माओवादीले माछा खुवाउने कुरा गरेर भ्यागुता खुवाए : आङकाजी शेर्पा

धोकेबाजी पार्टीहरुलाई फेरि भोट हाल्न हुन्न

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पाले कांग्रेस, एमाले र माओवादीले जनतालाई ‘माछा खुवाउने कुरा गरेर भ्यागुता खुवाएको’ बताएका छन् ।

कांग्रेस, एमाले र माओवादीको भनाइ र गराइमा फरक रहेकाे उनले बताए ।

आज प्रदेश १ को खोटाङस्थित केपीलासगढी गाउँपालिकामा आयोजित जसपाकाे युवा सम्मेलनमा शेर्पाले कांग्रेस, एमाले र माओवादीले देशको परिवर्तन गर्न नसक्ने ठाेकुवा गरे ।

‘कांग्रेस, एमाले र माओवादीले हिजो राम्रै कुरा ल्याएका थिए । तर, उनीहरुले कथनी र करनी फरक गरे,’ उनले भने, ‘कथनीमा माछा खुवाउने कुरा गरे, करनीमा भ्यागुता खुवाए । भ्यागुता खुवाउने माओवादी अहिले आफै भ्यागुतो जस्तो भएर फत्र्याक फत्र्याक उफ्रिँदै कहिले केपीको टाङमुनि, कहिले कांग्रेसको टाङमुनि छिरेको छ ।’

सो क्रममा उनले विगतमा आफू एमाले हुँदाहुँदै पनि परिवर्तनका लागि माओवादीलाई भोट हालेको बताए ।

‘एमालेको सचिव हुँदाहुँदै पनि मैले प्रचण्डलाई भोट हालेँ,’ उनले भने, ‘म विद्यार्थी हुँदादेखि कम्युनिष्ट आन्दोलनमा लागेको मान्छे । तर, त्यस (माओवादी) ले पनि धोका दियो, अब धोका दिनेलाई फेरि मैले भोट हाल्ने ?’

सो क्रममा फुर्तेम्बा शेर्पाको अध्यक्षतामा ३१ सदस्यीय केपीलासगढी गाउँपालिकामा समाजवादी युवा संघ गठन गरिएको छ ।

अबको निर्वाचनमा जसपालाई भोट दिन आग्रह गर्दै उनले भने, ‘कांग्रेसले पनि धोका दियो, एमालेले पनि धोका दियो, माओवादीले पनि धोका दियो । अब त्यस्तो धोकेबाजी पार्टीहरुलाई भोट दिनुहुन्न ।’

एमालेले बृद्धभत्ता दिएर एउटा राम्रो काम गरेको भन्दै उनले ‘के बिसौं वर्षसम्म एमालेलाई नै भोट दिइरहने ?’ भनेर प्रश्न पनि गरे ।

उनले कांग्रेस र एमाले नेताहरुलाई भोट दिएर जिताएर पठाए पनि उनीहरुले जनताको जीवनमा परिवर्तन गर्ने काम नगरेको बताए ।

उनले भने, ‘तपाईहरुले भोट दिएको कम्युनिष्ट नेताहरु जो हिजो चप्पल लगाएर सिंहदरबार पसेका थिए, कांग्रेसका नेताहरु जो हिजो चप्पल लगाएर सिंहदरबार पसेका थिए, ती नेताको जीवनमा कति परिवर्तन भएको छ ? ती नेताले जिल्लामा घर बनाए, गाउँमा घर बनाए, काठमाडौंमा घर बनाए, छोराछोरी विदेश पढ्न पठाए, तपाईहरुको हालत के छ ? परिवर्तन भएको छ ?‘

उनले भारत, अमेरिका, इजरायलजस्ता नेपाल भन्दा पछि बनेका देश विकासमा कहाँ पुग्दा नेपाल किन अति गरिब राष्ट्रको सूचीमा पर्यो भनेर युवाहरुले बुझ्नुपर्ने बताए ।

उनले पुर्खाहरुले राजनीति गर्न नजानेकोले आज दुःख पाइएको बताए ।

‘म तपाईहरुलाई भन्न चाहन्छु, पढाइ बिग्रे एक वर्ष फेल होला, खेती बिग्रे एक वर्ष खान नपाइएला, व्यापार बिग्रे एक वर्ष नोक्सान होला । तर राजनीति गर्न बिर्से भने ५०० वर्ष दुःख पाइन्छ । त्यही राजनीति हाम्रो पुर्खाहरुले बिर्से, त्यही राजनीति हाम्रा पुर्खाहरुले गर्न जानेनन्,’ उनले भने ।

उनले अहिलेका युवाहरुले राजनीतिक पार्टीका नीति नबुझे देशको परिवर्तन हुन नसक्ने बताए ।

सो क्रममा फुर्तेम्बा शेर्पाको अध्यक्षतामा ३१ सदस्यीय केपीलासगढी गाउँपालिकामा समाजवादी युवा संघ गठन गरिएको छ ।

कार्यक्रममा जसपा खोटाङ जिल्ला अध्यक्ष टंक थापा, जसपा प्रदेश १ सदस्य तेजमाया राई, समाजवादी युवा संघका केन्द्रीय नेता हेमन्त दुमी राई, जसपा दिक्तेल रुपाकाेट मझुवागढी नगर समिति अध्यक्ष निर्मल राई, समाजवादी युवा संघ प्रदेश १ उपाध्यक्ष दिपक तामाङ, समाजवादी युवा संघ खोटाङ जिल्ला अध्यक्ष गजेन्द्र राईलगायत नेताहरु सहभागी थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्