ठाकुरसहित चार नेता निस्कासन, पार्टीले ओलीलाई साथ दिने कल्पनासमेत गर्न सक्दैनथ्यो

चार नेताको नाम हटाउन निर्वाचन आयोगलाई पत्र

जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

जसपाले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो ।

जसपाका कार्यकारिणी सदस्य तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले आज एक प्रेस विज्ञप्ति जारी गरी ठाकुरसहितका चार नेतालाई निस्कासन गरिएको जानकारी दिएका हुन् ।

जसपाका ठाकुर समूहले दुई पटकसम्म असंवैधानिक, अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गर्ने काम गरेका नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका थिए ।

ठाकुर समूहले पार्टीको एजेण्डा, नीति तथा निर्णयविपरीत संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, पहिचान, समानुपातिक समावेशिताका विरोधी समेत रहेका केपी ओलीलाई साथ दिएपछि पार्टीले उनीहरूलाई पटकपटक सचेत गराएका थिए ।

तर ठाकुर समूह भने आफ्नो स्वार्थ तथा भारतको योजना अनुसार चलिरहेको थियो ।

प्रचार विभाग प्रमुख खतिवडाअनुसार २०७८ जेठ १७ गते कार्यकारिणी समितिको बैठक बसी ठाकुरसहितका चार नेतालाई निस्कासन गरेको हो ।

जसपाको गत जेठ ८ र ९ गते बसेको कार्यकारिणी समितिको बैठकले नै ठाकुरसहितका चार नेतालाई पार्टी नीति र निर्णयविपरीत चलेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

जसपाले गत जेठ ११ गते पहिलो पटक तीन दिने स्पष्टीकरण सोधेको थियो । सोको जवाफ नपाएपछि पुनः जेठ १५ गते दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

सोको पनि कुनै जवाफ नआएपछि तथा सम्पर्कमा समेत नरहेपछि जेठ १७ गते कार्यकारिणी समितिको बैठक बसी पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार प्रारम्भदेखि नै लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायत संवैधानिक मूल्यमान्यताप्रति सकारात्मक थिएन । जनताको निर्वाचित प्रतिनिधिसभालाई दुई/दुई पटक विघटन गर्नेजस्तै अलोकतान्त्रिक, असंवैधानिक, निरंकुश, अधिनायकवादी, प्रतिगमनकारी कदम उनले चाले । यस्तो अवस्थामा ओली सरकारलाई साथ दिने कल्पनासमेत हाम्रो पार्टीले गर्न सक्दैनथ्यो,’ खतिवडाले भनेका छन्, ‘तर महन्थ ठाकुरलगायत नेताहरूले ओली सरकारले मधेसका माग सम्बोधन गर्यो भन्ने भ्रम छर्दै संकटग्रस्त ओली सरकारलाई काँध थाप्ने र प्रतिगमनको मतियार बन्ने काम गरे । बारम्बार आग्रह गर्दा पनि गल्ती सच्याउने काम भएन ।’

ठाकुरसहित चार नेतालाई निस्कासन गरिएकोबारे आजै केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई पत्र लेखेर जानकारी गराएका छन् । पत्रमा चार नेताको नाम जनता समाजवादी पार्टीबाट हटाएर अद्यावधिक गर्न अनुरोध गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्