गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जान्छ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने धेरै परसम्म जान सकिने बताउनुभएको हो ।

गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै उहाँले भन्नुभयो, “गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ।”

तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने उहाँको प्रतिबद्धता थियो । उहाँले विसं २०४६ देखि कम्युनिष्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ।”

उहाँले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनुभयो।  “यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासी जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ।”

प्रचण्डले यसअघिको निर्वाचनमा सोचे अनुरुपको परिणाम नआएपछि गठबन्धन नयाँ ढङ्गले अघि बढेको प्रष्ट्याउनुभयो। गठबन्धन कम्युनिष्ट पार्टीहरुसँग गर्दै गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रष्ट कुरा भएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “हरेक संकट टारेर आजको विन्दुसम्म ल्याइएको छ, तपाईहरुको साथ र सहयोग भयो भने यो निरन्तर अघि बढ्छ।”

यो प्राकृतिक गठबन्धन भएको भन्दै उहाँले वृहत शान्ति सम्झौतामा सहभागी भएका दलहरुबीचमा गठबन्धन भएको बताउनुभयो । रासस

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img