क्रान्तिकारी पार्टी जसपाकाे झण्डामुनि गोलबद्ध हुन अध्यक्ष यादवको अपिल

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नका लागि पार्टीको झण्डामुनि गोलबद्ध हुन सम्पूर्ण शुभचिन्तक, समर्थक तथा पार्टीका नेता–कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

अध्यक्ष यादवले जसपा एक क्रान्तिकारी पार्टी रहेको र हाल यथास्थितिवादी तथा प्रतिगामी शक्तिहरु यसलाई फुटाएर राज गर्ने नीति अनुसार सक्रिय भइरहेको समेत बताएका छन् ।

पछिल्लो समय जसपा विभाजित बनेपछि यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी कुनै कारणले पार्टीबाट अलग भएकाहरुलाई कुनै अलमल र हिचकिचाहट नगरी अग्रगामी तथा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा गोलबद्ध हुन अपिल गरेका हुन् ।

‘अग्रगमन नचाहने, प्राप्त उपलब्धिलाई उल्टाउन चाहने, यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगामी शक्तिहरु षडयन्त्रमूलक ढंगले जनता समाजवादी पार्टी नेपालविरुद्ध लाग्दै फुटाऊ र राज गर नीति अनुरुप सक्रिय छन् । यस्ता शक्ति, चिन्तन र विचारको प्रतिकार गर्दै प्रतिगमनकारी र यसका मतियार तथा स्वार्थी एवम् षडयन्त्रकारी व्यक्तिहरु र प्रवृत्तिहरुप्रति सतर्क र सचेत रहनु समयको माग हो । यही समयको मागलाई ख्याल गर्दै जसपा नेपालका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहनुभएका साथीहरु क्रान्तिकारी पार्टी जसपा नेपालको झण्डामुनि एकताबद्ध रहँदै रत्तिभर पनि विचलित नभई दृढतापूर्वक पार्टीको पक्षको रहन र पार्टी एकतालाई बजवुद बनाउन आव्हान गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने कार्यलाई मूर्तरुप दिन अहिले पनि गम्भीर रुपले लाग्न जरुरी छ । यो यथार्थलाई आत्मसाथ गर्दै विगतमा निर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नुभन्दा पूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नुभएमा वा अन्यन्त्र अलमलमा पर्नुभएका पार्टीका सम्पूर्ण साथीहरुलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट जनता समाजवादी पार्टी नेपालमा नै फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणको महान् अभियानमा साथसाथै अगाडि बढ्नुहुन हार्दिक अपिल गरिन्छ ।’

अध्यक्ष यादवले जनआन्दोलन, सशस्त्र विद्रोह, मधेस विद्रोह, थारु, आदिवासी जनजाति लगायत आन्दोलन र संघर्षहरुबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षताजस्ता उपलब्धिहरुको रक्षा गर्दै बाँकी अधिकारका लागि संघर्ष गर्दै जानु नै अहिलेको कार्यभार रहेको उल्लेख गरेका छन् ।

उनले मधेसी, आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम, अल्पसंख्यक समुदायका साथै उत्पीडित राष्ट्रियताहरुको मुक्ति, वर्गीय, जातीय, लैंगिक असमानताहरुको अन्त्य गरी संघीयता, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको लक्ष्य प्राप्तिका लागि क्रियाशिल हुन जरुरी रहेको औंल्याएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्