खाेटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको ‘प्रथम किरात राजा यलम्बर’को सालिक उद्घाटनको विषयमा विवाद भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र कोशी प्रदेशको ११ करोड ५८ लाख १६ हजार रुपैयाँ लगानीमा निर्माण गरिएको १०८ फिट अग्लो यलम्बरको सालिक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको हातबाट आगामी वैशाख १८ गते उद्घाटन गर्ने भन्दै वडाअध्यक्ष दिनेश राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए।
उद्घाटन कार्यक्रममा गायक राजेश पायल राई, अभिनेता दयाहाङ राई, खोटाङका संघीय सांसद आरेन राई लगायतको उपस्थिति रहने बताइएको छ।
तर, नगरपालिकाका उपप्रमुख विसन राईले उक्त सालिक नगरपालिका र प्रदेश सरकारको बजेटबाट निर्माण भएकाले नगरपालिकाले नै उद्घाटन कार्यक्रम गर्ने बताएका छन्।
यसका लागि शुक्रबार (२४ अप्रिल) कार्यपालिकाको बैठक बस्नेछ।
उपप्रमुख राईका अनुसार उक्त सालिकको स्वामित्व नगरपालिकाले नै लिने र उद्घाटन गर्नेछ।
कोशी प्रदेशको ७० र नगरपालिकाको ३० प्रतिशत लगानीमा उमा तुवाचुङ अन्सुली जेभीले बुइपाको पञ्चबाटोमा सालिक निर्माण गरेको हो। उक्त सालिक हालसम्मकै अग्लो भनिएको छ।

