धरानका मेयर हर्क साम्पाङले केन्द्रीय सरकारमाथि दबाब पैदा गर्न रित्तो गाग्री बोकेर खानेपानीको आन्दोलन सुरु गरेका छन् ।
उनी आज धरानको भानुचोकमा रित्तो गाग्री बोकेर केहीबेर उभिए ।
पत्रकारहरूसँग उनले आफू मेयरमा निर्वाचित भएपछि खानेपानीकाे लागि सकेकाे जति काम गरिसकेको बताए ।
पकुवाखोला, निसाने, सर्दु, खर्दु, भालुखोला, सेउती, कोकाहा खोलाबाट पानी ल्याएर धराने जनतालाई खुवाउने प्रयास गरिरहेको उनको भनाइ छ ।
रित्तो गाग्री देखाउँदै उनले भने, ‘अब यो काम बाँकी थियो, आजदेखि सुरु गरेँ ।’
धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोशीको पानी ल्याउनुको विकल्प नरहेको र त्यसका लागि केन्द्रीय सरकारले बजेट छुट्याउनैपर्ने उनको जिकिर छ ।
सुरुङमार्फत तमोर नदीकाे ल्याउने योजना दिवा सपना मात्रै भएको उनले बताए ।
तमोरको पानी ल्याउँदा ड्याम्प बनाउनुपर्ने र त्यसले हजारौं स्थानीयलाई विस्थापित गर्ने र जलाधार क्षेत्र समेत नाश हुने उनको तर्क छ ।
उनले आफ्नाे कार्यकालभरि त धराने जनतालाई जसरी पनि पानी खुवाउने तर आगामी ५०-१०० वर्षपछिकाे लागि व्यवस्था गर्न कोशीकै पानी ल्याउनुपर्ने जिकिर गरे ।
भाेलि सोमबार रित्तो गाग्री बाेकेर काठमाडौं जाने र सोही गाग्री लिएर प्रधानमन्त्री, अर्थमन्त्री र खानेपानी मन्त्रीलाई भेट्ने आफ्नाे योजना रहेको उनले सुनाए ।
उनले भने, ‘उहाँहरूले मलाई भेट दिनुभएन भने पनि म आफ्नो काम गरेर फर्कन्छु ।’