खोज पत्रकारिता केन्द्रका गोपाल दाहालले धरानका मेयर हर्क साम्पाङबारे लेखेको समाचारले ‘विगतमा हर्क साम्पाङ नक्कली माओवादी बनेर चन्दा लिन जाँदा वाइसिएलबाट निर्घात कुटिएका थिए’ भन्ने गलत प्रचार भएको छ ।
यसबारे मेयर साम्पाङले गत मंसिर २० गते पत्रकार सम्मेलन गरी आफ्नाे चरित्र हत्या गर्ने काम भएको भन्दै आपत्ति जनाइसकेका छन्, र दाेषीमाथि कारवाहीकाे माग गृहमन्त्रीसँग राखिसकेका छन् ।
तर अझै पनि कतिपयमा ‘हर्क साम्पाङ नक्कली माओवादी थिएछन्’ भन्ने भ्रम परिरहेको हुन सक्छ ।
पत्रकार सम्मेलनमा उनले सम्पूर्ण राई (सुबर्ण राई भनेर चिनिने) को पनि नाम लिएका थिए ।
र, त्यो घटनाबारे सम्पूर्ण राई र इन्द्र राईलाई पनि सोध्न समाचार लेख्ने पत्रकारसँग साम्पाङले आग्रह गरेका थिए ।
‘सम्पूर्ण राई धरान १७ फोकल्यान्ड चोकमा बस्नुहुन्छ, खोज पत्रकारले त्यो खोजोस् । त्यस पछाडि इन्द्र राई यता कोलोनीतिर कता बस्नुहुन्छ, उहाँले ट्रेनिङ सेन्टर यस्तो केही चलाउनुहुन्छ,’ मेयर साम्पाङले भनेका थिए ।
हामीले सम्पूर्ण राईसँग फाेनमा कुराकानी गरेर घटनाकाे वास्तविकता बुझ्ने प्रयास गरेका छौं ।
यस बिचमा सँगै खेले-पढेका साथी हर्क साम्पाङमाथि सरासर झुटो आरोप लगाएर प्रचार गरिएपछि सत्य बोल्नुपर्छ भन्ने ठानेर सम्पूर्ण राईले फेसबुकमार्फत् थाेरै कुरा बताइसकेका थिए, जुन यस प्रकार छः
सम्पूर्ण राईका अनुसार उक्त घटनाको मुख्य दोषी पर्शुराम राई र लक्ष्मी राई हुन् । पर्शुराम राई धरान ११ का वाइसिएल सदस्य थिए ।
लक्ष्मी राई पनि माओवादीमा लागेकी थिइन् ।
लक्ष्मी राईले नै ‘इन्द्रले मसँग पैसा मागेको थियाे, दिनु पर्यो’ भन्दै लिनका लागि वाणिज्य बैंक नजिकै बोलाएकी थिइन् ।
सम्पूर्णले इन्द्रलाई फोन गरेर ‘तपाईले लक्ष्मीसँग पैसा माग्नुभएको रहेछ’ भन्दा इन्द्रले ‘मागेको छैन’ भन्ने जवाफ दिएका थिए ।
सम्पूर्णले फेरि लक्ष्मीलाई फोन गरेर सोध्दा ‘दुई–तिन महिना अघि मागेको थियो, बिर्सियाे हाेला पठाइदिनू’ भनेकी थिइन् ।
उनले पुनः इन्द्रलाई फाेन गरेर अप्ठेराे पर्दा माग्नुभाे हाेला जानु नि त भनेपछि इन्द्र हर्क साम्पाङसँग लिफ्ट मागेर वाणिज्य बैंक पुगेका थिए ।
तर वास्तवमा इन्द्रले सापटीको रुपमा पैसा मागेका थिए । उनीहरु तीनजनै चिनजानकै थिए ।
घटनाकाे दिन भने सम्पूर्ण धरान बाहिर इनरुवामा पुगेका थिए ।
इन्द्र र हर्क साम्पाङ बैंक पुग्नासाथ वाइसिएलका १०–१२ जनाले उनीहरुलाई कुटपिट गर्न थाले ।
त्यो दिन उनीहरुलाई धरान–१५ स्थित रम फ्याक्ट्रीमा पुर्याएर बेलुकी हर्क साम्पाङलाई चाहिँ छाेडेका थिए ।
