जसपाकै नेताहरुमा पनि एकात्मक र केन्द्रिकृत मानसिकता छः राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले पार्टीका शीर्षस्थ तथा जिम्मेवार नेताहरुले नै पार्टीको विधानविपरीत काम गरिरहेको टिप्पणी गरेका छन् ।

जसपासँग नयाँ ढंगको राष्ट्रिय पार्टी निर्माण गर्ने वैचारिक तथा संगठनात्मक सवालका अग्रगामी विकल्प रहे पनि ती कुराहरुको कार्यान्वयन नगरिएको बरु नेताहरुले नै विधान मिच्ने काम गरिरहेको उनको भनाइ छ ।

जसपाका कार्यकारिणी समिति सदस्यसमेत रहेका नेता श्रेष्ठले बिहीबार फेसबुकमा पार्टीबारे आलोचनात्मक टिप्पणी गरेका हुन् ।

उनले पार्टी विधानको धारा ४७ अनुसार जसपाको संगठनात्मक सिद्धान्त लोकतान्त्रिक अकेन्द्रियता भए पनि व्यवहारमा अध्यक्षमै अधिकार केन्द्रिकृत गर्न खोज्ने प्रवृत्ति रहेको औंल्याएका छन् ।

महत्वपूर्ण निर्णय गर्दा पार्टी अध्यक्षले आफूमा अधिकार केन्द्रित गर्न खोज्ने र कार्यकर्ताहरुको बुझाइ पनि त्यस्तै गरी विकास भएको श्रेष्ठको भनाइको आशय छ ।

‘पार्टी विधानको धारा ४७ अनुसार पार्टीको संगठनात्मक सिद्धान्त लोकतान्त्रिक अकेन्द्रियता हो । तर व्यवहारमा अध्यक्षमा नै अधिकार केन्द्रिकृत गर्न खोज्ने प्रवृत्ति छ । यो पार्टीभित्रको आधिकारिकताको विवादमा सबैले बुझ्ने गरी अभिव्यक्त भएको छ,’ उनले लेखेका छन्, ‘पार्टी विधानको प्रस्तावनामा नै सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व प्रणालीको व्यवस्था छ । तर पार्टी चलाउँदा अध्यक्षात्मक नेतृत्व प्रणालीको जस्तो व्यवहार प्रदर्शन गरिएको छ । केन्द्रीय समिति नै अध्यक्षले पुनर्गठन गर्ने पुँजीवादी शैलीको अध्यक्षात्मक प्रणाली अवलम्बन गर्ने प्रयत्न भएको छ ।’

नेता श्रेष्ठले पार्टी संस्थागत र पद्धतिसंगत ढंगले चल्नुपर्छ भनिए पनि संस्थागत रुपमा पार्टी चलाउनका लागि समितिको औपचारिक बैठक छल्ने र राखिएको बैठकसमेत एकपक्षीय रुपमा स्थगित गर्ने स्वेच्छाचारी प्रवृत्ति रहेको उल्लेख गरेका छन् ।

६ बुँदामा आलोचनात्मक टिप्पणी गरेका उनले बुँदा नं ४ मा लेखेका छन्, ‘पार्टी विधानको धारा ११ मा संघीय ढाँचाको पार्टीको व्यवस्था छ । तर व्यवहारमा श्रृंखलाबद्ध समिति प्रणाली र चेन अफ कमाण्ड तोड्ने मात्र होइन, केन्द्रले नै पालिका तहसम्म चलाउने एकात्मक र केन्द्रिकृत मानसिकता रहेको छ ।’

नेता श्रेष्ठले पार्टीको तल्लो समितिमा रहेकाहरु पनि योग्य र क्षमतावान् हुने भन्दै उनीहरुलाई विश्वास गरेर जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् ।

‘राज्यले प्रदेशलाई बाइपास गरी केन्द्रले स्थानीय तह चलाएकोमा आलोचना गर्छौ तर पार्टीमा पनि तल योग्यता पुगेका साथीहरुलाई योग्यता नभएको भन्दै त्यस्तै गर्ने प्रवृत्ति छ,’ उनको भनाइ छ, ‘पार्टीमा केन्द्रीय तहका साथीहरु मात्र योग्य र क्षमतावान् हुने होइन । सबै तहमा योग्यता क्षमता भएका साथीहरु छन् । उनीहरुलाई पनि विश्वास गरेर जिम्मेवारी दिनुपर्दछ ।’

उनले पार्टीभित्रको विकृति र विसंगतिविरुद्ध परिवर्तन आफैबाट सुरु गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

‘हामी विधिको शासनको कुरा गर्छौं तर विधानलाई कार्यान्वयन गर्दैनौं । जुनसुकै बहानामा भए पनि विधान मिच्छौं भने हामीले पनि विधिको शासन नमानेको नै ठहर्छ,’ उनको आग्रह छ, ‘एकपटक सबैले आत्मसमिक्षा गरौं, आफ्नाे अनुहार ऐनामा हेरौं, पार्टीले अवलम्बन गरेको वैचारिक, सैद्धान्तिक तथा संगठनात्मक मार्गचित्रहरुलाई व्यवहारमा रुपान्तरण गरौं ।’

जसपाका नेताहरुको कार्यशैली पनि पूराना पार्टीका नेताहरुको भन्दा भिन्न नभएको भन्दै पार्टीका सक्षम र इमान्दार कार्यकर्ताहरुले चिन्ता व्यक्त गरिरहेका बेला नेता श्रेष्ठको याे आलोचनात्मक टिप्पणी अर्थपूर्ण रहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्