दीपेन्द्र लामा
के पृथ्वीनारायण शाह नेपालका प्रथम राजा हुन् ? होइनन् । उनीभन्दा अघि नेपालमा गोपाल वंशले ५०५ वर्ष, महिषपाल वंशले १११, किरातहरुले १५००, लिच्छविहरुले ३५०, मल्लहरुले ५७८ वर्ष शासन गरेका थिए । गोपाल वंशका भुक्तमानलाई प्रथम राजा मानिन्छ । ऐतिहासिक रुपमा पुष्टि हुने प्रथम राजा चाहिँ मानदेव हुन्, जो पृथ्वीनारायणभन्दा १३ सय वर्षअघिका थिए ।
पृथ्वीनारायणभन्दा अघि नेपाल भन्ने देश थिएन ? थियो । समुद्र गुप्तको १६ सय वर्ष पुरानो इलाहावाद स्तम्भमा नेपाल देशको नाम उल्लेख छ ।
के पृथ्वीनारायण गोर्खाका प्रथम राजा हुन् ? होइनन् । गोर्खाका प्रथम शाहवंशीय राजा द्रव्य शाह हुन् । द्रव्य शाहले पनि खड्का थरका राजालाई मारेर गोर्खा कब्जा गरेका थिए ।
पृथ्वीनारायणकै पालामा नेपालको अहिलेको भूभाग जम्मा भएको हो ? होइन । उनको देहान्त भएको ३० वर्षपछि विक्रम संवत् १८६१ मा गीर्वाणयुद्ध विक्रम शाहको पालामा वसन्तपुर दरबारभित्र पाल्पाका राजा पृथ्वीपाल सेनको टाउको छिनालियो ।
सेन राजा र उनका १८ जना अंगरक्षक राजबन्दी थिए । उनीहरु सबैलाई काटेर मारियो । उनीहरुका लास विष्णुमती किनारमा लगेर स्याल र गिद्धलाई खुवाइयो । र, लगत्तै पाल्पा अधिराज्यलाई नेपालमा गाभियो । नेपालमा गाभिएको अन्तिम राज्य पाल्पा थियो ।
के पृथ्वीनारायणअघि नेपालको सीमाना यति ठूलो थिएन ? थियो । यक्ष मल्लको पालामा नेपाल अहिलेभन्दा ठूलो थियो । पृथ्वीनारायणले गरेका के थिए त ? गोर्खाका राजा उनले मल्लहरुलाई परास्त गरी नेपाल कब्जा गरेका थिए ।
त्यसोभए गोर्खा निवासीको आँखाबाट हेर्दा उनी नायक हुन् त ? होइनन् । उनले गोर्खालाई नेपालमा विलिन गराए । कसरी नायक ?
पृथ्वीजयन्ती एकता दिवस हो ? हुँदै होइन । यत्रो विवाद उठ्छ, कसरी एकता हुन्छ ? पृथ्वीजयन्तीमा बिदा दिइनु उचित हो वा होइन ? नेपालमा राजावादीहरुको जमात ठूलै छ ।
र, पृथ्वीनारायण शाहलाई नायक मान्नेहरुको जमात अझ बृहत छ । उनीहरुलाई पनि स्पेस दिइनुपर्छ । पृथ्वीजयन्तीको बिदा उनीहरुलाई दिइएको एउटा स्पेस हो । अरु केही होइन