Wednesday, February 8, 2023
11.8 C
Diktel

पार्टी एकता जोगाउन सबै विकल्पहरु अपनाउनुस् : समाजवादी आदिवासी जनजाति महासंघ

सामूहिक नेतृत्व, सामूहिक निर्णय र एमसीसीको विषयमा देखिएको विवाद र मतभिन्नताले जनता समाजवादी पार्टी विभाजन हुन सक्ने अवस्थामा पुगेको बेला पार्टीनिकट ‘समाजवादी आदिवासी जनजाति महासंघ’ले पार्टीलाई एकताबद्ध र गतिशील बनाउनका लागि सबै विकल्पहरु अपनाउन नेतृत्वलाई विशेष आग्रह गरेको छ ।

महासंघका अध्यक्ष चन्द्रविक्रम राई र महासचिव टेकम बाठा मगरले बिहीबार साँझ एक प्रेस वक्तव्य जारी गरी पार्टीलाई विभाजनबाट रोक्न सबै विकल्पहरु अपनाउन नेतृत्वलाई आग्रह गरेका हुन् ।

पार्टीभित्र संकट पैदा भएपछि महासंघले आदिवासी जनजाति समुदायका ७० जनाभन्दा बढी केन्द्रीय सदस्यहरुकाे यही फागुन १० र १२ गतेकाे बृहत् छलफल र समझदारी गरी सो अनुसारको धारणा वक्तव्यमार्फत सार्वजनिक गरेको हो ।

‘नेपाली समाजको संरचना र चरित्र–विशेषतालाई प्रतिनिधित्व गर्ने तथा अहिलेको युगको नेतृत्व गर्ने लक्ष्य–उदेश्यसहित गठित जसपा नेपाललाई कमजोर बनाउने र पार्टी टुटफुटको अनावश्यक हल्ला गर्ने–गराउने प्रवृत्तिलाई आ–आफ्नाे तवरले निस्तेज पर्न सबै नेता–कार्यकर्ताहरुमा अपील गर्दछौं,’ वक्तव्यमा भनिएको छ, ‘देशभित्रका सबै राष्ट्रियताहरुलाई समान अधिकार, पहिचान, पहुँच र सहअस्तित्व प्रदान गरी बहुलतायुक्त राष्ट्रवादलाई विकास गर्ने लक्ष्यले गठित र क्रियाशील पार्टी एकतबद्ध राख्न हामी प्रतिवद्ध छौं । विभिन्न बहानामा पार्टीलाई कमजोर बनाउने, फुटाउन उत्तोलक बन्ने खालका अभियानहरुलाई हामी निस्तेज गर्दछौं र त्यसखाले अभियानको साक्षी नबन्न सबैमा अपील गर्दछौं । इतिहासको विभिन्न कालखण्डमा भएका संघर्षहरुको संयोजन तथा फ्युजनबाट बनेको पार्टीलाई एकताबद्ध राख्दै गतिशील बनाउन सबै विकल्पहरु समेत अपनाउन पार्टी नेतृत्वलाई हामी विशेष आग्रह गर्दछौं ।’

महासंघले एमसीसीको विषयमा विधि र पद्धतिबमोजिम अविलम्ब पार्टीको आधिकारिक धारणा ल्याउन पनि आग्रह गरेको छ ।

महासंघले पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले जटिल भन्दा जतिल परिस्थितिमा पनि जिम्मेवारपूर्वक छलफल र संवादबाट उचित निर्णय लिनुपर्ने र आम नेता–कार्यकर्ता तथा जनमानसमा विश्वास र भरोसायोग्य सन्देश प्रवाह गर्नुपर्ने जनाएको छ ।

महासंघले एमसीसीको विषयमा विधि र पद्धतिबमोजिम अविलम्ब पार्टीको आधिकारिक धारणा ल्याउन पनि आग्रह गरेको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबार (फागुन १३ गते) ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । महासंघले पार्टी विभाजनको खतरा र बैठकको पूर्वसन्ध्यामा नेतृत्वलाई दबाब पर्ने गरी आफ्नाे धारणा सार्वजनिक गरेको हो ।

पछिल्लो समय जसपाभित्र सामूहिक नेतृत्व र सामूहिक निर्णय गर्ने विषयलाई लिएर विवाद पैदा भएको छ ।

जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले पार्टीका महत्वपूर्ण निर्णय र कार्यहरु एकलौटी ढंगले गरिरहेको आरोप लागेको छ ।

जसपाको विधानमा दुईजना अध्यक्ष रहने उल्लेख छ । खाली भएको एक अध्यक्ष पदपूर्ति गर्न अध्यक्ष यादव तयार नभएको बताइन्छ ।

जसपामा उत्पन्न भएको विवादको अर्को कारक तत्व एमसीसी नै हो । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कुनै पनि हालतमा एमसीसीको पक्षमा उभिनुपर्ने बताउँदै आएका छन् । तर, जसपामा अहिलेसम्म यसबारे औपचारिक छलफल नै भएको छैन ।

जसपाका वरिष्ठ नेता अशोक राई भने एमसीसी सम्झौतामा कतिपय नेपालको हितविपरीतको सर्तहरु रहेकाले ती सर्तहरु संशोधन भए एमसीसी स्वीकार गर्नुपर्ने पक्षमा छन् । यसबारे अध्यक्ष यादव भने मौन रहेका छन् ।

जसपाभित्रका यिनै विवाद र मतभिन्नताले पार्टी नै विभाजन हुन सक्ने परिस्थिति निर्माण भएको बेला महासंघले पार्टी नेतृत्वलाई कुनै पनि हालतमा पार्टी एकता जोगाउन आग्रह गरेको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्