विराटनगरकाे उपमेयरमा जसपाबाट केन्द्रीय सदस्य भूराज राईसहित ८ जनाकाे नाम सिफारिस

वडा तहमा गठबन्धन मिलाउनै मुस्किल

जनता समाजवादी पार्टीबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवारका लागि आठ जनाको नाम सिफारिस गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट विराटनगर महानगरपालिकाको उपमेयर जसपाले पाउने भएपछि सोका लागि आठ जनाको नाम सिफारिस गरिएको हो ।

जसमा पहिलो नम्बरमा जसपा केन्द्रीय सदस्य भूराज राई छन् भने अर्का केन्द्रीय सदस्य डा. रामविलास यादव दोस्रो नम्बरमा छन् ।

यसैगरी विराटनगर महानगर समिति अध्यक्ष अमरेन्द्र यादव, उपाध्यक्ष मो. नसरुल, प्रदेश नं १ सदस्य विमला अर्याल, विराटनगर महानगर समिति सदस्य उमेश यादव, जसपा मोरङ जिल्ला सदस्य सदिना खातुन र प्रदेश नं १ महिला सदस्य कुन्ता राई छन् ।

जसपा विराटनगर महानगर समितिले सर्वसम्मत उम्मेदवार छान्न नसकेपछि आठै जनाको नाम सिफारिस गरेको हो ।

यसको अन्तिम टुंगो जसपा मुख्यालयले गर्नेछ ।

उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य भूराज राईका अनुसार पाँच दलीय गठबन्धनको बिचमा वडाहरुको भागबन्डा पनि मिल्न बाँकी रहेकाे छ ।

मेयरकाे साझा उम्मेदवार पाएको कांग्रेसले अघिल्लो निर्वाचनमा जसपाले जितेको ६ वटा वडा पनि छोड्नुपर्ने अडान राखेको छ ।

जसपाले भने आफूले जितेको ६ वटा वडा आफैसित राख्ने, कांग्रेसले जितेको ७ वटा वटा कांग्रेसले नै लिने र बाँकी रहेकोमा मात्रै बाँडफाड गर्नुपर्ने अडान लिएको छ ।

समझदारी हुन नसके मेयर र उपमेयरमा गठबन्धन हुने र वडाहरुमा एक्लाएक्लै लड्ने परिस्थिति पनि बन्न सक्ने बताइएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्