अब प्रचण्ड नेतृत्वकाे माओवादीबाट क्रान्ति एक दुई तिन हुँदैन- लोकेन्द्र विष्ट मगर

प्रकाश सपुतको ‘पीर’ गीत मनगढन्ते होइन

पूर्व माओवादी नेता लोकेन्द्र विष्ट मगरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको माओवादीले कुनै हालतमा क्रान्तिको अभिभारा पूरा गर्न नसक्ने ठोकुवा गरेका छन् ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग कार्यक्रम ‘सिधा कुरा’मा बोल्दै पूर्वमन्त्री समेत रहेका मगरले माओवादीको हर्कत, सोंच, शैली, चिन्तन र व्यवहार हेर्दा उसले अब कुनै पनि हालतमा परिवर्तन गर्न नसक्ने बताए ।

‘घुमाउरो र लपनछपनको कुरा छैन, सिधा कुरा गर्दाखेरि अहिलेको माओवादी केन्द्रले क्रान्तिको बाँकी अभिभारा पूरा गर्छ भन्ने कुरा मलाई एक दुई तिन लाग्दैन । किनभने उहाँहरुले बाटो बिराइसक्नुभएको छ,’ उनले भने, ‘उहाँहरुले अहिले राजनीतिको नाममा जागिरमात्रै खाने भए, क्रान्तिका अधुरा काम पूरा गर्न उहाँहरुबाट सम्भव होला जस्तो लाग्दैन ।’

सत्तामा पुगेपछि माओवादीको पनि कांग्रेस र एमालेको जस्तै शैली भएको भन्दै पार्टीबाट अलग भएर कृषिमा लागेका मगरले अब क्रान्तिको बाँकी काम पूरा हुन नेपाली जनताले केही दशक पर्खनुपर्ने बताए ।

‘अहिलेकै टुटेफुटेको क्षतविक्षत भएको माओवादीबाट क्रान्तिको अभिभारा पूरा होला भनेर मैलेचाहिँ विश्वास गर्दिनँ,’ उनले भने, ‘तर पनि कथमकदाचित पूरा गर्नुभयो वा पूरा हुने भयो भने म शुभकामना दिन्छु उहाँहरुले गर्नुहोस् ।’

तर, माओवादीको हर्कत, गतिविधि, सोंच र शैलीले अब बाटो धेरै फरक भइसकेको उनको भनाइ छ । उनले भने, ‘हामी जानुपर्ने पूर्व थियो तर सुदूरपश्चिम पुग्यौं ।‘

क्रान्ति मैलेजस्तो कृषि गरेर पनि हुन्न

उनले आफूले गरेजस्तै कृषिबाट पनि क्रान्तिको अभिभारा पूरा नहुने बताए ।

‘मैले जस्तै गरेर क्रान्ति पूरा हुन्छ भन्न खोजेको होइन, म भन्दिनँ पनि,’ उनले भने, ‘बादल (रामबहादुर थापा), लेखराज (लेखराज भट्ट) र टोपबहादुर (टोपबहादुर रायमाझी)जीहरुजस्तै विभिन्न पार्टीमा प्रवेश गरेर भौतारिएर पनि केही हुन्छजस्तो लाग्दैन ।’

उनले माओवादी सुध्रिएर फेरि वास्तविक क्रान्ति चाहने शक्तिहरुसँग पार्टी एकता गरेर बृहत शक्ति निर्माण गरेर अगाडि जाने हो भने त्यसमा आफू पनि सामेल हुने घोषणा गरे ।

‘माओवादी र क्रान्तिकारी शक्तिको बिचमा पार्टी एकता हुनुपर्छ र अहिलेको संसदीय डबलीमा डुबुल्की मार्ने चोबलिने र त्यहाँ रत्यौली खेल्ने जुन चलन छ त्यो छोडेर अगाडि बढ्ने हिम्मत गर्ने कि नगर्ने ? आमूल परिवर्तन गर्ने प्रकारले जाने हो भने अहिलेको सोंच, शैली, व्यवहार, चिन्तन सबै तिलाञ्जली दिनुपर्छ,’ उनले भने, ‘तर हाम्रो कामरेडहरु म के देख्दैछु भने गठबन्धन भत्किन्छ कि भनेर व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्नेतिर उद्दत हुनुहुन्छ, कांग्रेसको फेरो समातेर एमालेको फेरो समातलेर जनयुद्धको पीर हरण गर्ने सोंच सबभन्दा गएगुज्रेको सोंच हो ।‘

सो क्रममा उनले गायक प्रकाश सपुतको गीत ‘पीर’ मनगढन्ते नभएको टिप्पणी गरे ।

सपुतले निर्माण गरेको पीर बोलको गीतले माओवादी जनयुद्धको अपमान गरेको भन्दै माओवादी केन्द्रका संगठनका प्रतिनिधि र नेताहरुले उक्त गीत युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका थिए ।

टेलिभिजनकर्मी लामिछानेले यही विषयमा केन्द्रित रहेर मगरसँग कुराकानी गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्