Wednesday, May 31, 2023

वैद्यलाई आफ्नाे अभिव्यक्ति फिर्ता लिएर आत्माआलोचना गर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नराेत्तम वैद्यलाई आफ्नाे अभिव्यक्तिप्रति आत्माआलाेचना गर्न निर्देशन दिएकाे छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नाे अभिव्यक्ति फिर्ता लिन र आत्माआलोचना गर्न निर्देशन दिइएको जनाएका छन् ।

शुक्रबार बागमती प्रदेशसभा बैठकमा कांग्रेस सांसद वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोडसे बन्न तयार रहेको बताएका थिए ।

वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छ । त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्‍यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु ।’

शनिबार नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक प्रेस विज्ञप्ति जारी गरी वैद्यकाे अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताएका छन् ।

‘बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण लगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको छ । प्रदेश संसदीय दलको नेतृत्व मार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेत समेत गराइएको छ,’ कांग्रेस प्रवक्ता शर्माद्वारा जारी वक्तव्यमा भनिएकाे छ, ‘नेपाली कांग्रेस प्रष्ट छ, अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन। आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन। शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्