सुकुमबासीलाई जग्गा वितरण कार्य ढिलो भएकोमा जसपा नेताको चासो

छिटो काम अघि बढाउन आयोगका अध्यक्षसँग आग्रह

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले सुनसरी जिल्लाका ‘भूमिहिन सुकुमबासी’ र ‘अव्यवस्थित बसोबासी’हरुलाई जग्गा वितरण गर्नेबारे के कति काम भइरहेको छ ? भन्दै चासो व्यक्त गरेका छन् ।

अध्यक्ष राईले हिजो धरानमा राष्ट्रिय भूमि आयोग सुनसरीका अध्यक्ष भगीरथ खत्वेलाई भेटेर पछिल्लो कामको प्रगतिबारे जानकारी लिएका हुन् ।

सो क्रममा अध्यक्ष राईले सकेसम्म छिटोगरी काम अघि बढाउन आयोगका अध्यक्ष खत्वेसँग आग्रह गरे ।

भगीरथ खत्वे

अध्यक्ष खत्वेले धरान उपमहानगरपालिका वडा नं १३ स्थित राईटोलबाट जग्गा वितरणका लागि निस्सा (प्रमाण पुग्ने चिनाे वा कागजात) बाँड्न थालिएको जानकारी दिए ।

उनले सम्बन्धित वडा र नगरपालिकाले जति छिटोगरी काम अघि बढाउँछ त्यति नै छिटोगरी आयोगले जग्गा वितरण गर्न सक्ने भएकोले छिटो काम गर्न सम्बन्धित वडाअध्यक्ष र नगरपालिकाका मेयरसँग आफूले आग्रह गरेको बताए ।

उनले भने, ‘मैले धरानको मेयर हर्क साम्पाङलाई भेटेरै छिटो काम अघि बढाइदिनुपर्यो भनेको छु, उहाँले हुन्छ भन्नुभएको छ ।’

जसपा अध्यक्ष राईसँगको भेटघाटमा आयोगका अध्यक्ष खत्वेले भूमिहिन सुकुमबासीलाई ८ धुरसम्म जग्गा दिने प्रावधान रहेको बताए ।

खत्वेकाअनुसार अव्यवस्थित बसोबासीलाई भने ५ प्रतिशतदेखि १०० प्रतिशतसम्म कर लिएर जग्गा दिने प्रावधान रहेको छ ।

तर, अव्यवस्थित बसोबासीहरुलाई कति प्रतिशतसम्म कर लिएर जग्गा दिने ? भन्ने निर्णय सम्बन्धित स्थानीय तहले नै गर्ने व्यवस्था रहेको उनले सुनाए ।

जसपा अध्यक्ष राईले अव्यवस्थित बसोबासीहरुलाई पनि सकेसम्म थोरै कर लिएर जग्गा दिने गरी नगरपालिकासँग समन्वय गर्न खत्वेसँग आग्रह गरे ।

अध्यक्ष खत्वेले बराहक्षेत्र नगरपालिका वडा नं ७ देवीघाटमा पनि केहीलाई निस्सा बाँडिएको जानकारी दिए ।

उनकाअनुसार धरानका २० वटै वडाका साथै दुहबीलगायत क्षेत्रमा पनि पहिलो चरणको निस्सा वितरणका लागि फारम भर्ने लगायतका प्रक्रिया अघि बढिसकेको छ ।

जसपाका धरान उपमहानगर उपाध्यक्ष तथा सुकुमबासी इन्चार्ज हेमराज याक्खाले नगरका सबै वडामा रहेका भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई कानुनअनुसार जग्गा वितरण गर्नका लागि पार्टीको तर्फबाट पहल भइरहेको बताए ।

खत्वे जसपा नेपालको तर्फबाटै आयोगका जिल्ला अध्यक्ष नियुक्त भएकाले पनि छिटाे काम गर्न अध्यक्ष राईले आग्रह गरेका हुन् । खत्वे जसपा नेपाल सुनसरी जिल्लाका अध्यक्ष समेत हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्