पार्टीकाे हरेक संरचनामा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन जसपा नेत्रीहरुको माग

जनता समाजवादी पार्टीको महिला संगठन समाजवादी महिला महिला संघले पार्टीको हरेक तहको समिति तथा निकायहरुमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीका नेताहरुसँग माग गरेको छ ।

शुक्रबार समाजवादी महिला संघका पदाधिकारी तथा महिला नेत्रीहरुको टोलीले पार्टीका वरिष्ठ नेता अशोक राईलाई भेटेर पार्टीको हरेक संरचनामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउन ध्यानाकर्षण पत्र बुझाएका छन् ।

समाजवादी महिला संघकी अध्यक्ष निर्मला यादवले पार्टी सरकारमा सहभागी हुँदा पनि महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने बताइन् ।

‘हाम्रो पार्टी अहिले सरकारमा सामेल हुन लागेको छ । सरकारमा सामेल हुँदा पनि ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो माग छ,’ साल्पा अनलाइनसँग उनले भनिन्, ‘हाम्रो पार्टी अन्य पार्टीहरुभन्दा समावेशी पार्टी भनिरहेको बेला पार्टीको सबै तहको समिति र निकायहरुमा संविधान र हाम्रो पार्टीको विधानमा व्यवस्था गरिए अनुसार ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व गराउन नेताहरुलाई ध्यानाकर्षण गराउन चाहेका हौं ।’

उनले पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेटेर ध्यानाकर्षण गराइने बताइन् ।

जसपामा महिला सहभागिता

समाजवादी महिला संघकाे ध्यानाकर्षण पत्र अनुसार जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा हाल सात जना मात्र महिला छन् ।

उक्त समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुग्न ११ जना महिला हुनुपर्ने छ ।

तर हाल जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो समूह अलग भएपछि कार्यकारिणी समितिको संख्या ३५ कायम भएको छ ।

यसैगरी जसपाको ८०० सदस्यीय केन्द्रीय समितिमा हाल ८३ जना मात्र महिला छन् । उक्त समितिमा ३३ प्रतिशत महिला पुग्नका लागि समितिमा २६४ जना महिला हुनुपर्ने थियो ।

महिला संघले अब निर्माण हुने पार्टी समिति वा विभागहरुमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने माग राखेको छ ।

ध्यानाकर्षण गराउनै नपर्ने विषय

महिला नेतृहरुसँगको भेटमा जसपाका वरिष्ठ नेता राईले पार्टीको संरचनामा ३३ प्रतिशत महिला सहभागिताको विषय ध्यानाकर्षण गराउनै नपर्ने विषय रहेको बताए ।

उनले महिला नेतृहरुले उठाएको विषयलाई पार्टीले ध्यान दिएर पूरा गर्ने प्रतिवद्धता जनाए ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्