गत मंसिर १४ गते हिमालखबर डटकममा ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकको हर्क साम्पाङकाे बारेमा पुरै नकारात्मक समाचार प्रकाशित भयाे ।
उक्त समाचार पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रबाट लेखेका थिए ।
जसमा मुख्यगरी साम्पाङले निर्माण गरेको श्रम संस्कृति पार्क र चिन्डेडाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङ प्रतिमा निर्माण र सो सम्बन्धी आर्थिक संकलन अभियानको विरुद्धमा छ । र, हर्क साम्पाङ नक्कली माओवादी बनेर चन्दा असुल्थे भन्ने लेखिएको छ ।
मेयर साम्पाङबारे यस किसिमको समाचार आएपछि उनका विरोधीहरुले सामाजिक सञ्जालभरि उक्त समाचार भाइरल बनाए ।
साम्पाङ नक्कली माओवादीको रुपमा हिजोका टुलेरा थिए र आज पनि आर्थिक संकलनमा उनको नियत ठिक छैन भन्ने ढंगबाट छ्यापछ्याप्ती बनाए ।
त्यसको प्रतिक्रिया स्वरुप साम्पाङले पत्रकार गोपाल दाहाल र जनकऋषि राईलाई फेसबुकबाटै धम्क्याए, अपशब्द प्रहार गरे ।
उनले मंसिर २० गते पत्रकार सम्मेलन पनि गरे र नक्कली माओवादी काण्डबारे वास्तविकता खोजी गर्न तिनै खोज पत्रकार गोपाल दाहाललाई चुनौती दिए ।
त्यतिबेलाको घटना के थियो भन्नेबारे राम्रोसँग नबुझी पत्रकार दाहालले गलत समाचार लेखेर आफ्नाे चरित्र हत्या गरेको साम्पाङको भनाइ छ ।
गलत मान्छेलाई दुर्व्यवहार गर्न पुगेकोमा माओवादीले आफूसँग माफी पनि मागेको उनको दाबी छ ।
हुन पनि खोज पत्रकारितामा ‘न्युज स्टोरी’ तयार पार्दा नक्कली माओवादी काण्डबारे साम्पाङसँग सोध्ने र उनको भनाइ राख्ने काम गरिको छैन ।
‘इन्भेस्टिगेटिभ न्युज स्टोरी’ तयार पार्न निश्चय नै धेरै दिन लाग्छ, धेरै महिना लाग्छ, वर्षौ पनि लाग्न सक्छ इस्यु अनुसार ।
तर, कम्तिमा पनि विवाद बढ्ने वा गम्भीर इस्युमा समाचार लेख्दा सरोकारवाला पक्षकाे भनाइ पनि समेटेर समाचारलाई सन्तुलित र विश्वसनीय बनाउनुपर्ने पत्रकारिताको न्यूनतम् मान्यता भए पनि त्यसो नगरिएकोले उक्त समाचार ‘बायस’ नै देखिन्छ, अथवा बदनियतपूर्ण दिमाग लिएर ‘न्युज एजेन्डा सेटिङ’ गरिएको छ ।
यता, पत्रकार दाहाल र राईले चाहिँ आफूहरुलाई धम्की दिएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा मेयर साम्पाङविरुद्ध उजुरी दिएका छन् ।
धरान आइपुगेको मौकामा उनीहरुले गृहमन्त्री रमेश लेखकलाई पनि भेटे र ध्यानाकर्षण-पत्र पनि बुझाए ।
साम्पाङको विरुद्धमा नेपाल पत्रकार महासंघदेखि प्रेस सेन्टर, प्रेस चौतारी र प्रेस युनियन सुनसरी शाखाले विज्ञप्ती निकाले ।
सामाजिक सञ्जालबाट कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीका पत्रकारहरुले प्रेस स्वतन्त्रताको हवाला दिँदै साम्पाङको खैरो खने ।
प्रेस सेन्टर माओवादी निकट पत्रकार संगठन हो र पत्रकार राई सोही पार्टी समर्थित पत्रकार हुन् । उनी एक पहिचान पक्षधर लेखक पनि हुन् ।
पत्रकार दाहालले भने सुनसरीका पत्रकारहरुको बिचमा इमान्दार र प्रिय पत्रकारको छबि निर्माण गरेका छन् ।
हाल पत्रकार दाहाल र राईविरुद्ध मेयर साम्पाङले पनि उजुरी गरेका छन् ।
उनले आफ्नाे बारेमा चरित्र हत्या गर्ने भ्रामक समाचार प्रकाशन गरेको र झुटो समाचार सामाजिक सञ्जालमा पोस्ट गर्दै भ्रम फैलाउन खोजेको भन्दै दाहाल र राईमाथि कानुन बमोजिम कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
साम्पाङ नक्कली माओवादी नै थिए ?
