ढुङ्गाकाे सालिकमुनि एक कम्युनिष्टको आत्मविलाप

दुनियाँकाे निम्ति पाे ढुङ्गाकाे सालिक
मेराे निम्ति त ख्वामित महाराज मालिक !
किरात, मगरात, खसान विजय गर्ने
हजुर महान सिकन्दर
नौलाख किरातका उनान्सय किल्ला ध्वस्त पार्ने
हजुर पुरन्दर
नेवारहरुकाे तीन शहर नेपाल कब्जा गर्ने
हजुर विश्व विजेता
भाेट्या मुर्मिकाे अठार तिमाल सर गर्ने
हजुर युग विजयी
ओहाे ! पहाड तराई मधेस सबै अतिक्रमण गर्न सक्ने
हजुर साच्चिकै दिग्विजयी ।
याे किरात म्लेच्छहरुकाे देश
मौसुफले कहिल्यै नेपाल भनिबक्सेन
तर असली हिन्दुस्तान बनाउन
कुनै कसर राखिबक्सेन ।
नौलाख हार एक दन्ते हात्ती दाइजो नदिँदा
आफ्नै जेठानहरुकाे छाला काढेर घाममा सुकाउने
कीर्तिपुरे नेवारहरुकाे नाक कान काटेर
बाह्र धार्नी जाेखाउने
गर्भवती किराँती महिलाहरुकाे पेट चिरेर
आमा बच्चाकाे हत्या गर्ने
चौकाेट गढी घेरेर आगाे लगाइ
मान्छे भस्म पार्ने
हजुर वीर पुरुष
बुद्धिकर्ण राईको हात्ती चाेर्न लाउने
हजुर तिलष्मि देवता
किरातकाे किपट भूमि खाेसेर
हामीलाई बिर्ता दिलाउने
उनीहरुकाे भाषा, धर्म, संस्कृति, इतिहास मासेर
हाम्रो एकछत्र फैलाइदिने
भूमिपुत्रहरुलाई मुगलान लखेटेर
हामीलाई मुलुककाे हर्ताकर्ता बनाइदिने
अहा ! हाम्रो युग युगकाे भाग्यरेखा काेरीदिने
त्यसैले, हजुर हाम्रो भगवान्
हजुर राष्ट्र निर्माता
हजुर राष्ट्रिय एकताको प्रतीक ।
हिजाे लाखौ बहुलठ्ठी आन्दाेलनकारीहरुकाे भिडमा हुँदा
बाध्य भएर गणतन्त्र जिन्दावाद ! भनियाे
गणतन्त्र र समानताको सपना देखाउँदै
दशौ हजारलाई बलिबेदीमा चढाइयो
क्रान्तिकारी जनताको बोलीमा लोली मिलाउँदै
राजतन्त्रको उन्मुलनकाे घाेषणा पनि गरियाे
तर, सत्य भन्छु हे प्रजाबत्सल !
हे गिरि प्रबर !
हे नरनारायण !
हिजाे मेरा बाजे बराजुले
हजुरकाे नुन खाएकै हो
मेराे रगतकाे थाेपा थाेपामा
नुनकाे गुन लाएकै हो
त्यसैले जनै छुएर किरिया खान्छु
इन्द्रहरुको पनि इन्द्र हे ! महेन्द्र
धरतीका स्वामी हे ! पृथीवेन्द्र
मुखले भने पनि
मेरो मन र भावनामा गणतन्त्र थिएन
समानता थिएन
भुलबस बाध्यताले गरेको कर्मप्रति क्षमा पाउँ
रिसानी माफ होस्
म घोर पश्चाताप गर्दछु ।
हिजो ख्वामितका सन्ततिहरुले
सिङ्गाे देशलाई झ्यालखाना बनाएर यातना दिँदा
भोक, रोग, अनिकालले आक्रन्त हुँदा
गणतन्त्रका लागि लामबद्ध भएका
सुखानी, इलाम, छिन्ताङ, पिस्करमा शहिद हुनेहरु
अनेकाेट, बेथान, सत्बरियामा शहादत प्राप्त गर्नेहरु
युद्धका अनेक मोर्चामा बलिदान गर्नेहरु
जनआन्दाेलन र सङ्घर्षमा जीवन उत्सर्ग गर्नेहरु
हाहा.. ती पट मुर्खहरुका रगतले हजुरकाे खुट्टा धाेएर पबित्र बनाएँ
किसान मजदुरको रगत लत्पतिएको हँसिया हथौडा अकित याे झण्डाकाे के काम
गणतन्त्रकाे मस्तुल सहित
हजुरकाे पाउमा चढाएँ
अबिर, नैबेद्य, धुप, पञ्चामृत
पुष्पमा कमल चढाएँ
घाेडा, हात्ती, रिसल्ला सहित
भक्तहरुकाे भिड बढाएँ
युग युगसम्म मङ्गल ध्वनीको साथमा
हजुरको स्तुति गाउने ब्यवस्था मिलाएँ
किनकी,
दुनियाँकाे लागि पाे ढुङ्गाकाे सालिक
मेराे लागि त ख्वामित महाराज मालिक ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. भोगाई रबुझाईको वास्तविक लेखाई मननीय धन्यवाद

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्