बहुल राष्ट्रियताको सम्बोधन हुने संघीयताका निम्ति जसपाः डा. बाबुराम भट्टराई

समुन्नत संघीय समाजवादलाई आफ्नो मागदर्शक सिद्धान्तकाे रुपमा अंगिकार गरी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको जनता समाजवादी पार्टीले बुधबार प्रदेश नं ४ काे पाेखरामा प्रदेश स्तरीय संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकलाई नयाँ सोंचका साथ अघि बढाउनका लागि समुन्नत संघीय समाजवाद नै मार्गनिर्देशक सिद्धान्त भएकाे दाबी गरे ।

तत्कालका लागि संघीयता, सुशासन, समृद्धि र समाजवाद नीतिकाे रुपमा रहेकाेले सुज अभियानले उक्त मार्ग सोझ्याउने उनले बताए ।

उनले सुज अभियान भनेको जनताको बस्तीबस्ती र मनमनमा बिचारका साथै संगठन पुर्याउनका लागि जुत्ता खियाउने अभियान भएकाे बताए ।

विविधता भएकाे नेपालमा जस्ताे समाज त्यस्तै राज्य र पार्टी निर्माण गर्न जरुरी रहेको उनकाे भनाइ छ ।

उनले ऐतिहासिकता, सभ्यता, राष्ट्रियता, मनोविज्ञान र भूगोललाई समेट्दै बहुल राष्ट्रियताको सम्बोधन हुने संघीयताका निम्ति जसपाले प्रशासनिक संघीयताको उपयोग गर्दै पहिचानसहितको संघीय पुनसंरचना गर्ने बताए ।

पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले समाजवादी क्रान्तिको एकीकृत स्वरुप नै जसपा भएको बताए ।

उनले वैकल्पिक राजनीतिक पार्टी निर्माणका लागि जसपा दश प्लस एक प्रदेशमा पुग्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातिक समावेशी प्रतिनिधित्व, समानुपातिक निर्वाचन प्रणाली लगायतका लागि क्रियाशील रहने बताए ।

पुराना राजनीतिक शक्तिहरुको विकल्पमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि विचारलाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्न अभियान संचालन गरिएको उनले बताए ।

उनले विविधतालाई व्यवहारिक रुपमा अभिव्यक्त गर्न, विभेद मुक्तिका लागि, मुलुकलाई नयाँ निकास र अग्रगतिका लागि सम्मुनत संघीय समाजवाद अपरिहार्य भएको बताए ।

अर्का कार्यकारिणी सदस्य राजकिशोर यादवले आन्तरिक राष्ट्रियताको सुदुढीकरण, सबैले गौरब गर्ने भावनात्मक एकता भएको साझा पार्टीको रुपमा जसपा अघि बढेको बताए ।

सुशासन, समृद्धिका लगायतका मुद्दालाई अघि बढाउन जसपा नेता कार्यकर्तामा इच्छाशक्ति आवश्यक रहेकाे उनकाे जाेड छ ।

सुज अभियानका लागि प्रदेश नं ४ को जिम्मेवारीमा रहेकी कार्यकारिणी सदस्य हिसिला यमीले विचारमा वैकल्पिक, राष्ट्रियताका लागि प्रतिवद्ध, पहिचान र समृद्धिका निम्ति अग्रगमनमा रहेको जसपाको सुज अभियानले मुलुकलाई नयाँ मार्गमा डोर्याउने दाबी गरिन् ।

उनले सुज अभियानको उद्देश्य र अभियानमा गर्नुपर्ने कार्यहरुका बारेमा चर्चा गरिन् ।

कार्यक्रममा जसपा प्रदेश नं ४ का इञ्चार्ज गणेशमान गुरुङ, तमुवान राष्ट्रिय समिति इञ्चार्ज रुद्रबहादुर गुरुङ,  प्रदेश नं ४ का उर्जा, जलस्राेत तथा खानेपानी मन्त्री तथा जसपा प्रदेश नं ४ का सहइञ्चार्ज हरिशरण आचार्य, सहइञ्चार्ज यामबहादुर घर्ती मगर, प्रदेशसभा सदस्य धनमाया लामा पोखरेल, समाजवादी दलित मुक्ति महासंघ गण्डकीका अध्यक्ष सोम नेपालीले मन्तव्य राखेका थिए ।

जसपाका अध्यक्ष मोती रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कास्की जिल्ला समन्वय समितिका अध्यक्ष गिरीप्रसाद गुरुङले राखेका थिए भने तमुवान राष्ट्रिय समिति अध्यक्ष हुमबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्