सम्पूर्ण इनरुवाबाट फर्केर के भएकाे रहेछ भनेर बुझ्न रम फ्याक्ट्रीमा पुग्दा हर्क साम्पाङलाई फर्किदै गरेकाे उनले भेट्टाए ।
उनी चाहिँ वाइसिएलकाे अफिसमै पुगेर बुझ्न खाेज्दा वाइसिएलले उनको होन्डाको बाइक समेत कब्जा गरेको थियो ।
उनले दोषी पर्शुराम रहेको र उनलाई खोजेर ल्याइदिने भन्दै बाइक निकाल्ने प्रयास गरेका थिए । तर, वाइसिएलले बाइक लान दिएन ।
केही दिनपछि अरु नै आइडिया लगाएर उनले बाइक चाहिँ निकाले । र, पछि पर्शुरामलाई पनि पक्राउ गरी माओवादीलाई बुझाइदिए ।
पर्शुराम राई हाल जीवित नै छन् । उनी अलिक बुढो भएकाे र उनलाई बिमारले पनि सताइरहेकाे कुरा सम्पूर्णले सुनेका छन् ।
उनको स्वभाव चाहिँ बढी नै गफ हाक्ने खालको थियाे ।
एक दिन सम्पूर्ण र इन्द्रलाई लिएर पर्शुरामले धरान नगरपालिका कार्यालयकाे पछाडि रहेकाे खगेन्द्र राईकाे घरमा लगे । र, दुई भाइलाई अलि परै राखेर पर्शुरामले अर्कै व्यक्तिसँग कुरा गरे ।
ती व्यक्ति डिबी भनिने डम्बरबहादुर लिम्बु थिए ।
उनले डिबीबाट ७० हजार रुपैयाँ पहिल्यै लिइसकेको सम्पूर्ण र इन्द्रले पछि मात्रै थाहा पाएका थिए ।
डिबी कान्छी श्रीमतीसँग नमिलेर उनलाई छाेड्न खाेज्दा मुद्दा-मामिलामा परी अप्ठेरो स्थितिमा थिए ।
त्यो मुद्दा मिलाइदिने सर्तमा पर्शुरामले डिबीसँग उक्त पैसा लिएका थिए ।
यता डिबीको श्रीमतीले माओवादीसम्म कुरा पुर्याइसकेकी थिइन् । त्यसबेला माओवादीहरुकाे पनि यस्ता घटनाहरुमा खाेज्दै हिँड्थे ।
माओवादीले पछि डिबीलाई पक्राउ गर्याे । र, उनकै कारण त्यसमा आफूहरुको पनि नाम जोडिएको हुन सक्ने सम्पूर्णको ठहर छ ।
उनले घटनाको दोषी पर्शुराम र लक्ष्मी नै भएको जिकिर गरेका छन् ।
लक्ष्मी राई सम्पूर्णकाे गाउँकै चेली हुन् । हर्क साम्पाङसँग उनकाे नातेदारी पनि पर्छ ।
घटनापछि लक्ष्मीले आफूसँग पटक पटक माफी मागेकाे मेयर साम्पाङले पत्रकार सम्मेलनमा बताएका थिए ।
सम्पूर्णको त्यहीदेखि लक्ष्मीसँग सम्पर्क भएकाे छैन । लक्ष्मीले त्यतिबेला किन त्यस्तो गरेकाे हाेला भन्ने उनकाे मनमा अहिले पनि ठुलाे जिज्ञासा छ ।
हाल उनको इन्द्र र हर्क साम्पाङसँग पनि बाक्लो भेटघाट छैन ।
मेयर भएपछि एक–दुई पटक हर्क साम्पाङसँग भेट भएको थियो ।
गाउँ (खाेटाङ) र धरान झरेपछि पनि पछिसम्म सँगै खाने, सँगै हिँड्ने, सँगै सुत्ने सम्पूर्ण र हर्क अहिले त्यसबेलाको जस्तो सम्बन्धमा छैनन् ।
तर पनि हर्क साम्पाङमाथि सरासर गलत आरोप लागेपछि आफूले फेसबुकबाटै सत्य कुरा राखेको सम्पूर्णले बताए ।