बहुल राष्ट्रिय समाजमा एकल राष्ट्रिय राज्यवादीहरु चाहिँ विखण्डनकारी हुन्

प्राध्यापक डा. महेन्द्र लावतीले नेपाल बहुल राष्ट्रिय समाजयुक्त भए पनि राज्य एकल जातीय (राष्ट्रिय) रहेको बताएका छन् ।

अमेरिकास्थित वेस्टर्न मिचिगन युनिभर्सिटीमा राजनीतिक विषयका प्राध्यापक रहेका लावतीले जबसम्म राज्यले समाजको प्रतिनिधित्व गर्दैन तबसम्म कुनै पनि देश समृद्ध हुन नसक्ने बताएका छन् ।

प्राध्यापक लावतीले फेसबुकमा प्रतिक्रिया जनाउँदै नेपाललाई बहुल राष्ट्र राज्य नबनाइ सुख नपाइने बताएका हुन् ।

‘नेपाल बहुल राष्ट्रिय समाज हो, तर राज्य एकल जातीय (राष्ट्रिय) छ । जबसम्म राज्यले समाजको प्रतिनिधित्व गर्दैन तबसम्म कुनै पनि देश समृद्ध हुँदैन,’ उनले भनेका छन्, ‘नेपाल गरिब रहनुको एउटा प्रमुख कारण एकल राष्ट्रिय (जातीय) राज्य हो, अढाई सय वर्ष लामो इतिहासले प्रष्ट पारिसक्यो । बहुल राष्ट्रिय राज्य नबनाइ नेपाल समृद्ध बन्ने छैन । समृद्धि चाहने हो भने नेपाललाई बहुल राष्ट्र राज्य नबनाइ सुख छैन ।’

उनले बहुल राष्ट्रिय समाजमा एकल राष्ट्रिय राज्यवादीहरु चाहिँ विखण्डनकारी रहेको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टीबाट निस्कासन गरिएका महन्थ ठाकुर पक्षका राजेन्द्र महतोले गत शुक्रबार उपप्रधानमन्त्रीसहित ओली सरकारमा सहभागी हुनासाथ नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलन अघि बढाउने बताएका थिए ।

शनिबार एमालेका माधव नेपाल समूहका १५ जना स्थायी कमिटि सदस्यहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी देशमा विखण्डन ल्याउन खोजेको भन्दै महतोको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका थिए ।

नेपालका राजतन्त्रवादी नेता तथा मिडियाहरुले समेत महतोको कडा आलोचना गरेका थिए भने नेपाली कांग्रेस र माओवादीका केही नेताले समेत सामाजिक सञ्जालबाट विरोध जनाएका थिए ।

सर्वत्र विरोध र दबाब थेग्न नसकेपछि महतोले शनिबार राति मन्त्रीको हैसियतमा एक प्रेस विज्ञप्ति जारी गरी आफ्नाे अभिव्यक्ति सच्याएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्