मेयर साम्पाङले पत्रकार सम्मेलनमा गलत मान्छेलाई दुर्व्यवहार गरेकोमा माओवादीले आफूलाई माफी मागेको र उक्त घटनाकाे समाचार औजार दैनिकमा छापिएको बताएका थिए ।
औजार दैनिक हाल अनलाइन संस्करणमा सीमित भएको छ ।
यो विषय चर्किएपछि औजारले २०६५ सालको त्यो पुरानो समाचार ‘जस्ताको जस्तै’ भन्दै अनलाइनमा राखेको छ ।
तर, त्यसमा साम्पाङ नक्कली माओवादी बनेर चन्दा असुली गर्थे भन्ने स्पष्ट छैन । त्यहाँ अर्कै चिज हुन सक्छ ।
सम्पादकीय स्पष्टिकरणमा मात्रै हर्क साम्पाङ चन्दा लिन जाँदा कुटिएका थिए भन्ने लेखिएको छ ।
एमालेनिकट अनलाइन मिडिया हुनाले औजारले सम्पादकीय स्पष्टिकरणमा उक्त विषय लेखेको हो कि भनेर शंका गर्नुपर्ने ठाउँ छ ।
किनभने, धरान उपमहानगरमा स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङ एउटा खेमामा र प्रायः सबै दल र तिनका नेता–कार्यकर्ताहरु पत्रकारहरु उनको विरोधी खेमामा छन् ।
साम्पाङले आफ्नाे बाजे पनि लाहुरे, बाउ पनि लाहुरे, दाजु पनि लाहुरे रहेको र आफू पनि कम्युटर सिकाउने इन्स्टिच्युट चलाउने र अंग्रेजी भाषाकाे शिक्षक पनि भएकाेले पैसाकै लागि नक्कली माओवादी बन्नुपर्ने पृष्ठभूमिकाे आफू नभएको प्रष्ट पारेका छन् ।
वास्तवमा पत्रकारिता निष्पक्ष भन्दा पनि वस्तुगत हुनुपर्छ ।
समाचार लेखनको प्रारम्भिक मान्यता निष्पक्ष वा सन्तुलन त हो नै । तर ‘अब्जेक्टिभिटी इन जर्नालिजम’ भन्ने चिज झन् गहन र अर्थपूर्ण हुन्छ ।
मेयर साम्पाङ विरुद्धको ‘इन्भेस्टिगेटिभ न्युज स्टोरी’मा ‘ब्यालेन्स’ त भएन नै ‘अब्जेक्टिभिटी’ पनि देखिएन ।
किनभने, मेयर साम्पाङले धरानको विकासका लागि जसरी काम गरिरहेका छन्, पछिल्लो उनको दैनिकी जे छ, ती विषयलाई वस्तुगत ढंगले हेरिएको छैन, लेखिएको छैन पत्रकारिता जगतमा ।
पत्रकार गाेपाल दाहालले लेखेकाे उक्त समाचार बिल्कुल पूर्वाग्रही मनस्थितिबाट निर्माण गरिएको छ, जसमा साम्पाङका हरेक कार्यकाे विराेध गरिएकाे छ ।
सुम्निमा पारुहाङ प्रतिमा निर्माणकाे पनि अप्रत्यक्ष तवरले विराेध गरिएकाे छ ।
सामान्यतः खाेज पत्रकारिता भनेकाे त लुकेका गलत कार्यहरुकाे विरुद्धमा गरिने गम्भीर रिपाेर्टिङ हाे ।
तर त्यसमा तथ्यहरु चाहिँ सही हुनुपर्यो, वस्तुगत हुनुपर्यो, विश्वसनीय हुनुपर्यो, प्रमाणित हुनुपर्यो ।
एउटा मेयर वा कुनै व्यक्तिकाे विरुद्धमा सधैं नकारात्मक समाचार बनाइन्छ भने त्याे पत्रकारिता होइन, त्यहाँ राजनीति हाबी भएको मान्नुपर्ने हुन्छ ।
मेयर साम्पाङमाथि पनि राजनीति भयो । कसैकाे लागि प्रतिष्ठाको राजनीति पनि भयो ।
मेयर साम्पाङसँग मेरा पनि कतिपय विरोधका मतहरु छन् । उनका शैली र प्रस्तुतीहरु नरम भइदिए हुन्थ्यो । कतिपय उनका तरिकाहरु र निर्णयहरु गलत छन् ।
तर, उनी जसरी पछिल्लो समय दलतन्त्रले बिग्रिएकाे देश बनाउन लागि परेका छन्, त्यसमा मेरो सहयोग रहन्छ ।
म मात्रै होइन ‘कन्स्ट्रक्टिभ जर्नालिजम’को बहस र अभ्यास गर्नेहरुले पनि यसमा फरक तरिकाले रिपाेर्टिङ गर्नुपर्छ ।
हर्क साम्पाङ याे देशका उत्पीडित जाति, समुदाय, उनीहरुको पहिचान र अधिकार र मुलुकको समृद्धिमा प्रष्ट रहेको व्यक्ति हुन् ।
अन्त्यमा म यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका नेता बलदीप प्रभाश्वर चामलिङले यही विषयमा फेसबुकमा राख्नुभएको छोटो स्टाटस राख्छु ।
‘पत्रकार गोपाल दाहालको पछि सिंगो संगठित सत्ता छ । तर हर्कको पछि हामी भुसतिघ्रे मात्रै छौं । ‘डेमागग’ मात्रै नबन्नुहोला । दिमाग प्रयोग गर्नुहोला ।’
वास्तवमा पहिचान पक्षधर आन्दोलनकारीहरुले अहिले राज्यको एउटा सिंगो यथास्थितिवादी र विभेदकारी सत्तासँग लडिरहनुपरेको छ ।
यहाँ कांग्रेस, एमाले वा माओवादी जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि एउटा सांस्कृतिक सत्ता कायम रहन्छ नै ।
त्यसलाई भत्काउने र साँचो अर्थमा देशमा डेमोक्रेसी स्थापित गर्ने लडाईंमा छौं हामी ।
तर हामी कुनै दलको नाममा, कुनै नेताको नाममा हाम्रो लडाईंमा जुट्न सकिरहेका छैनौं, बरु फुटिरहेकै छाै, फुटिएकै छौं ।