सिन्धुपाल्चोककाे भोटेकोशी गाउँपालिकाको ९औं गाउँसभा बहिष्कार गरिएकाे छ ।
नेकपा माओवादी केन्द्रबाट जितेका गाउँपालिका अध्यक्ष राजकुमार पौडेललाई आफ्नै पार्टीका उपाध्यक्ष दाबुटी शेर्पा र वडा नं २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले समेत साथ दिएनन् ।
यतिमात्र हैन गाउँ कार्यपालिकाका २९ सदस्यमध्ये २ जना बाहेक अन्य २६ जना सदस्यहरुले आजकाे गाउँसभा बहिष्कार गरेका छन् ।
वडा नं ४ का अध्यक्ष साङदोर्जे शेर्पाका अनुसार अध्यक्ष पौडेलले कर्मचारीसँगको मिलेमतोमा ९ करोड बजेट लुकाएर राखेको र त्यसमध्ये ४ करोड १७ लाख बजेट कसैलाई थाहै नदिइ मनपरी ढंगले बाँडेका छन् ।
भोटेकोशी सरोकार समितिका सचिव तथा जनता समाजवादी पार्टीकाे गैरभौगोलिक प्रदेश विशेष समिति सदस्य राजेश लामाले सरकारी बजेटलाई जथाभावी बाड्नु अत्यन्तै निन्दनीय रहेको बताए । उनले जनताले अब सरकारी बजेटकाे हिसाब खाेज्ने बताए ।
वडा नं ४ का अध्यक्ष साङदोर्जे शेर्पाका अनुसार अध्यक्ष पौडेलले कर्मचारीसँगको मिलेमतोमा ९ करोड बजेट लुकाएर राखेको र त्यसमध्ये ४ करोड १७ लाख बजेट कसैलाई थाहै नदिइ मनपरी ढंगले बाँडेका छन् ।
बजेट बाँडफाँड गर्दा गाउँसभाको बैठकले निर्णय गरेपछि मात्र गर्नुपर्नेमा यो काम नियम बिपरित भइरहेको उनकाे भनाइ छ ।
वडा अध्यक्ष शेर्पाले गाउँपालिका अध्यक्ष पौडेलले ड्राईपोटको लोडर संघमासमेत पूर्व प्रशासकीय प्रमुखको किर्ते हस्ताक्षर गरेर आफ्नो पार्टीको क्रियाशील सदस्यता लिनेलाई मात्र छानेर बजेट हाल्ने भर्ती केन्द्र खोलेको भन्दै गम्भीर आरोप लगाए ।
उनले गाउँपालिकाकाे २० करोड रुपैयाँ बेरुजुबारे पटक पटक बुझ्न खोज्दा वास्ता नगरेर कार्यकालको अन्त्यतिर आएर फर्छ्याेट गर्न खोजेपछि आफू सहितका जनप्रतिनिधिहरुले गाउँसभा बहिष्कार गरेकाे बताए ।
उपाध्यक्ष दाबुटी शेर्पासँग यस विषयमा बुझ्दा भने, ‘गाउँसभा बहिष्कार भनूँ या के भनूँ, सर्वसम्मत ढंगले अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो र पालिका अध्यक्षज्यूले केही विषयमा त्रुटि गरेकै हो ।’
आफ्नो कुरा एकलौटी निर्णय गर्ने, बहुमतले निर्णय गर्ने भन्दा पनि सर्वसम्मतले निर्णय गरौं भनेर आफू निस्केको उनले बताए ।
वडा नं २ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने आफू बिरामी भएको कारण गाउँसभामा उपस्थित नभएको बताए ।
यसरी चौतर्फी गाउँसभा बहिष्कार गरेको कुरा उठेपछि गाउँपालिका अध्यक्ष पौडेलसँग जानकारी लिने क्रममा बहिष्कार नभइ आजकाे सभा स्थगित गरिएकाे जनाए ।
आज केही बुँदामा सहमति हुन नसकेपछि २१ गतेलाई छलफल गर्ने गरी गाउँसभाकाे बैठक सारेको पौडेलले बताए ।
उनले पार्टी प्रवेश गराउँदै बजेट बाँडेको कुराको खण्डन गर्दै त्याे आरोप मात्र भएकाे बताए ।
आफू सधैं छलफल सहमतिबिना अघि नबढ्ने भएकोले पुनः गाउँसभा राखेकोले अब त्यही सभाबाट समस्याको समाधान निस्कने उनकाे भनाइ छ ।