एमसीसीबारे निर्णय लिन जसपा बैठक सुरु, नो एमसीसी लेखिएकाे प्लेकार्डसहित कार्यालयमा धर्ना

एमसीसीबारे छलफल गर्न जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको बेला पार्टीका नेता तथा कार्यकर्ताहरुले ‘नो एमसीसी’ लेखिएको प्लेकार्ड बोकेर ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् ।

जसपाका केन्द्रीय सदस्य पूर्ण बस्नेत, देवराज शर्मा, विजय दनुवार, संघीय परिषद् सदस्य शशी लिङ्देन, कृष्ण श्रेष्ठ, अभिशेक सिंह गुरु, प्रचार विभाग सदस्य विश्वासदीप तिगेलालगायत नेता तथा कार्यकर्ताहरुले शुक्रबार बिहान साढे १० देखि १२ बजेसम्म पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहान ११ बजेदेखि पार्टी कार्यालयमा बस्ने तय भएको थियो ।

तर, अन्तिम घडीमा उक्त बैठक बाहिरै गर्ने निर्णय भएको छ । बैठक ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा बस्दैछ ।

केन्द्रीय सदस्य पूर्ण बस्नेतले नेपालको हित विपरीत रहेको एमसीसीको पक्षमा निर्णय नगर्न दबाब दिने उदेश्यले पार्टी कार्यालयमा धर्ना दिइएको र अन्तिम समयमा मात्रै पार्टीले बैठक बाहिर सारेको बताए ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई केहीबेर पार्टी कार्यालयमा बसेर बाहिर निस्केका थिए ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने पार्टी कार्यालयमा आएकै थिएनन् । कार्यकारिणी समिति सदस्य हिसिला यमी भने पार्टी कार्यालय बाहिर आइपुगे पनि ‘नो एमसीसी’सहितको धर्ना देखेपछि उनी कार्यालयमा नपसी बाहिरिएकी थिइन् ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एमसीसीका साथै स्थानीय तहको निर्वाचन र पार्टीको विधान अधिवेशनबारे पनि छलफल हुने बताइएको छ ।

जसपाका संघीय परिषद् अध्यक्ष भट्टराई कुनै पनि हालतमा एमसीसी पास गर्नुपर्ने पक्षमा लाग्दै आएका छन् ।
एमसीसीका कारण वर्तमान सत्ता गठबन्धन भत्किनसक्ने अवस्थामा पुगेको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा जुनसुकै हालतमा पनि एमसीसी संसदबाट पास गर्नुपर्ने पक्षमा छन् ।

तर, जनता तथा नेता–कार्यकर्ताहरुको दबाबका कारण सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा लाग्न सकिरहेका छैनन् ।

सत्त गठबन्धनमै रहेको जसपाले भने अहिलेसम्म यसबारे औपचारिक छलफल समेत गरेको छैन ।

याे समाचारमा इन्द्रेणी गार्डेन हुनुपर्नेमा अन्यथा भएकाेमा सच्याइएकाे छ । स.

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्