्रदेश सभामा पोखरेलकाे पक्षमा मतदान गरेका थिए । मुख्यमन्त्री पोखरेलले उनीहरु चारैजनालाई मन्त्री समेत बनाएका थिए ।

लुम्बिनी प्रदेशमा जसपाका ६ मध्ये चार सांसदहरुलाई पोखरेलको पक्षमा मतदान गराउन अध्यक्ष ठाकुरको भूमिका थियो ।
अध्यक्ष ठाकुर सिधा प्रधानमन्त्री ओलीसँग वार्तामा थिए ।

तर ठाकुरले पार्टीबाट निर्णय नै नगरी एकलौटी तरिकाले ओलीसँग वार्ता थालेका थिए । नेता थापाले अध्यक्ष ठाकुरको गल्तीमाथि गल्ती भएको बताए ।

अर्जुन थापा

लुम्बिनी प्रदेशका चार जना सांसदले पार्टी निर्णय उल्लंघन गरेपछि सोबारे जसपाको कार्यकारिणी समितिको बैठक राख्न खोजिएको थियो ।

तर, आफ्नाे बहुमत नपुग्ने भएपछि ठाकुर पक्षले बैठक राख्न चाहेन । अन्ततः ५१ सदस्यीय कार्यकारिणी समितिको बहुमत सदस्यहरुको हस्ताक्षरसहित पार्टी विपरीत काम गर्ने चार जना सांसदलाई कारवाही गरिएको थियो ।

अध्यक्ष ठाकुर मधेसी, आदिवासी जनजाति, दलित र उत्पीडित समुदायको एजेण्डाको विरोधी भएको केपी ओलीसँग पार्टी सिस्टमविपरीत साठगाँठ गरी अघि बढ्न थालेपछि डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई रुष्ट थिए ।

जसपाभित्र ठाकुर र राजेन्द्र महतो ओली सरकारलाई समर्थन गर्ने पक्षमा थिए । तर, अन्य तीन जना शिर्ष नेता ओली सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका थिए ।

नेता थापाले अब जसपाले वैकल्पिक सरकार निर्माणमा सर्तसहित सहयोग गर्नुपर्ने बताए । तर, जसपा सरकारमा जान नहुने उनको भनाइ छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्