कारवाही फिर्ता गरी पार्टी एकताको मिलनविन्दु खोजौँः हेमराज राई

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य हेमराज राईले यतिबेला पार्टी एकता बचाउनुपर्ने धारणा राखेका छन् ।

उनले पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहितका चार नेतालाई गरिएको कारवाही फिर्ता गरी एकताको मिलनविन्दु खोज्न पार्टी पदाधिकारीहरूसँग आग्रह पनि गरेका छन् ।

संसदीय तथा स्थानीय निर्वाचन नजिकिँदै गर्दा पार्टी विभाजन भए त्यसले ठूलो घाटा हुने उनको भनाइ छ ।

नेता राईले फेसबुकमा लेखेका छन्‌‚ ‘यतिखेर पार्टी एकता बचाउनु नै पार्टीको मुख्य काम हुनुपर्छ । कारवाहीहरू फिर्ता गरौँ र छलफलमा बसी मिलनविन्दु खोज्न म पदाधिकारी सबैमा अनुरोध गर्दछु ।’

जसपाका ठाकुर समूहले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई साथ दिँदै आएको छ ।
तर ठाकुर समूहको उक्त कदम पार्टी नीति‚ एजेन्डा र निर्णयविरुद्ध रहेको छ ।

जसपाले दुई पटकसम्म ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधे पनि कुनै जवाफ नआएपछि गत जेठ १७ गते कार्यकारिणी समितिको बैठक बसी उनीहरूलाई पार्टीबाट निस्कासन गरेको थियो । ५१ सदस्य कार्यकारिणी समितिको बहुमतले उनीहरूमाथि कारवाही गरेको थियो ।

यता‚ ठाकुर समूहले पनि अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको थियो । पार्टीले आफूहरूलाई जुनजुन बेला स्पष्टीकरण सोधेको त्यहीत्यही बेला ठाकुरले पनि स्पष्टीकरण सोध्ने र मिडिया तथा सामाजिक सञ्जालहरूबाट प्रचार गर्ने गरेका थिए । जसपाभित्रका यस्ता गतिविधि निकै बचपन र नाटकीय थियो ।

ठाकुर समूहलाई पार्टीबाट निस्कासन गरेपछि ठाकुरले पनि अध्यक्ष यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निस्कासन गरेका थिए ।

दुवै समूहले निर्वाचन आयोगलाई समेत पत्र पठाउँदै निस्कासन गरिएका व्यक्तिको नाम पार्टीबाट हटाउन अनुरोध गरिएको थियो ।

यादव समूहले कार्यकारिणी समितिको बहुमत सदस्यहरूको हस्ताक्षरसहित आयोगमा पत्र पठाएको थियो भने ठाकुर समूहले हस्ताक्षरबिना पत्र पठाएको थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्