नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम कोसी प्रदेश राख्ने प्रक्रिया अघि बढाएपछि किरात राई यायोक्खाले सोविरुद्ध चक्काजामसहितको आन्दोलन गर्ने तयारी गरेको छ ।

यायोक्खाका महासचिव भीम राईले प्रदेश १ को नाम पहिचान नझल्कने गरी राख्न तीन दल लागिपरेपछि सोका विरुद्धमा भोलि बिहीबार दुई घण्टा चक्काजाम गर्नेसहित आन्दोलनका कार्यक्रम ल्याइएको बताए ।

प्रदेश १ का सबै जिल्लामा बिहान ९ देखि ११ बजेसम्म चक्का जाम गरिने उनले बताए ।

प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै आएको यायोक्खाले आजदेखि नै प्रदेशको राजधानी विराटनगरमा विरोध प्रदर्शन सुरु गरेको छ ।

प्रदेश १ लाई पहिचान झल्कने गरी नाम राख्नुपर्नेमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मात्रै उभिएका छन् ।

उनीहरुले प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा राख्न माग गरेका छन् ।

पहिचान पक्षधर भनिएका माओवादी केन्द्र पनि अन्ततः कोसी प्रदेशमा सहमत भएको छ । प्रदेश १ को नाम दुई तिहाइ भन्दा बढी मतले कोसी प्रदेश हुने देखिएको छ ।

तर पहिचानवादी दल र जातीय संस्थाहरुले भने सोको विरोध गर्ने देखिएको छ ।

यता सरकारले भने पहिचानवादीहरुले विरोध गर्ने विषयलाई ध्यानमा राखेर प्रदेशसभा आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ र सुरक्षाकर्मीहरुको परिचालन गरेको छ ।