जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदायकाे मुक्तिको सवाल नै जसपाकाे मूल राजनीतिक उद्देश्य रहेको बताएका छन् ।
मंगलबार धनुषाकाे धनौजी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले सदियौदेखि विभेदमा रहँदै आएका मधेसी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम लगायत समुदायको मुक्तिकाे लागि आफूहरुले सुरुदेखि नै लड्दै आएकाे बताए ।
मधेस जनविद्रोहले एक हदसम्म मधेसीकाे पहिचान दिलाउन सफल भए पनि आर्थिक, राजनीतिक र सामाजिक अधिकारका लागि लड्न बाँकी रहेकाे उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका मनोजकुमार मण्डल र नेकपा एमालेका शुभनारायण यादवको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।
यादवले मधेस प्रदेशको नामकरणसँगै मधेसी जनताले पहिचान प्राप्त गरे पनि मधेस प्रदेशमा समेट्न नसकिएका मधेसीहरुको पहिचानको लागि मेचीदेखि महाकालीसम्म आन्दोलन जारी राख्ने उद्घाेष गर्दै त्यसका लागि मधेस प्रदेशका नागरिकले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र र उत्पीडितहरुका लागि लड्दै आएको जसपामाथि निरन्तर आक्रमणको प्रयास भइरहेकाे दाबी गर्दै अध्यक्ष यादवले गणतन्त्र र संघीयताविरोधी त्यस्ता शक्तिको सामना गर्न मधेसी, जनजाति तथा उत्पीडित समुदाय तयार रहेकाे बताए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले यथास्थितिवादी दलहरुका कारण मुलुक पछाडि परेको उल्लेख गर्दै मुलुकको अग्रगामी निकासको लागि जसपा एकमात्र राजनीतिक शक्ति रहेको जिकिर गरे ।
मधेस जनविद्रोहले उत्पीडित समुदायको पहिचान स्थापित गराएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले मधेस सरकारले उत्पीडित समुदायलाई मूलधारमा ल्याउन एक पछि अर्को प्रयास गर्दै आएको बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य मो. खालिद सिद्दिकी, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, जसपाका केन्द्रीय सदस्य बेचन मुखिया, कृष्णशंकर साह, मधेस प्रदेशका सदस्य ममता पाठक, वौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव, जिल्ला अध्यक्ष पशुपति यादव सहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका मनोजकुमार मण्डल र नेकपा एमालेका शुभनारायण यादवको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।
उनीहरुलाई अध्यक्ष यादवसहितका नेताहरुले गम्छा लगाई पार्टीमा स्वागत गरेका छन् ।