जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राईले कम्युनिस्ट दलबाट सुरु भएको ‘दल परित्याग, निर्णयको अवज्ञा, मन्त्री पदमा नियुक्ती र दलबाट कारवाही’को क्रम जसपासम्म आइपुगेको बताएका छन् ।
उनले यो क्रम अझै कति पटक हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई ‘प्रतिगामी’ भन्ने जसपाकै केही नेता ओली सरकारलाई टिकाउने र सरकारमा सहभागी समेत हुने गरी गतिविधि गरेपछि नेता राईले हिजो आफ्नाे ट्वीटर एकाउन्टबाट यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
दल परित्याग, निर्णयकाे अवज्ञां, मन्त्रि पदमा नियुक्ति र दलबाट कारवाहिकाे क्रम कम्युनिष्ट दलबाट शुरु भएर जसपा, नेपालसम्म अाई पुग्याे । यी दलहरुमा कति पटक याे हुने हाे अनिश्चित छ तर अरु थप हुनेछ भन्ने पक्कापक्कि देखिन्छ । हामी कति कमजाेर रहेछाैं ?
— Hem Raj Rai (@HemRajR49572152) April 20, 2021
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा जसपाले समेत हस्ताक्षर गरेको भए पनि जसपाका चार जना सांसदहरु पोखरेललाई समर्थन गरी सरकारमा सामेल भएका छन् ।
जसपाले एमाले नेता समेत रहेको पोखरेलविरुद्ध मतदान गर्न निर्देशन दिएको भए पनि सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा र कल्पना पाण्डेले पोखरेललाई समर्थन गरी सरकारमा सहभागी भएका छन् ।
जसपाले पार्टीको निर्णय अवज्ञा गरेका उनीहरुविरुद्ध स्पष्टीकरण सोधेको छ ।
जसपाभित्र पछिल्लो समय ओली सरकारलाई हेर्ने दृष्टिकोण समेत विभाजित बनेको छ । जसपाका दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारले आफूहरुको माग पूरा गर्न लागेको भन्दै ओली सरकारलाई समर्थन गरी सरकारमा जानुपर्ने मनस्थितिमा देखिएका छन् ।
तर, बाँकी नेताहरु भने ओली सरकारको विकल्पमा छन् । जसपाका लुम्बिनी प्रदेशका चार जना सांसदहरुले पनि ठाकुर र महतोको आडमा पोखरेल नेतृत्वको प्रदेश सरकारलाई समर्थन गरेका हुन् ।
उनीहरुको यो कार्यले जसपाका अधिकांश नेता कार्यकर्ता भने रुष्ट भएका छन् ।