दिक्तेल रुपाकोट मझुवागढीकाे बेथितिः बिलविनै भुक्तानी, मनपरी सहयोग, सल्लाहकार राखेर तलब-भत्ता

२० करोड ६३ लाख बेरुजु

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बेरुजु २० करोड ६३ लाख ९९ हजार पुगेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा मात्रै ९ करोड १५ लाख बेरुजु थपिएको हो ।

महालेखापरीक्षकको प्रतिवेदन-२०७९ अनुसार यस नगरपालिकाको बेरुजु रकम हाल २० करोड नाघेको हो ।

प्रतिवेदनले नगरपालिकामा आर्थिक अनियमिता व्यापक रुपमा भइरहेको उल्लेख गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा आवश्यकता, औचित्य र सन्दर्भ नै नभएको कुनै एक व्यक्तिको पुस्तक खरिदमा ३ लाख २० हजार खर्च गरेको पाइएको छ ।

उक्त पुस्तक नगरपालिकाको जिन्सी शाखामा दाखिला समेत गरिएको छैन ।

नगरपालिकाले कवि निलमकुमार उपाध्ययद्वारा लिखित पुस्तक ६०० थान खरिद गरेको हो ।

तत्कालीन नगरप्रमुखले नगर तथा गाउँसभा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ विपरीत कानुनी सल्लाहकार र राजनीतिक सल्लाहकारमा कार्यकर्ता नियुक्त गरी एक आर्थिक वर्षमै ११ लाख ४० हजार तलब दिएको प्रतिवेदनले देखाएको छ ।

नगरपालिकाले गैरकानुनी तरिकाले विभिन्न व्यक्ति र संस्थाहरुलाई १६ लाख ३४ हजार आर्थिक सहायता बाँडेको,
नाफामुलक गैरसरकारी संस्थाहरुलाई पनि ३२ लाख ४० हजार रुपैयाँ अनुदान दिएको, गलत र अनावश्यक रहेका १२० जनालाई करारमा राखेर रकम खर्च गरेको, १ करोड रुपैयाँ भन्दा बढीका योजनाहरु पनि उपभोक्ता समितिबाट सञ्चालन गरिएको, सार्वजनिक खरिद ऐन विपरीत विभिन्न सामान गरिद गरेको, पालिका भन्दा बाहिरका कर्मचारीहरुलाई समेत कार्यविधिबिना बैठक भत्ता र कर्मचारी प्रोत्साहनमा खर्च गरेको, कतिपय योजनाहरुको इष्टिमेट नै नगरेको, स्वीकृत नै नगरी चलाइएको, ठेक्का बिल र सम्पन्न प्रतिवेदन बिनै भुक्तानी गरिएको लगायत अनेकौँ आर्थिक नियम ताेडेकाे उल्लेख गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्