दमिनी भीर उपन्यासमा आधारित नाटक ‘दमिनी भीर’ यही भदौ २२ गतेदेखि काठमाडौंको मण्डला नाटकघरमा मञ्चन गरिने छ ।
सोमबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र शुक्रबार र शनिबार दिउँसो १ बजे पनि मञ्चन गरिने छ ।
मदन पुरस्कार विजेता राजन मुकारुङको लेखन रहेको यस नाटकको निर्देशन इँगिहोपो कोइँच सुनुवारले गरेका हुन् ।
नाटकमा सफल निर्देशकको छवि बनाएका किरण चाम्लिङ पनि देखिने छन् । उनी मुख्य भूमिकासहित कलाकारको रुपमा देखिने छन् ।
दमिनी भीरमा किरण चाम्लिङ, पुनम थापा, सीता राईलगायत १६ जना कलाकारहरुको अभिनय रहेको छ ।
१७ दिन मात्रै मञ्चन गरिने यस नाटकको टिकट अनलाइनबाट समेत बुकिङ गर्न सकिने छ । जसका लागि यहाँ क्लिक गर्नुपर्ने हुन्छ ।
नाटक हेर्नका लागि सिधै ०१–५२४५१४७ वा ९७४५३७२०६३ मा फाेन गरेर पनि टिकट बुकिङ गर्न सकिने छ ।
टिकटको मूल्य ५०० रुपैयाँ रहेको छ । विद्यार्थीहरुका लागि भने ३०० रुपैयाँ राखिएको छ ।
प्रतिगमनविरुद्ध बोल्न नाटक निर्माण
लेखक राजन मुकारुङ उत्पीडितहरुको मुक्तिको आन्दोलनलाई फेरि एकपटक कलाको माध्यमबाट उठाउनुपर्ने अवस्था सिर्जना भएकोले नाटक निर्माण गरिएको बताउँछन् ।
देशमा परिवर्तनका लागि गरिएको सशस्त्र जनयुद्ध, २०६२/६३ को दोस्रो जनआन्दोलन, आदिवासी आन्दोलन, दलित आन्दोलनलगायत आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु नै खोस्ने गरी पछिल्लो समय समाज प्रतिगामी भएर आएकोले सामाजिक मुक्तिको आन्दोलनलाई कलाबाट उठाउन नाटक तयार पारिएको उनको भनाइ छ ।
‘समाज यतिबेला पुरै प्रतिगामी भएको छ । पछिल्लो समय त समाजको प्रतिक्रिया हेर्दा एकदम पछाडि गइसकेको छ,’ साल्पा अनलाइनसँग उनले भने, ‘त्यसकारण, अब हामीले कलामार्फत केही कुरा भन्नुपर्छ भनेर नाटक निर्माण गरेका हौं ।’
साहित्यकार मुकारुङको लेखनमा निर्माण गरिएको यो पाँचौ नाटक हो । यसअघि उनको लेखनमा ‘घुङ्ग्रिएको कपाल’, ‘जोखाना’, ‘हेच्छाकुप्पा’ र ‘खुवालुङ’ मञ्चन गरिएकाे थियाे ।