‘श्रम संस्कृति पार्टी लोकतान्त्रिक होला भन्ने विश्वास थियो’ – राजेश खिम्दुङ

विधि र न्यायको माग गर्दा विद्रोह हुन्छ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई निलम्बन गरेपछि पार्टीका केन्द्रीय सदस्य राजेश खिम्दुङले पार्टीलाई व्यक्ति केन्द्रित नभएर विधि, विधान र लोकतान्त्रिक बनाउन श्रमदाताहरूसँग आह्वान गरेका छन्।

धरान नगर समितिकी सह–सचिव शुक्रकुमारी राईले आफूमाथि शारीरिक शोषण र मानसिक तनाव दिएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा खिम्दुङविरुद्ध उजुरी दिएकी थिइन्।

यस विषयलाई लिएर विवाद बढेपछि अध्यक्ष साम्पाङले सत्यतथ्य पत्ता नलागुञ्जेलका लागि खिम्दुङलाई निलम्बन गरिएको जानकारी फेसबुकबाटै गराएका थिए।

खिम्दुङले श्रम संस्कृति पार्टी एउटा लोकतान्त्रिक पार्टी भएको विश्वासका साथ आफू आबद्ध भएको तर अध्यक्षले विधि, विधान र लोकतान्त्रिक संस्कारविपरीत फेसबुकबाटै कारबाहीको घोषणा गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

‘मलाई आफ्नो पक्ष राख्ने पर्याप्त अवसर र सुनुवाइ हुनुपर्थ्यो। तर अध्यक्षज्यूले फेसबुकमार्फत म निलम्बित भएको घोषणा गर्नुभएको छ,’ खिम्दुङले फेसबुकमा लेखेका छन्, ‘सम्पूर्ण श्रमदाताहरूमा मेरो हार्दिक आह्वान छ– व्यक्तिको पक्ष वा विपक्षमा होइन, विधिको पक्षमा उभिऔँ। भावनाको होइन, सत्य र प्रमाणको आधारमा निर्णय हुने वातावरण बनाऔँ। कसैलाई सुनेकै भरमा दोषी नठहर्याऔँ, पार्टीलाई व्यक्ति केन्द्रित होइन, विधि र विधान केन्द्रित बनाऔँ।’

साच्चै श्रम संस्कृति पार्टीलाई फरक पार्टी बनाउने हो भने यसको लोकतान्त्रिक चरित्र व्यवहारमै देखाउनुपर्ने उनको भनाइ छ।

नेतृत्वप्रति प्रश्न उठाउनु विद्रोह नभई विधि र न्यायको माग भएको भन्दै उनले यो पार्टीविरोधी गतिविधि नभएको स्पष्ट पारेका छन्।

यसैबीच, पार्टी अध्यक्ष साम्पाङले शुक्रकुमारी राईलाई पनि साधारण सदस्यसमेत नरहने गरी फेसबुकबाटै पार्टीबाट निष्कासन गरेको जानकारी दिएका छन्।

राई र खिम्दुङ दुवैले सामाजिक सञ्जालमा आ–आफ्नो धारणा राख्दै आफूहरूमाथि अन्याय भएको दाबी गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्